“स्वागता” छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न 

इनेप्लिज २०८० पुष १२ गते २२:३४ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० पुस ७ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८६” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत उपेन्द्रवज्रा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई स्वागता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: स्वागता छन्द :::::
~ गण र न भ गुरु गुरु
~ गण सङ्केत- २१२ १११ २११ २२
~ ७ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका स्वागता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
झाँगियो मुलुकमा खुब ठन्डी
जोडजाम युवती गर मन्डी।
२.
चोर चोर जतिको छ मितेरी
आँसुको छ जनतासित भेरी।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
अग्नि बल्छ मनमा रिस बढ्दै
उठ्छ माथि भुमरी मद चढ्दै ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
उठ्छु जान्छु अब लौ जन जाग्यो
देशले त पसिना खुन माग्यो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[४]
१.
काव्यमा ललित सिन्धु  बगाई
सिर्जना कलम बाँच्छ रमाई ।
२.
हुन्न जीवन सधैं सब राम्रो
कर्मको कलम जीवन हाम्रो ।
३.
शब्द हो गहन भूषण बोली
बोल्नु पर्छ पद गोप्य नखोली ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[५]
१.
देशमा जहर घोल्दछ पाजी
लुट्न जान्दछ र बन्दछ काजी ।
२.
जाग जाग जनता अब जाग
लाग राष्ट्र हितमा सब लाग ।
✍️ विवश पारदर्शी
झापा
[६]
१.
दुष्टको भजनले रस खायो
देशमा नकचरो छल आयो।
२.
भ्रष्टले भरिदिए अति शङ्का
खस्नजान्छ शिरमा तब लङ्का।
३.
फेर्नुपर्छ भतुवा घर फोर्ने
देशमा नयनको नर चोर्ने ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[७]
१.
जागजाग जन हो अब जाग
देशको हित तिरै सब लाग।
२.
भो भयो नगर यो पिर धेरै
गर्दछौ किन रुची भन मेरै।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[८]
१.
पीर खै मुलुकको, पद पाए
हेर श्राप जनको, सब खाए।
२.
देश जीवन त हो, सब मागौं
आस के छ बटुली, अब जागौं।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[९]
१.
धेर भो दिन गनेर बसेको,
के गरी मन कठै नि फसेको।
२.
जीवनै भरि कुरेर बसौँला,
फेरि त्यो मुटु चिरेर पसौँला।
✍️ पुष्पा राई
खाेटाङ।
[१०]
जिन्दगी सहज हुन्छ बुझेमा
भावना गहन बन्छ सुनेमा ।
✍️ भावना मन्जु
[११]
१.
दुष्टले अब त लौ सब खायो
दामले सबकनै मन लायो
२.
आजको दिन बसे सब हुन्छन्
कानको सहजले तब सुन्छन् ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[१२]

स्वच्छ पार मनको सब मैलो
अन्धकार हटि खुल्दछ दैलो ।

जिन्दगी छ अति सुन्दर हाम्रो
गर्दछौ  त जति  सुग्घर राम्रो ।
३.
देश द्रोह  किन गर्दछ भ्रष्ट
राजनीति बुझ छैन त प्रष्ट ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[१३]
खोजमा सफलता दिन टार्यो
रोजमा सबलता  दर हार्यो ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१४]
चाहना छ खुब रैखिक बन्ने,
भावना रहर के छ र भन्ने।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

::::: जय टुक्का! जय साहित्य!! ::::: 

प्रतिक्रिया