औद्योगिक प्रतिष्ठानहरू पुनः सञ्चालनको निम्ति राज्यले एउटा युगान्तकारी कदम चाल्नुपर्छ

बेद प्रसाद घिमिरे

इनेप्लिज २०८० माघ १ गते २२:५२ मा प्रकाशित

बेद प्रसाद घिमिरे : बिक्री भइसकेका र निष्क्रिय रहेका उद्योगहरू पुनः सञ्चालनमा ल्याउने विषयलाई झट्ट सुन्दा जो-कोहीलाई कठिन या असम्भव लाग्नसक्छ । काङ्ग्रेस र कम्युनिष्टका वामपन्थी ठिटाहरू बेला-बेला घाटामा गएका उद्योगहरू बिक्री गरेर महान् क्रान्तिकारी काम गरेको उद्घोष गर्ने गर्छन् । आफ्ना मालिकले चालेको कदममा संसारका कुनैपनि दासहरू सहयोगी नै रहेका हुन्छन्, त्यसैले राष्ट्रिय गौरवका उद्योग बिक्रीमा कोही रमाइरहेका छन् भने उक्त सन्दर्भलाई सोही रूपमा बुझ्नु उपयुक्त हुनेछ । तर, राज्यले चाह्यो भने उद्योगहरूको पुनस्र्थापना या पुनः सञ्चालन असम्भव कार्य होइन । जति उद्योगहरू बिक्री भए त्यसको ब्याजसहित रकम फिर्ता गरेर पुनः सरकारको स्वामित्वमा ल्याउने कार्य गर्न अब विलम्ब गरिनु हुन्न । बिक्री गरेको भनिएका र निष्क्रिय तुल्याइएका औद्योगिक प्रतिष्ठानहरू पुनः सञ्चालनको निम्ति राज्यले एउटा युगान्तकारी कदम चाल्न सक्छ ।
विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग, वीरगन्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना, भृकुटी कागज कारखाना, लुम्बिनी चिनी उद्योग, गोरखकाली रबर उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि इटा टायल कारखाना, भक्तपुर इँटा टायल कारखाना, रोपवे र ट्रलिबस मात्र सञ्चालनमा ल्याउन सकियो भने लाखौँ नेपाली युवाले स्वदेशमा रोजगारी पाउनेछन् । राज्यले आफ्नो लगानीको मुनाफा हिसाब गर्दा ब्यापारीले जस्तो सिधा नगद आर्जनलाई मात्र आधार बनाउन मिल्दैन । लाखौँ युवाले रोजगारी पाउनुलाई पनि राज्यले लाभको रूपमा हिसाब गर्नुपर्छ । लाखौँ युवाको परिवारले स्वदेशको हज्जारौँ किराना पसलबाट सामान खरिद गर्छन्, जसका कारण हज्जारौँ परिवार पालिएका हुन्छन्, यो पनि राज्यकै लाभ हो । ती किराना पसलेहरूले कर बुझाउँछन्, त्यो पनि राज्यको लाभ हो । अब प्रश्न उठ्छ- यति धेरै लाभ पुऱ्याउने उद्योगहरूलाई घाटामा गएको भन्ने निष्कर्ष के आधारमा निकालियो ?

सरकारी कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र सेनाले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा मात्र प्रयोग गर्न पाउने, सेना र प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाबाट उत्पादित जुत्ता मात्र लगाउनुपर्ने, सरकारी कार्यालयहरूले भृकुटी कागज कारखानाको कागज मात्र प्रयोग गर्नुपर्ने, सरकारी गाडीमा गोरखकालीद्वारा उत्पादित टायर मात्र प्रयोग गर्न पाइने जस्ता अनिवार्य ब्यवस्था गर्ने हो भने अहिले पनि यी उद्योगहरू प्रत्यक्ष नाफामा सञ्चालन हुन सक्छन । कृषिऔजार, चिनी र चुरोट उद्योगको सञ्चालनले लाखौँ किसानको जिन्दगीमा बहार ल्याउने विश्वास गर्न सकिन्छ । यी सबै उद्योगहरू सञ्चालनमा आएपछि विदेशी मुद्राको सञ्चितिमा पनि अतुलनीय सुधार हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया