“समय यस्तो आयो”

इनेप्लिज २०८० पुष २० गते २:३४ मा प्रकाशित

समय यस्तो पनि आयो कि मैले साल बिर्सिन थालेँ

समय यस्तो पनि आयो कि मैले साल बिर्सिन थालेँ
गतिशील जीवनको हाल बिर्सिन थालेँ
त्यो असारे गीत, त्यो देउसीभैलो, त्यो सानो गाउँ, त्यो बाउबाजेको ठाउँ
मैले पुर्खाको कीर्ति अनि काल बिर्सिन थालेँ ।

यो सात समुद्र टाढा बिरानो देशमा आइपुगेपछि
मात्र यहाँकै बवाल सम्झिन थालेँ
मात्र यो झुठो कमाल सम्झिन थालेँ
आफ्नो गन्तव्य खै कहाँकता भुली
दोबाटेको पो चाल सम्झिन थालेँ ।

आखिर एकदिन त ब्युँझिनु नै थियो, तब आफैँलाई
अन्दाधुन्द कुद्न छोडेर आफूलाई सम्हाल् भन्न थालेँ
आफ्नो असली ठेगाना झोलाबाट निकाल् भन्न थालेँ
हेर् त, तँ कहाँ जाँदै छस् ? के गर्दै छस्?
बाटो पहिल्याउन लक्ष्यरूपी पुल्ठो बाल् भन्न थालेँ ।

विचार गर्, तँ को थिइस्, को बनिस् !
आफूबाट आफू चुहिने प्वाल टाल् भन्न थालेँ
आफ्नो असली पहिचानलाई बाहिर निकाल् भन्न थालेँ
के तँ साँच्चै यहि चाहन्थिस्?
अन्तरमनको आवाज सुन, कानमा तेल नहाल् भन्न थालेँ।

भन्, के यो रहर साँच्चै तेरै हो?
आफ्नो सपनालाई अर्काको सपनामा नपगाल् भन्न थालेँ
यो त सारा नाटकीय दुनियाँ, हो यो अल्झाउने जाल भन्न थालेँ
बाउबाजेले के लगे, तैँले के लान्छस्?
आफ्नो अमूल्य समय यसरी खेर नफाल् भन्न थालेँ ।

बरु, सक्छस् त, आफ्नो मेहनत आफ्नै भूमिमा हाल् भन्न थालेँ
भगवान स्वरुप आमाबाबु यही जुनिमा सेवा गर्दै पाल् भन्न थालेँ
हो, घुम संसार, तर आफ्नो माटो नबिर्सी, मनले भन्यो,
तब मैले घर फर्किने दिन,रात अनि फेरि साल गन्न थालेँ ।।

ब्यूझिएको मैले फेरि आफ्नो गाउँठाउँ साथीसङ्गीको हाल सम्झिन थालेँ
तिनै पाखापखेरा, झरना, नदि र ताल सम्झिन थालेँ
बाँचुन्जेल न हो मनले मनपराउने गर्नसक्ने,
मैले फेरि आफ्ना पर्वमेला ऋतुमास अनि साल सम्झिन थालेँ ।।

पुरुषोत्तम बजगाँई

नाला काभ्रे, नेपाल
हाल न्यूयोर्क अमेरिका

प्रतिक्रिया