घानाका अन्तर्राष्ट्रिय भकुण्डो खेलाडी राफेल ड्वामेनाको २८ वर्षको उमेरमा खेल्दै गर्दा ढलेर मृत्यु

इनेप्लिज २०८० कार्तिक २५ गते १९:३५ मा प्रकाशित

घानाका अन्तर्राष्ट्रिय भकुण्डो खेलाडी राफेल ड्वामेनाको २८ वर्षको उमेरमा खेल्दै गर्दा ढलेर मृत्यु भएको छ । घाना अन्तर्राष्ट्रिय लात्ते भकुण्डो टोलीबाट खेलेका राफेल ड्वामेनाको २८ वर्षको उमेरमा खेलको क्रममा ढले पछि मृत्यु भएको घाना भकुण्डो संघले जनाएको छ ।

संघले एक विज्ञप्तिमा समवेदना समेत जारी गरेको छ । राफेलले घानाको लागि मन लगाएर प्रतिनिधित्व गरे र उनको समर्पणको लागि हामी उनीलाई सधैं सम्झनेछौं। अलबिदा राफेल भनि बिज्ञप्तिमा जनाईएको छ ।

ड्वामेनाको मृत्युको बारेमा कुनै आधिकारिक विवरण जारी गरिएको छैन। अङ्कियदृश्य (भिडियो)मा शनिबार ड्वामेनाको टोली केएफ एग्नाटिया र पार्टिजानी बीचको अल्बेनियाली शीर्ष बिभागको खेलको २४ औं मिनेटमा ढलेको देखिन्छ भनि सिएनएनले सामाचारमा उल्लेख गरेको छ ।

सामाजिक संजाल एक्समा प्रकाशन गरिएको अङ्कियदृश्य (भिडियो )मा दुबै टोलीका खेलाडीहरू उनको पक्षमा पुग्नु अघि ड्वामेना मैदानमै ढलेको देखाउँदछ। त्यसपछि रुग्नवाहिणी (एम्बुलेन्स)लाई मैदानमा ल्याइएपछि उनलाई स्वास्थ्यकर्मीहरूले हेरेका थिए।

आफ्नो जीवनकालमा ड्वामेनाले स्पेन, स्विट्जरल्याण्ड, अस्ट्रिया र डेनमार्कका क्लबहरूबाट खेलेका थिए । ड्वामेनाको पूर्व टोली मध्ये एक लेभान्टेले उनलाई लाई श्रद्धाञ्जली दिएको छ ।

प्रतिक्रिया