पंछीले आफ्ना बच्चालाई गुँडबाट उडाइदिन हतार गरेझैँ हरेक बाबुआमा छोराछोरीलाई देशबाट उडाउन हतार किन गरिरहेका छन

बेद प्रसाद घिमिरे २०८० माघ ७ गते १२:५३ मा प्रकाशित

नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना हुनुभन्दा अघि अपवादबाहेक हरेक नेपालीले रोजगारीका निम्ति आफ्नै देश रोजेका हुन्थे । लाहुरे संस्कृति निश्चित समुदायमा सीमित थियो, ती पनि विदेशमा कमाएपछि स्वदेशमै रमाउन फर्कने गर्थे । हरेक नेपालीले नेपालमै नेपालीसँग घरजम गर्ने कल्पना गर्थे । तर अहिले रोजगारी, विवाह र सुखद जीवनको खोजी देशको सीमाभित्र हुने गर्दैन । बाबुआमा नै आफ्ना सन्तान स्वदेशमा बसेको र पढेको अवस्था स्वीकार गर्न सक्दैनन् । पंछीले आफ्ना बच्चालाई गुँडबाट उडाइदिन हतार गरेझैँ हरेक बाबुआमा छोराछोरीलाई देशबाट उडाउन हतार गरिरहेका हुन्छन् । खासगरी राजनीतिजीवी र प्रशासनजीवीहरू आफ्ना सन्तानलाई विदेश उडाएर यहाँ भएको आर्जनसमेत पठाउने र, अवकाशप्राप्त जीवन उतै गुजार्ने सपना र योजनाका साथ काम गरिरहेका हुन्छन् ।

जो अगुवा उसैको यस्तो चाला भएपछि आम जनताले यहाँ आफ्ना सन्तानको सुखद भविष्य देख्ने स्थिति नरहनु स्वभाविकै हुन्छ । यही प्रवृत्ति कायम रहने हो भने आगामी दस वर्षभित्र नेपालमा नेपालीहरूको ठूलो अभाव हुनेछ, त्यो अर्कै पक्ष हो कि नागरिकता विधेयक ज्यादा परायामैत्री भएकोले नेपालमा जनसङ्ख्याको कमीचाहिँ हुने छैन । जो नेपाली देश छोडेर गएका छन् तिनले खास अवस्थामा खास कारणवश स्वदेश फर्कने निधो गरेछन् भने पनि तिनले नेपालीत्व बिनाको नेपाल भेट्टाउने छन् । शताब्दियौँ अगाडि देश छोडेर गएका यहुदीहरू आफ्नो भूमि खोजेर आउँदा अर्कैको स्वामित्वमा गइसकेको जुन नियति यहुदीहरूले भोगे, ठीक त्यस्तै नियति नेपालीले भोग्नुपर्ने हुन्छ । नेपालसँग कुनै साइनो नभएका मानिसको हातमा नेपाल पुग्नेछ, त्यसपछि कागज र मनमा मात्र नेपाल बाँकी रहने छ ।

प्रतिक्रिया