प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम हुन्छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।
प्रेमबिनाको जीवन अपूर्ण र अपुरो नै हुन्छ , प्रेमबिनाको जीवनको कल्पना गर्न पनि कठिन छ ।
कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् ।
यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति पनि भन्छन् । आफू यौन समागमबाटै जन्मिएर पनि यौनलाई छिःछिः र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ ।
यद्यपि यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्न सकिँदैन ।
प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् । हामीकहाँ विवाहपूर्वको प्रेम र यौन सम्बन्धबारे खुलेर बहस भएको र निष्कर्ष निकालेको पाइँदैन । जसकारण धेरै समस्या जन्मछ मानव सभ्यताको इतिहासमा सबैभन्दा बढी अनौठा सामाजिक नियम पनि विवाह र यौनसम्बन्धलाई लिएर बनाइएका छन् । समूहमा रहँदाको आदिम युगमा मानिसबीच यौन सम्बन्धमा कुनै नियम थिएन, खुला थियो । क्रमशः यौन सम्बन्धमा प्रतिबन्ध लगाउँदै मानिस आजको अवस्थामा आइपुगेको छ ।
आज विश्वमा सामाजिक न्याय, मानव अधिकार, महिला अधिकारका बारेमा बहस भइरहेका छन् । अझै पनि समाजमा प्रेम, यौन, विवाह र सामाजिक न्यायका विषयलाई लिएर अनेक मतमतान्तर र अन्तर्विरोध कायमै छन् ।
मानव सभ्यताको इतिहासमा यौन र विवाहसम्बन्धी ‘सामाजिक कानुन’ नै प्रधान देखिन्छन् । विश्वका विभिन्न समुदायले यौन र विवाहलाई पवित्रता र अपवित्रताको कसीमा राखेर सामाजिक नियम बनाएको पाइन्छ । प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् ।
प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्ध विवाहमा परिणत भैरहेका छन् ।
विवाहमा परिणत भएका यी प्रेमकहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेमजस्तो स्वतःस्फूर्त विषयलाई विवाहजस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ कसैले विचार गरेको पाइँदैन।
‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ विवाहपश्चात्को परपुरुष वा परस्त्री प्रेमलाई हाम्रो समाज पचाउँदैन । सामाजिक आँखाले हेर्दा विवाह पश्चातको परपुरुष/स्त्री प्रेम अनैतिक देखिन्छ, कारण यसले सामाजिक मूल्य–मान्यतालाई ध्वस्त पारिरहेको छ ।
यद्यपि हाम्रो सामाजिक मान्यतालाई थाति राखेर सोच्दा विवाहपछिको प्रेम पनि स्वाभाविक ठहर्छ । विवाहपछि पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र माया गर्नुपर्छ भन्ने कुरा सामाजिक रूपमा जति प्रिय लाग्छ, मनोवैज्ञानिक आँखामा त्यत्तिकै अप्राकृतिक पनि देखिन्छ ।
प्रेम गर्न मनको आकर्षण चाहिन्छ । कुनै व्यक्तिबीच मनको आकर्षण छैन, चाहे ती पति–पत्नी नै किन नहुन्, त्यहाँ करुणा र दयाको प्रेम त बाँकी रहला तर भावनात्मक प्रेम हुँदैन ।
भावनाको प्रेम भनेको जो सँग मनको आकर्षण हुन्छ त्यहीसँग हुने कुरा हो । यसकारण पति वा पत्नी दुवैले आफ्नो पति/पत्नीबाट प्रेम प्राप्त गर्न आफ्नो विवाहको लाइसेन्स तेरस्याएर अधिकार खोजेर हुँदैन भावनात्मक मायाले एक/अर्कालाई जित्न सक्नुपर्छ।
कुनै समय थियो, प्रेम गर्नुलाई उत्ताउलोपनको संज्ञा दिइन्थ्यो । प्रेमविवाह गर्नेलाई ‘पोइल गएको’ भन्ने पुस्ताको अवशेष अझै बाँकी छ । नयाँ पुस्ताले प्रेमविवाहलाई ‘पोइल गएको’ त भन्न छोड्यो, तर पनि प्रेमलाई हेर्ने आँखा भने असामजिक नै छ ।
कुनै व्यक्तिले कसैसँग प्रेम ग¥यो भने कोसँग प्रेम गर्यो ? कस्तो मानिससँग प्रेम गर्यो ? प्रेम गरेको मानिस कति धनी हो ? प्रेम गरेको मानिस प्रतिष्ठित हो कि होइन ? आदि जस्ता प्रश्न अझै पनि उठिरहेका छन्, तर मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मानिससँग प्रेम गरोस् तर मनले त त्योसँग प्रेम गर्छ जोसँग मनको निकटता हुन्छ ।
परिवार र समाजले आफ्नो जात, स्तर, खानदान मिल्नेसँग मात्र प्रेम गर्नु, यौनसम्बन्ध नराख्नु, सम्पन्न खोजेर वा रोजेर विवाह गर्नु भन्छ ।
प्रेम त अझ नापेर जोखेर हुने कुरै होइन । जो पनि मन पर्न सक्छ, के जात के धर्म के स्तर के उमेर के नैतिक के असामाजिक अझ आजकल त के लिङ्ग ? प्रेम र समाज न छुट्ट्याउन सकिने न मिलाउन सकिने जस्ता विषय हुन् । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरू समाजलाई भुल्छन् ।
हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्दैन । त्यसैले हाम्रो समाज प्रेमको साधक होइन, बरू बाधक हो
प्रेममा असफलता हुनुका मुख्य कारण लैंगिक भेदभाव मुख्य हो । महिला र पुरुषबीचको स्वतन्त्रतामा बिना भेदभाव हाम्रो समाजमाथि उठ्ने हो भने हाम्रा सम्बन्ध सुमधुर हुँदै जान्थे ।
डिभोर्स, विछोड र टाढा भएर बस्ने अधिकारलाई समाजले अझै पचाउन सकेको छैन । मानिसका जीवनमा यी सबै प्रक्रिया पनि अधिकार हुन् भन्ने समाजले बुझ्न आवश्यक छ ।
विछोडमा पनि प्रेम हुन्छ । तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ । त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूर्ण विषय हो ।
जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन् ।
प्रेममय समाज निर्माणका लागि संकुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ । यही कुरालाई सबैले मनन गर्दै हामी सबै ह्याप्पी प्रेम दिबश भनौँ आजैबाट
प्रतिक्रिया