नेपाली बालसाहित्यका अगुवा, विशिष्ट साधक, बालसाहित्य रत्न श्री शान्तदास मानन्धरको २०८० कात्तिक २८ गते मंगलबारका दिन भएको दुःखद निधनले बालवाङ्मय तथा अनुसन्धान केन्द्र मर्माहत भएको छ । नेपाली बालसाहित्यमा लेखन, पुस्तक प्रकाशन, सम्पादन, अनुवाद, बालपत्रिका प्रकाशन, सिर्जनात्मक लेखन प्रशिक्षण, कथावाचन, बालसाहित्य प्रवद्र्धनलगायतका विभिन्न माध्यमबाट उहाँले बालसाहित्यको विकासमा धेरै महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
बालसाहित्यमा विविध विधाका चार दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नु भएका शान्तदासले २०३९ सालदेखि बालकोसेली पत्रिका प्रकाशन गर्दै आउनु भएको थियो ।
त्यसअघि प्रकाशन थालनी भएको बालपोष पत्रिकाको पनि उहाँ संस्थापक हुनुहुन्थ्यो । उहाँले कोसेली छापाखाना सञ्चालन गरी प्रकाशन उद्योगमा समेत योगदान पु¥याउनु भएको थियो । १९९१ साल जेठ ८ गते काठमाडौंको झोँछेमा आमा मथुरी मानन्धर र पिता चिनियाँ मानन्धरको कोखबाट उहाँको जन्म भएको हो ।
‘राम्रो नराम्रो’, ‘कथाकोसेली (भाग ६ सम्म)’, ‘कमिलाले सुनाएको मुसाको दुलोको कथा’, ‘पानीको कथा’, ‘माटोको कथा’, ‘हजुरआमाले सुनाएको भूकम्पको कथा’, ‘किताबघरको लामपुछ«े’, ‘सगुनको पेस्तोर र रकेट’, ‘म जोकर बन्छु’ लगायत थुप्रै बालकथा, बालकविता, बालगीतका पुस्तक र बालकोसेली बालसाहित्यको पत्रिका बालबालिकामाझ धेरै लोकप्रिय थिए ।
उहाँले बालसाहित्यका साथै शिक्षाको विकास र प्रगतिशील तथा वैचारिक साहित्यमा पनि कलम चलाउनु भएको छ । उहाँले २ सयभन्दा बढी पुस्तक सम्पादन गर्नु भएको छ । अन्तर्राष्ट्रिय उत्कृष्ट बालसाहित्यलाई अनुवाद गरी नेपाली बालबालिका माझ पुर्याउनमा पनि उहाँ अग्रणी सर्जक हुनुहुन्छ ।
बालपत्रिका प्रकाशनका क्रममा उहाँले श्यामप्रसाद, गोपालराज मैनाली, जनकप्रसाद हुमागाईं, कुलमानसिं भण्डारी, केके कर्माचार्यलगायतसँग काम गर्नु भएको थियो । युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, रामबाबु सुवेदी, खगेन्द्र संग्रौलालगायतलाई बालसाहित्य लेखनमा उहाँले उत्प्रेरित गर्नु भएको थियो । ९० वर्षीय मानन्धरलाई हर्नियाको समस्या देखिएपछि गत साता बयोधा अस्पताल भर्ना गरिएको थियो ।
नयाँ पुस्तालाई सधैँ प्रेरणा दिने शान्तदासले जगदम्बा पुरस्कार, प्रतिभा पुरस्कार, लु स्युन¬–¬¬देवकोटा पुरस्कार, अभियान पुरस्कार, पारिजात सम्मानलगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको थियो । उहाँले बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट २०७९ सालको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान प्राप्त गर्नु भएको थियो भने बालसाहित्य र बालबालिकाका क्षेत्रमा सक्रिय विभिन्न संस्थाले ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरेका थिए । उहाँका ३ छोरी र २ छोरा छन् । केन्द्र उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
उहाँको पार्थिक शरीर कात्तिक २९ गते बुधबार पशुपति (विद्युतीय शव दहन) मा अन्तिम विदाई र श्रद्धाञ्जलीका लागि दिउँसो १२ देखि २ बजेसम्म राखिने पनि जानकारी गराइन्छ ।
प्रतिक्रिया