लोकतन्त्रका नाममा छाडातन्त्रले देशको लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ!

बेद प्रसाद घिमिरे २०८० पुष २६ गते ११:१९ मा प्रकाशित

बेद प्रसाद घिमिरे : लोकतन्त्रका नाममा छाडातन्त्रले सिमा नाघ्न लागेको बेला यथेष्ट सम्बोधन गर्न राज्य यसरी नै चुकिरहने हो भने देशको लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ।

नेता बन्ने तथा समाजमा ठुलो देखिने होडमा अहिले तमाम मानिसहरू राजनीतिमा क्रियाशिल बन्न चाहन्छन्। आफू र आफू आबद्ध दललाई असल देखाउन अनावश्यक हर्कत सिर्जना गरिरहन्छन्। विभिन्न दल तथा समूहमार्फत अहिले तँछाड र मछाडको अवस्था छ। तर कोही पनि आजको विश्वव्यापीकरणको युगमा मानिसहरूलाई एउटै ठाँउमा थुनेर राख्ने कुरा पनि सम्भव छैन। अहिलेको समयमा विकास भएका प्रविधि र आविश्कारका सुत्र सिक्न मानिसहरू विश्वका विभिन्न स्थानमा पुग्नु आवश्यक पनि छ। तर, उतै पलायन हुँदै जाने प्रवृत्ति बढ्नु चाँही वर्तमान चिन्ता र चुनौतीको विषय हो।

अहिले नेपालीहरू किन विश्वको विभिन्न कुनामा जाने र पलायन हुने गर्छन् भन्ने विषय गम्भिर अध्ययनको विषय बनेको छ। अहिलेको यो अवस्था देख्दा अब नेपाली भूमि शून्यतामा जाने संकेत देखिएको छ। यसमा थुप्रै विकर्षणका कारणहरू छन्। जसमा अस्थिर राजनीति नै मुख्य जिम्मेवार बन्न सक्छ।

सरकारी सेवा सुविधा लिन दलालको खोजी नगरी धरै छैन। राज्यका सेवा सुविधा बोलवाला भएका पहुँचवालाहरूले मात्र लिने गर्छन्। जसरी विगतमा पञ्चायती तथा राणा शासनमा बेथिति थियो आज पनि त्योभन्दा कम छैनउत्पादन र सिर्जनशीलतामा लाग्न चाँहदैनन्। यसरी देशको विकास कदापि हुन सक्दैन।

देश बन्न त नागरिकहरूले काम गर्नु पर्छ। राज्यले भरपुर सहयोग गर्नुपर्छ। तर, समाज भड्काउ प्रवृत्तिको सिकार हुँदै गएकोले काम गर्ने संस्कार हराउँदै गयो। ठालुपन बढेर गएको छ।

यसरी देश विकास हुँदैन। सक्रिय उमेर समूहका सपाङ्ग सबै नागरिकहरूले केही न केही काममा सक्रिय हुनैपर्छ। अनि मात्र देशको उत्पादनमा वृद्धि हुन गई आयात प्रतिस्थापन गर्न सकिन्छ। यसले राज्यमा नागरिकहरूको योगदान बढ्न गई राज्य सबल बन्दै जान्छ।

नागरिकहरू राजनीतिक गतिविधिमा होस् या सामाजिक सञ्जालको प्रयोगमा अति नै अराजक शैलीमा देखिन्छन्। यसले सामाजिक तथा राजनीतिक बेथिती सिर्जना गर्दैछनेपाल जलस्रोतमा यति धेरै धनि भएर पनि विद्युत्, सिँचाइ, खानेपानी लगायतका आवश्यकताको सहज पूर्ति गर्न सकिरहेको छैन। यही हो विडम्बना। तराईका फाँटमा योजनाबद्ध उत्पादनमा लाग्ने हो भने नेपालले खाद्यान्न निर्यात गर्न सक्छ। तर, वर्षेनी करोडौँको खाद्यान किन्नु परेको छ।

जंगल अनावश्यक रुखहरूले भरिएको छ। त्यसको उपयोग गरेर भौगोलिक तथा वातावरणिय अनुकुलता हेरेर काठ उत्पादन, जडिबुटी उत्पादन र फलफूल उत्पादन गर्ने हो भने देश कायापलट हुनसक्छ। अनि हामी पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यको घटबढ कुरेर राजनीतिक सेन्टिमेण्ट उपयोग गर्छौं।

नेपालमा विद्युतले ती सवै कुराहरूको प्रतिस्थापन गर्न सक्छ। अनि विद्युत् बिक्रीबाट राज्य सम्पन्न बन्ने आधार निर्माण हुन्छ। योसँगै सिकाइमा अब्बल विद्यार्थीहरूलाई राज्यले लगानी गरेर विज्ञान प्रविधिसम्बन्धी ज्ञान सिक्न राम्रो देशमा पठाउने र उनीहरूको सीपको उपयोगको उचित प्रवन्ध मिलाउने हो भने निकट भविष्यमा देश उत्पादन र प्रविधिको विकासमा समेत अगाडि बढ्न सक्छ।

योग्यता प्रणालीको खिल्ली उडाइएको छ। जसको कारण पढेलेखेकाहरू निराश बन्दै गएका छन्। धन सम्पत्तिको बोलवाला बढ्दै जानाले बौद्धिक व्यक्तिहरू छाया पर्दै गएका छन्। देशको प्राकृतिक स्रोत साधनको व्यवस्थित उपयोग गर्ने बारेमा सरकार तथा सरोकारवालहरूमा कुनै जाँगर देखिँदैन। मानव स्रोत साधनको पहिचान र उपयोगको कुनै योजना सुनिँदैन।

प्रतिक्रिया