भर्जिनियाको फेयरफ्याक्स पुस्तकालयलाई पहिलो पटक सयौ बाल नेपाली पुस्तकहरु हस्तान्तरण

इनेप्लिज २०८० माघ २१ गते १६:४५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी पुस्तकालयलाई पहिलो पटक सयौ बाल नेपाली पुस्तकहरु हस्तान्तरण गरिएको छ ।

अब देखि नेपाली समुदायका बालबालिकाले फेयरफ्याक्सको पुस्तकालय मार्फत उपयोग गर्न सक्ने भएका छन् । उक्त पुस्तकहरु भर्जिनियामा गैर मुनाफा सामाजिक संस्था पिकेपि टेन्डर हर्ट्स फाउन्डेसनको पहलमा हस्तान्तरण गरिएको हो ।

अमेरिकाका बिभिन्न राज्यहरुका पुस्तकालयहरुमा नेपाली लेखक तथा साहित्यकारहरुले लेखेका पुस्तकहरु फाट्ट फुट्ट पाइन्छन तर बालबालिकाको लागि नेपाली पुस्तक निकै दुर्लभ हो ।

पिकेपि टेन्डर हर्ट्स फाउन्डेसनकी संस्थापक तथा संचालिका प्रभा भट्टराई देउजा हुन् । उनि सामाजिक क्षेत्रमा निकै सक्रिय रहेकोले फाउन्डेसन मार्फत १०० भन्दा ज्यादा पुस्तकहरु पुस्तकालयलाई प्रदान गरिएको उनले ईनेप्लिजलाई बताइन ।

नेपाली भाषाका बिभिन्न पुस्तकहरु फेयरफ्याक्स काउन्टी पब्लिक लाइब्रेरी (जन पुस्तकालय)लाई हस्तान्तरण गरे पछि प्रभाले खुसी व्यक्त गरेकी छिन् ।

उनले आफ्नो सामाजिक संजालमा पहिलो पटक काउन्टीमा उपलब्ध गराउन सकिएको प्रसन्नता व्यक्त गरेकी छिन् । साथै उनले प्रारम्भिक चरणमा त्यति सरल नभएको उल्लेख गर्दै लामो प्रक्रिया लागेता पनि अन्तत्वगत्वा नेपाली मूलका बालबालिकाले पढ्न पाउने हुँदा गौरव लागेको बताइन ।

पिकेपि टेन्डर हर्ट्स फाउन्डेसनको टोलीले यी पुस्तकहरूलाई पहुँचयोग्य बनाउन मात्र नभई तिनीहरूले नेपाल र नेपाली संस्कृतिको सही प्रतिनिधित्व गर्ने कुरा सुनिश्चित गर्न अथक प्रयास गरेकोमा उनले टोलीलाई धन्यबाद दिएकी छिन ।

त्यो लक्ष्य पूरा गर्न पाउँदा तथा फेयरफ्याक्स काउन्टीमा हामीले नेपालको लागि अर्को मार्ग खोल्न सकेकोमा अझ गर्व गर्छौं ,उनले सामाजिक संजालमा लेखेकी छिन् ।

प्रतिक्रिया