बेद प्रसाद घिमिरे :भनिन्छ नि जीवन खुसीले बाँच्न कला चाहिन्छ। संगीतको सुर ताल मधुर निकाल्न होस् या बोलीको मिठास, सम्बन्धमा मधुरता थप्न होस्, अभिनयमा होस् या खानपान र आचरण सबै कला हुन्। कलाको निपूर्णताबाट मात्र त्यसको असली गुणवत्ता मौलाउन पाउँछ। त्यसो हो भने राजनीतिमा कलाको विकास हुनु भनेको कर होला त?
राजनीति बैचारिक संघर्ष हो किनकी भिन्न भिन्न सोचलाई राजी गर्नु, प्रशंसा गर्नु र त्यसलाई समायोजन गरेर बृहत राज्यको हित कसरी हुन सक्छ त्यसमा ध्यान दिने कला राजनितिक कला हो। गुट–उपगुटमा विभाजित भएर, विचारधारा छरिएर एकत्रित हुन् नसकेको समूह र नेतृत्व तहलाई एकताको सूत्रमा बाँध्ने कला राजनीति हो।
एकमतमा सर्व मतलाई राजी गराउनु, सर्वस्वीकार्य कानून बनाउनु, कानून र नियममा नचल्नेलाई अनुशासन सिकाउनको लागि आचार संहिता तयार गर्नु राजनीतिज्ञले गर्ने कार्य हुन्। को आफ्नो र को पराइ, कसले आफ्नो भलो चाहन्छ र विचारलाई समर्थन गर्छ त्यसको हित गर्नु राजनीति होइन। समग्रतामा राज्यको हित, नागरिक हित, सभ्यता र संस्कारको जगेर्ना गर्न सक्ने नेतृत्व राजनीतिक नेतृत्वको कला हो।
कर्तव्य पराणयता, जिम्मेवारी बोध र आन्तरिक क्षमता प्रदर्शन गरी राज्य र नागरिक हितमा कर्म गर्न प्रेरित गर्ने आफूले त्यसलाई व्यवहारिकता दिने कला राजनीति र राजनीतिज्ञको कला हो। राजनीतिज्ञले आफ्नो मन र इन्द्रीयलाई समेत नियन्त्रणमा लिएर विनय, अनुशासन, निःस्वार्थ भाव, दोस्रोको खुसीको लागि आफ्नो सुखलाई त्याग गर्न सक्ने कलाको विकास गर्न सक्नुपर्दछ।
विकासका लागि बहस गर्ने त्यति खराब हुँदैनन् जति बहसको नाममा छलकपट गर्नेहरू हुन्छन्। मिठो बोल्ने, आश्वासन दिने तर कुनै राम्रो काम नगर्नेहरू नै राजनीतिज्ञ हुन् भन्ने भ्रम परेको छ जनमानसमा।
चाणक्यले बताएका छन्–जसले अर्थ निती, कुटनीति र राजनीतिलाई कुशलतापूर्वक निर्वाह गर्ने कला जानेको छ उसले जीवनमा कहिल्यै पछुताउनु पर्दैन। उसको जीवनमा र राज्य कहिल्यै कठिनाइ पनि आउदैन।
सामान्यतया नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका लागि आवश्यक पर्ने अर्थ र यसको उचित व्यवस्थापन गर्ने प्रणालीलाई अर्थनीतिको रुपमा बुझ्न सकिन्छ । नागरिकका आधारभूत आवश्यकताका वस्तु तथा सेवाहरुको उत्पादन, विनिमयका माध्यमबाट बिक्रि वितरण र यसको उपभोगको व्यवस्थापन गर्ने आर्थिक प्रणाली नै अर्थ नीति हो ।
कुशलतापूर्वक जिम्मेवारी लिन सक्ने कला भएकोले मात्रै राजनीतिक भूमिका निर्वाह गर्न सक्दछ। कुटनीतिको अर्थ हो प्रतिकूल परिस्थितिलाई सम्हाल्न सक्ने कलाकौशलता। नि:स्वार्थ भावनाकासाथ आवश्यक सहयोग लिनु र दिनु त्यो देशका मातहत सरकारका बिचमा होस् या युनियन र संघसंस्थाका बिचमा, या त विदेशी नीति मार्फत, विदेशी मार्फत स्वदेशको भलाई र दुई पक्षीय सम्बन्ध सौहार्दपुर्ण बढाई आत्मियता र सुमधुर सम्बन्ध कायम गर्न सक्ने क्षमता कुटनीति हो। यो कला नजान्ने व्यक्ति राजनीतिज्ञ हुनै सक्दैन।
राजनीतिको अर्थ उच्च नीति, अर्थात् सबैलाई मिलाएर सबैको स्वीकार्य संहिता बनाएर विकासका कार्यमा सबैलाई प्रेरित गर्नु राजनीति हो। यति कला जान्ने व्यक्तिले मात्र राजनीति मार्फत भलाइको कर्म गर्न सक्छ। राजनीतिलाई एउटा कलाको रूपमा सोच्ने व्यक्तिलाई नेताका रूपमा विश्वास गरी अघि बढाउन सकिन्छ।
प्रतिक्रिया