पुष्पा खनाल
आज फेरि चुडिएको छ
एउटा गुलाव
तिम्रो नाममा, मेरो नाममा ।
चुडिएका छन्
हजारौँ, लाखौँ, करोडौँ
पृथ्वीका सुन्दर पहिरनहरू
तिमी र मजस्तै
प्रेम गर्छु भन्नेका नाममा ।
आजकल
प्रेमले सुन्दरता खोज्न थालेको छ शरीरमा
आजकल
प्रेमले सौम्यता खोज्न थालेको छ पहिरनमा
र बजार भरि
प्रेमको रङ्गिन व्यापार चलेको छ
रातै बनेर ।
प्रेम प्रेमजत्तिकै प्रेमिल हुनु पर्ने थियो ।
सोध्दैछु आफैँसँग
प्रेम किन रातो भयो ?
थाहा छैन
मनबाट उछिट्टिएर प्रेम
कहिलेदेखि बस्यो गुलावका पत्र पत्रमा ?
थाहा छैन
मुटुबाट छुट्टिएर प्रेम
किन बस्यो गुलावका पत्र पत्रमा ?
प्रेम किन बस्दैन
गुलावजत्तिकै सुन्दर बनेर
आँखामा ?
प्रेम किन बस्दैन
गुलावजत्तिकै सुमधुर बनेर
मनमा ?
कसले गरायो प्रेमको बजारीकण ?
कसले गरायो प्रेमको देहीकरण ?
र,
किन गर्दैछ प्रेमको चीरहरण ?
पुष्पा खनाल
भर्जिनिया, अमेरिका
१४ फेब्रुअरी, २०२४
प्रतिक्रिया