ए मानवता, दया, धर्म नभएका
मान्छे जस्तै जस्तै देखिने कुमान्छेहरू हो,
भन त तिमीले पनि छातीमा हात राखेर
म कसरी मनाउँ तिम्रो “जनयुद्ध” दिवस ?
जसले आमा, दिदी, बहिनी,
भाउजू र छोरीहरूको सिउँदो पुछ्यो !
लाला बालाहरूलाई टुहुरो बनायो
मान्छे कै रगतको होली मनायो
एक वर्ष मात्र होइन दश दश वर्ष सम्म
लुटेर खायो, कुटेर खायो,
अपहरण गरेर मार्यो,
बुच्चरले खसी बाख्रा काटे जस्तै
मान्छे काट्यो, रगतको आहालमा नाच्यो
अरूलाई मार्यो तर आफू सत्ताकै आडमा बाँच्यो
माओवाद नाम जप्दै कहिले उता र कहिले यता गर्दै
राजनीतिक वेश्यावृत्ति र अवसरवादमा क्रम भङ्ग गर्दै
जनता लखेट्यो गाउँ गाउँबाट
युवा जनशक्ति खेद्यो ठाउँ ठाउँबाट
अनि हिजडाहरूको बुई चढ्दै
तिम्रा महिषासुर नाइकेहरू
राक्षसी राजमा नाची रहँदा
उसको आरती उतार्ने तिमीहरू पनि
नर्कको जीवन बाँची रहँदा
ए मान्छे नभए पनि मान्छे जस्तै देखिनेहरू हो,
भन त तिमीले पनि छातीमा हात राखेर
म कसरी मनाउँ तिम्रो “जनयुद्ध” दिवस ??
के भनेर मनाउँ तिम्रो “जनयुद्ध” दिवस ??
अहँ म कुनै हालतमा पनि मनाउन सक्दिन
आतङ्क र अपराधलाई “जनयुद्ध” भनाउन सक्दिन !
बरु चिच्याइ चिच्याइ भन्न सक्छु
लुटेराहरूको “धन युद्ध” – मुर्दावाद !
आतङ्क र अपराधको केन्द्र – मुर्दावाद !
राक्षसी राज – मुर्दावाद, मुर्दावाद !!
– रामप्रसाद खनाल, फागुन १, २०८०
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया