अहिले नेपालको राजनितिमा कसैमा जोश छ, होश छैन। कसैमा होश छ, जोश छैन

इनेप्लिज २०८० पुष २७ गते १२:२६ मा प्रकाशित

बेद प्रसाद घिमिरे- विगतमा स्थानीय निकायका जनप्रतिनिधिले दिनुपर्ने नागरिकको दैनिक जीवनशैलीमा प्रभाव पार्ने आधारभूत सेवा र सुविधा उपलब्ध गराउन सकेको भए यसपटक उनीहरूको पराजय हुने थिएन।

कुरा ठूला गर्ने, काम सानोतिनो पनि परिणाममा नदेखिएकै कारण आज नागरिक सचेत बनेर जनता र जनप्रतिनिधिको सम्बन्ध विकसित गर्न खोज्दैछन्। यो आजको माग होइन दशकौँदेखि नागरिकले भोगेको वितृष्णाको परिणाम हो।


ठाउँ–ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था, सुलभ यातायात, सवारी साधन पार्किङको व्यवस्था, पैदल यात्रुलाई दिनुपर्ने सुविधा, फरक क्षमता भएकालाई त्यस्तै बाटो र सहज हिँडडुल गर्न सक्ने व्यवस्था, सार्वजनिक सवारी साधन सुरक्षित र सुविधायुक्त महशुस गर्ने वातावरण जस्ता साना कुराले धेरै परिवर्तन ल्याउनेछ सरकारी तथा खाली जग्गामा पार्क, खेलकुद मैदान, पुस्तकालय तथा सूचना केन्द्र, स्वच्छ सफा नदीनाला तथा वृक्षारोपण चाहिएको हो। महिला तथा बालबालिकाले सुरक्षाको अनुभूतिका साथ आफ्नो काममा आवतजावत गर्न सक्ने वातावरण खोजेका हुन्। नि:शुल्क स्वास्थ्य केन्द्र, आपतकालीन स्वास्थ्य सेवा, चिकित्सकहरूको उपलब्धता, सेवाप्रदायक सार्वजनिक र निजी संस्थाले दिने सेवामा बिना मोलमोलाइ र सेवाको भावनाले काम गर्ने परिपाटी चाहेका हुन्।

सरकारी तथा निजी विद्यालयमा आफ्ना नानीहरू पठाउँदा सजिलै सकुशल घर आइपुग्छन् भन्ने निर्धक्क भावनाको विकास गर्न सक्ने परिपाटी न चाहिएको हो। ठूलासाना भ्रष्टाचार हुन् या अनियमितता एवं अन्य विविध खालका संगठित अपराधका घटनाको छानबिन कारवाही चाहेका थिए, मानिसहरूले।

संस्कार र मानसिकताको परिवर्तन सजिलो काम होइन। यसका लागि नियम र कानुनले मात्र काम गर्दैन। यो मानसिकताको परिवर्तनमा सञ्चारको पनि भूमिका बढी हुनेछ। त्यसैले सञ्चार सहयोग अभावमा यो कानुनको सही र सशक्त कार्यान्वयन पनि सजिलो छैन।

समाजमा सुशासन र पारदर्शिता स्थापना गर्न नगरिकको दबाब र सञ्चारमाध्यमका प्रयास सफल एवं सकारात्मक बनाउने जिम्मा नागरिक र जनप्रतिनिधि दुवैतर्फको भूमिका महत्त्वपूर्ण छ। नगरवासी भएर गर्व गर्ने जीवनशैली विकासमा ध्यान पुर्‍याउन सकेमात्र धेरै व्यवस्थित, मर्यादित, सभ्य र शिष्ट समाजको परिकल्पना गर्न सकिन्छ।

राष्ट्रमा खोजे जतिको विकास नहुनु, समाजमा अराजकता फैलिँदै जानु, स्वार्थी र लोभीपापीको संख्या बढ्दै जानु, सार्वजनिक सम्पत्तिको संरक्षण नहुनु, नीतिनिर्माण कार्यमा ढिलाइ, भ्रष्टाचार बढ्नु, नीति नियममा आफ्नै स्वार्थ हावी हुनु, व्यक्तिहरू शान्त नभई तनावग्रस्त हुनु, जताततै बेथिति बढ्दै जानुकाे एक मात्र कारण हो, जोश र होशको सन्तुलन नहुनु।

समाजमा र नेतृत्व तहमा खटिएका व्यक्तिमा दुई किसिमका व्यक्ति हुन्छन्, कसैमा जोश छ, होश छैन। कसैमा होश छ, जोश छैन। समाज र राष्ट्रको अस्थिरता र अराजकता हेर्दा सहजै अनुमान गर्न सकिन्छ, ९९ प्रतिशत मानिसमा जोश छ, होश छैन।

यस्ता प्रवृत्तिका व्यक्ति बाहिरबाट हेर्दा अति सक्रिय, कुरैकुराले देश खाने, कुरैकुरामा विकास, भाषणकै भरमा देश हाँक्ने उत्साह दिए जस्तो गर्छन्। तर परिणाम नगण्य हात लागेको हुन्छ र त्यस्तै भएको महशुस गरिँदैछ।

देश र समाजमा यिनीहरूको क्षमताको परिणाम, गुणात्मकता त नगन्य मात्रामा छँदैछ, स्वयंमा पनि यिनीहरू शान्त र आनन्दित हुँदैनन्, छैनन्। भित्रभित्रै अस्थिरता र तनावले ग्रसित हुन्छन्। कर्मको आधारमा कर्मठ देखिएपनि बुद्धि र विवेकको हिसाबले शून्य हुन्छन्।

समाजमा देखिने उपद्रव, अन्याय र अनैतिकताको परिणाम यसकै प्रतिफल हो। जोश भएका तर होश नभएका व्यक्तिमा न संस्कार र धार्मिकताको गुण फलित भएको हुन्छ, न त व्यावहारिकता र दीर्घकालीन सोचको नै।
समाजमा देखिने उपद्रव, अन्याय र अनैतिकताको परिणाम यसकै प्रतिफल हो। जोश भएका तर होश नभएका व्यक्तिमा न संस्कार र धार्मिकताको गुण फलित भएको हुन्छ, न त व्यावहारिकता र दीर्घकालीन सोचको नै।
कर्मठता र जोशको निकासका लागि, प्रतिफलको लागि आन्दोलन, बन्द हडताल र अराजकता यही कर्ममा जीवन बिताइरहेका हुन्छन्।

अबको जनप्रतिनिधिबाट अराजकता निर्मूल गरी जोश र होशसहितको ऊर्जा सबैले महशुस गर्न पाउने स्थितिको विकास हुन सकोस् सबैको चाहना यहि नै हो। यो खोजी निरन्तर रहनेछ अन्यथा जनताले फेरि विकल्पको बाटो खोज्ने छन

प्रतिक्रिया