उस्तै लाग्छ
किरातेश्वर र सेन्टाक्लज
कोही पौराणिक कुनै किंवदन्ती
फरक छैन श्लेष्मान्तक वनको धूपीको वोट
अनि इशान कोणमा राखिने क्रिसमस ट्रि
उतिबेला
प्रिय लेखक
“चार्ल्स डिकेस” ले
किन लेखेनन् होला
अर्को नोवल
किन उतारेनन् होला
“क्रिष्टियन कैरोल” मा
सांस्कारिक मान्छे, मन्त्री
र, नव पादरीहरूको आचरण अनि चरित्र
लाग्छ पहिरन बेग्लै भए पनि
मायराका पादरी र किरातेश्वरका अनुयायीले
कहिल्यै चिताएनन् धर्मान्तरणको कलुषित भाव
बाघाम्बर किरातेश्वर देखेर नै होला
सेतो आँचल भएको रातो सुट
सेतै घेरा भएको रातो फुर्केटोपी
लेखनाथको जस्तो सेतो दारी
त्यही पहिरन मन पराएर
धारण गरे “सेन्टाक्लज” ले
“सेन्टाक्लज”
प्रतीक बने परोपकारको
ब्यविचारीलाई तह लगाउने
मिथ बने समयको
जेल हाल्ने कुरा न क्राइसले गरे
न सेन्टाक्लजले गरे
यलम्बरले पनि गरेनन् धर्मविरोधी कुरा
“सेन्टाक्लज” त अभाव टार्न खटिएका दूत हुन
अरु त यमदूतका पाहुना
खरानी घसेको गधा जोगी बनेर
उटको बिबाहमा स्वस्ति वाचन गरेको
कहाँ सुहाउँछ र
फेरि गधालाई के थाहा धूपी बोटको महत्त्व
मुक्तिका नारालाई कुल्चेर
दुसाशनको भूमिका निर्वाह गर्नेलाई
के थाहा सिरिजङ्गाको राजधर्म
परधर्मी त
नयाँ सालपछि रद्दीको टोकरीमा फालिने
थोत्रो क्यालेन्डर जस्तै हो
न उसले खुसीको उज्यालो ल्याउँछ
न खसाल्न सक्छ गाउँमा चम्किलो तारा
के थाहा उसलाई
बेथलेहममा बजेको संगीत
रसीलो हो कि बिरसीलो
“सेन्टाक्लाज” तिमी न्यानो कोट
र ढाका टोपी बोकेर
सद्भावको सन्देश सुनाउँदै हिंड्नु
किरातेश्वरको दर्शन गरेर
मृगस्थलीको उकालो उक्लनु
र, ल्याउनु एक हाँगो धूपी
आफ्नै कोट र पतलुङ खसेको भेउ नपाउनेबाट
तक्षण नै खोसिदिनु संस्कारको बागडोर
मलाई
रत्तिभर मन परेको छैन्
नयाँ गिर्जाघरको बहुरुपि पुजारीको पण्डितत्याई
विभेदको साँध लगाएर
विभाजनको रेखा कोर्ने मान्छे त
पाखण्डी हो
छ्वालीको खाँबो समातेर
सामुहिकतालाई कुल्चेर
कहाँ पुग्छु भन्ने छ होला छद्मभेषीहरुलाई ?
“सेन्टाक्लज” भनी देऊ
धर्म देश हो, प्रकृतिवाद पनि हो
किरातेश्वर र क्राइसले
कहिल्यै बोलेनन् धर्मको धावा
कहिल्यै दिएनन् संस्कृतिको चुनौती
हसमुख अनुहार भएका,
हजुरबुबा समानका “सेन्टाक्लज”
तिम्रो छडीले लगाउन मिल्छ भने
ठोकी देऊ अपराधीलाई कोर्रा
र, म पनि आफ्नो स्व-धर्ममा रहेर
“वसुदैव कुटुम्बकम्” को मान्यताका साथ
शान्तसँग साट्न सकू
धूपीको बोटमुनि धार्मिक सहिष्णुता ।
~ ऋषभदेव घिमिरे
प्रतिक्रिया