काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० मङ्सिर २३ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८४” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १८ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत इन्द्रवज्रा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई इन्द्रवज्रा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~
::::: इन्द्रवज्रा छन्द :::::
~ गण : त त ज गुरु गुरु
~ गण सङ्केत : २२१ २२१ १२१ २२
~ ५ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका इन्द्रवज्रा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
के देश बन्ने, क्रम हुन्छ जारी?
जन्मे असत्ती, खल धुन्धुकारी।
२.
ढुङ्गा र माटो, बिच प्राण देख्छु
नेपाल मेरो, दिलभित्र लेख्छु। रामशरण न्यौपाने
भक्तपुर
[२]
हिँड्दैछ हाम्रो दुनियाँ कुबाटो
खोलेर आँखा कुन पुछ्नु टाटो?। ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
यो देशको स्वर्णिम स्वछ लाली
नेता यसैमा किन भ्रष्ट जाली! कमला देवकोटा
पाल्पा
[४]
१.
के हाल हाम्रो, भइरन्छ यस्तै ?
खानै नपुग्ने, भिखमङ्गु जस्तै ।
२.
चिन्ता न सुर्ता, सब मस्तराम
लाग्ला घडामा, कहिले त घाम ? वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[५]
१.
यो इन्द्रवज्रा अति बेस लाग्छ
सम्पूर्ण लेख्ने कवि लेख्न जाग्छ ।
२.
यो छन्दको हर्हर चल्छ वास
माधुर्य वाणी पनि बन्छ खास । चूडा निर्भीक
गोरखा, हालःकाठमाण्डौ ।
[६]
१.
खेती न पाती, धनको छ सान
ढाट्ने र छल्ने, उसकै छ मान।
२.
छोपेर आँखा, गरिबस्छ राज
यो देश हाम्रो,छलमा छ आज। होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[७]
१.
लाग्यो निसानी कुन काम चुन्दा
बिग्र्यौ कुरा नै गतिलो नसुन्दा।
२.
आफ्ना कुरा नै,गतिलो छ मान्छौ
साथी सबै नै, किन शत्रु ठान्छौ ? प्रेम थापा “मन”
बागलुङ
[८]
१.
डोको र नाम्लो वन घाँसपात
छक्का र पञ्जा किन गर्नु घात।
२.
पासा र कौडा लिइ खेल गर्थे
जाली र झेली भइ जेब भर्थे । गुणनिधि घिमिरे
अमेरिका
[९]
१.
मान्छेहरू हो अब जाग चाँडो
यो तन्त्र सारा जनमा छ घाँडो।
२.
स्वार्थी सबैनै गति मात्र फाले
शर्वाङ्ग नाङ्गो भइ हिड्न थाले ! विवश पारदर्शी
झापा
[१०]
१.
झर्को र फर्को भन के छ सार
केले भयो यो मनमा हतार ।
२.
ढुङ्गा र माटो तिर प्राण देख्छु
यो देश मेरो मनभित्र लेख्छु । बेदु न्यौपाने
काठमाडौँ
[११
१.
भेटेर आयौ, मनमा सजाई
भागेर माया, किन हो लजाई।
२.
राखेर मैलो, मनमा नहाँसी
दिन्छौ मलाई, किन हो नि फाँसी। पुष्पा राई
खाेटाङ।
[१२
१.
आमा र धर्ती पहिचान हाम्रो
सम्मान गर्छौं यिनको त राम्रो ।
२.
यौटै इरादा हित निम्ति बाँचू
प्राणी सबैमा समभाव साचूँ । पद्मा काश्यप पाण्डे
मोरङ
[१३]
१.
योद्धाहरू हो अब जाग चाँडो
द्रोहीहरू हुन् अति तिक्ष्ण काँडो ।
२.
बाबा र आमा अनि छोड्छ बाडा
गर्दैन श्रद्धा शठ धर्म छाडा । बाबुराम गौतम
गुल्मी
[१४]
कस्तो छ जाडो अति सार ओहो
तातो र न्यानो गर है त जोहो । शोभा आचार्य गौतम
काठमाडौँ
[१५]
जाली छ नेता जन भ्रष्ट मात्र
हेर्नुस् रहेका अब को सुपात्र ? भगवती दवाडी
झापा
[१६]
खोसेर खाना सजिलै नखाऊ
बाँकी उधारो नतिरी नजाऊ। पवन कुमार बुढनथेाकी
काठमाडौं
[१७]
रोएर आमा भल आँसु धारा
झर्दैछ गाला बिच हेर सारा। इन्दिरा देवकोटा
कपिलबस्तु
[१८]
१.
भेटेर माया मनमा पलायो
सम्झेर रोजै तन यो गलायो।
२.
ठान्ने म मैलो छलले थिचेको
लाग्दैछ धेरै बलले मिचेको।अच्युत घिमिरे
सर्पाङ, भुटान
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया