विष्णुशीतल फ़ाउन्डेशनद्वारा उत्कृष्ठ छात्रा पुरस्कृत

इनेप्लिज २०८० असोज १२ गते २१:४५ मा प्रकाशित

काठमाडौ

प्रस्तावित विष्णुशीतल फ़ाउन्डेशनले सामाजिक सेवाको शुरुवात गर्दै रामबाबू विष्ट प्रतिभा पुरस्कारको सौजन्य गरेको छ ।

काठमाडौ उपत्यकाको कीर्तिपुर नगर पालिका मच्छेगाउँ निवासी स्वर्गीय रामबाबू विष्टको नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पवित्र भावनाको सम्मान स्वरुप स्थानीय तहमा उत्कृष्ठ छात्रालाई ससम्मान पुरस्कृत गरेर यो सेवाको शुरुवात गरेको हो ।

कीर्तिपुर नगरपालिकाको भत्केपाटी स्थित बालकुमारी माध्यमिक विद्यालयकी छात्रा भगवती श्रेष्ठलाई २०७९ सालको एसईई परीक्षामा विद्यालयमा सबैभन्दा बढी अंक(जिपीए ३.७) ल्याई माध्यमिक शिक्षा उत्तीर्ण गरेकोमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

यही असोज १२ गते एक कार्यक्रम आयोजना गरी विद्यालयले छात्रा श्रेष्ठ लगायत कक्षा एकदेखि १० सम्मका प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।

कार्यक्रम आयोजना गर्न र पुरस्कार वितरण ब्यबस्थापन गर्न फ़ाउण्डेशनलाई मनमैंजु साँस्कृतिक समाजका अध्यक्ष तथा बरिष्ठ लोक गायक ध्रुबराज खड्का, बरिष्ठ सञ्चार कर्मी एवम जिएनएन टेलिभिजनका प्रबन्ध सम्पादक चन्द्र बानियाँले सहजीकरण गर्नु भएको थियो ।

छात्रा श्रेष्ठलाई फ़ाउन्डेशनले नगद १० हजार पुरस्कार तथा प्रमाण पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रम आयोजना गरी फ़ाउन्डेशनको उद्देश्य अनुरुप प्रतिभालाई प्रोत्साहन गर्न विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिमाल कार्की एवम प्रधानाध्यापक पुष्पसिंह थापा मगरले पनि सहजीकरण गरीदिनु भएको थियो ।

कार्यक्रममा बरिष्ठ लोक गायक ध्रुबराज खड्काले स्वर्गीय विष्टको सामाजिक भावना र नव प्रतिभाहरुलाई सधैँ प्रोत्साहित गर्ने आकांक्षा रहेको संमरण गर्नु भएको थियो । प्रतिभा पुरस्कार स्वर्गीय विष्टकी धर्म पत्नी लीला विष्टको हातबाट प्रदान गरिएको थियो ।

प्रस्तावित विष्णु शीतल फ़ाउन्डेशन अमेरिका र नेपालका सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरु लिएर जाने तयारीमा रहेको यसका संरक्षक विष्णु पौडेल शीतलले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया