हिजो घाम झुल्केकै दिशाबाट
आज पनि झुल्केको छ
सधैं अस्ताउने पश्चिम् पुगेरै
अस्ताएको छ
नयाँ केही छ कि भन्ने झिनो आशा राखेर
आँखा थाक्ने गरि
सामाजिक संजाल खंगाल्यो
पत्रपत्रिकाका पत्र पत्र पल्टायो
एक पछि अर्को गर्दै
भएभरका टिभी च्यानल बदल्यो
हिजैको जस्तै हिजो पनि
हिजोकै जस्तो आज पनि
सबै उस्तै दुरुस्तै ।
माथी माथी आकाशमा
निस्फिक्री डुल्ने बादल
स्वच्छ मन्द गतिले बहिरहेको प्राणवायु
मन नै पुलकित बनाउने
चराचुरुङ्गीका चिरबिर चिरबिर
चन्द्रमाको शितलता
सुर्यको तेज
सबका सब उस्तै छ्न्
सबैलाई सधैं निस्वार्थ
नि:शुल्क ।
घडा पला, तिथि मिति
क्यालेन्डरका गाता र शुभ साईतले
नयाँ बर्षको संकेत गरेर के गर्नु ?
हिजोको मसान्त र
आजको नयाँ दिनमा
भिन्न केही भेटिन्न
शान्ति न्याय र मानवता सबै बिर्सिएर
मान्छे मान्छेलाई नै सिध्याउन ब्याकुल छ
जाति भाषा धर्म क्षेत्र नस्ल
खै के के हो के के
निहुँ खोजेर
एउटाले अर्कोलाई निमिट्यान्न पार्न
मान्छे झन झन
उखरमाउलो बनेको छ।
साल बदलिँदैमा
के नयाँ बदलाब आउने हो र ?
हाम्रो बिचारमा नआएको बदलाव
हाम्रो ब्यबहारमा नआएको बदलाब
हाम्रो चिन्तनमा नआएको बदलाब
हाम्रो मनस्थितिमा नआएको बदलाब
के साल बदलिँदैमा बदलिने हो र ?
मदन बस्नेत, टोरोन्टो
प्रतिक्रिया