कस्तो गाह्रो छ है आजकल !!

रामप्रसाद खनाल २०८० माघ २६ गते २३:३२ मा प्रकाशित

नानीका “बा” लाई केही भनौँ 

नानीहरु र बन्दुकेहरुको चित्त दुख्ने 

बोल्न जानेका “बा” लाई केही भनौँ 

नजन्माएका “छोरा छोरी” हरूको चित्त दुख्ने 

बोल्नै नजान्ने “दाइ” लाई केही भनौँ 

“भाइ” हरूको चित्त दुख्ने 

“राष्ट्रिय भाउजू” लाई केही भनौँ 

नन्द देवरहरूको चित्त दुख्ने 

बाबुराम र हिसिलालाई केही भनौँ 

मानुषीहरूको चित्त दुख्ने 

नेपालीत्व नभएका नेपाललाई केही भनौँ 

“समाजवादीहरू”को चित्त दुख्ने  

“भगवान्” हरूलाई केही भनौँ 

भक्तहरूको चित्त दुख्ने

हर्क “हर्के” नबन न भनौँ 

हर्के हवल्दारहरुको चित्त दुख्ने 

राम्रो गर बालेन नसन्केऊ न भनौँ 

काला चस्मे र दाह्रीवालहरूको चित्त दुख्ने  

जता पट्टिका जसलाई पनि केही भनौँ 

त्यतैका हरूको चित्त दुख्ने 

ब्यक्ति पिच्छे “राष्ट्रवादी” हरूलाई केही भनौँ 

वहाँका श्रीमती र परिवारहरूको चित्त दुख्ने 

बाहुन छेत्री बाहेक अरू कसैलाई केही भनौँ 

जातियबाद वालाहरूको चित्त दुख्ने 

धर्मवालाहरूको विषयमा केही बोलौँ 

ओहो त्यो त झन् आगो हो छुनै भएन       

केही पनि नबोलौँ, नभनौँ 

आफ्नै चित्त दुख्ने, 

आफ्नै चित्त नबुझ्ने ! 

कस्तो गाह्रो छ है आजकल !!

– रामप्रसाद खनाल, फेब्रुअरी ०८, २०२४    

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया