“टुक्का” दुई हरफको कविता रिभ्यु

इनेप्लिज २०८० फागुन ५ गते २२:२३ मा प्रकाशित

टुक्का कविताका आविष्कारक आदरणीय ताराप्रसाद चापागाईं सरले लेख्नुभएको “टुक्का” दुई हरफको कविता अनलाइन पुस्तकबाट पढ्ने जमर्को गरें। जुन पुस्तकमा शुरुमा २८ वटा छन्दमा र त्यसपछि ४७२ वटा स्वच्छन्द गरेर जम्मा ५०० वटा गहकिला टुक्का कविताहरू मार्फत देश, समाज र ब्याक्तिको विभिन्न अवस्थाहरुलाई चित्रण गरिएको देखिन्छ । भौतिक जगत् , आध्यात्मिकता, माया, प्रेम घृणा, मिलन, बिछोड द्वैत भाव साथै कतै त्रैत भाव पनि पढ्न पाइन्छ ।

मानिसको मनको अवस्थाहरू, नेपाली जनजीवनले देशको अस्थिर राजनीति र खस्किदो आर्थिक स्तरले गर्दा भोग्नु परेको समस्या, देशको वर्तमान अवस्था विदेशी हस्तछेप जस्तै :

“दुई ढुङ्गाको तरुल पस्यो खपिसी,
राष्ट्रघाती मुद्दा बोकि आयो एम सी सी ।”

यहाँ टुक्काकार चापागाईँको देश भक्ति, राष्ट्रप्रेम स्पष्ट देख्न सकिन्छ ।

कतै कवि प्रेममा चुर्लुम्म डुबेको भान हुन्छ, जसले यो एउटा प्रेम कथा पो हो कि भान गराउछ ।

जस्तै :
फेरियो जीवन तिमी आयौ,
हराभरा भयो प्रीति लायौ ।

उक्त हरफहरुले मानिसको जीवनमा आउने खुसी मायाले सृजना गर्दछ मनमा र भावमा आउने परिवर्तन नै खुसी र दुखको कारक हो भने जस्तो लाग्यो। साथै प्रकृतिमा आउने परिवर्तन तर्फ पनि इङ्गित गरिएको जस्तो लाग्छ ।

यसमा वियोगान्त टुक्काहरू पनि प्रशस्तै भेटिन्छन्, जस्तै :
डुबाएर मलाई भङ्गालोमा रमायौ पराइको अङ्गालोमा ।

यी माथीका दुई भिन्न टुक्काहरुले यो एउटा वियोगान्त प्रेम कथा र टुक्काकार प्रेममा छन र मायाको सागरमा डुबुल्की लाउदा लाउदै प्रेयसीले छोडेर हिडेको पो हो कि भन्ने लाग्छ ।

टुक्काकारले टुक्का कै मार्फत सचेत गराउनु भएको छ जस्तै :

” जिन्दगीको यात्रा
नबनोस है जात्रा । “

यसरी टुक्काकारले जीवनका विभिन्न पाटाहरुलाई काव्यिक बान्कीमा छताछुल्ल पार्नु भएको छ । समयसङ्गै परिवर्तन भैरहेको मानिस जसलाई धेरै पढ्न समय र मन दुबै नभएकाहरुको मर्मलाई बुझी सृजना गरिएको यो नयाँ विधा समय सुहाउँदो लाग्यो। यसले नेपाली साहित्य जगतमा एउटा नयाँ आयाम थपेको छ

कविता लेखनकाे छन्द र स्वच्छन्द दुवै शैलीमा लेख्न सकिने टुक्का कविता कम्तिमा ५×२ र धेरैमा २७×२ अक्षरसम्मको परिधिमा रहेर टुक्का कविता लेख्नु पर्ने नियम रहेकाे छ । जसले गर्दा कविता झट्ट हेर्नासाथ पढेर सकिने लघुत्तम कविता भएकाे कारण पढ्न र लेख्न समय धेरै खर्चिनु नपर्ने देखियाे । टुक्का पुस्तक पढी सक्दा, दुई लाइनमा गहिराे भाव व्यक्त गर्दै चाेटिलाे ढङ्गले उत्कृष्ट कविता लेख्न सकिने कुरामा विश्वस्त भएँ । समय सापेक्ष प्रयाेगकाे रुपमा दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान सञ्चालन भएकाे पाएँ ।

हामी जस्ता सिकारु साहित्यका विद्यार्थीहरुका लागि यो पुस्तक एउटा मार्ग दर्शक बनेको छ र बन्नेछ। हुन त म जस्ता सिकारु विद्यार्थीले यसमा भएका सम्पूर्ण आयामहरू खोतल्न असम्भव प्राय छ मनमा उठेका भावहरुलाई दुई हरफमा लेखिने टुक्का कविता मार्फत व्यक्त गर्दा चोटिला र गहकिला हुने रहेछन् यही सोचेर यो बुक रिभ्यु पनि छोटो बनाउन कोसिस गर्दा धेरै कुरा छुटेका छन् भने कतिपय आफ्नो ब्रम्हले नभ्याएको पनि हुन सक्छ । पुस्तक भित्र १/२ ठाउँमा अन्त्यानुप्रास प्रयाेगमा त्रुटि देखिएका छन् । पुस्तक प्रकाशनका क्रममा केही प्राविधक कुराहरू लगायत सामान्य त्रुटिहरू हुन सक्ने भएकाेले नजरअन्दाज गर्नु उचित ठानेर मैले ती कुराहरू खाेतलेकाे छैन ।

यहाँले पुस्तकको कभरसँगै लेख्नु भएको प्रतिक्रियाको अपेक्षा भन्ने शब्दले मलाई मनमा उर्लिएका यी कुराहरू लेख्न बाध्य तुल्यायो । आफूले सिक्दै गरेकाे प्रयाेगवादी विधाकाे पुस्तक माथि यसरी समिक्षा लेख्ने दुस्साहस वा दुस्प्रयास प्रति एउटा जिज्ञासु अनुयायी ठानेर मैले गरेको यो कार्यमा कुनै त्रुटिहरू भएमा अवश्य पनि क्षमा गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेकाे छु । मैले यो पुस्तक अध्ययन गर्दा के कति बुझ्न सकेँ त्यही कुराहरू लेखेँ यस सम्बन्धमा कसैले पनि नकारात्मक रुपमा लिइ दिनु हुने छैन भन्ने अपेक्षा गरेकाे छु । कुनै पनि पुस्तकहरू पढी सकेर बुक रिभ्यु लेख्ने वा युट्युबमा बुक रिभ्यु वाचन गरि हाल्ने बानी गरेकी छु जसले गर्दा पढिएका पुस्तकहरू सम्झीरहन सकियोस् !

अन्तमा: यो पुस्तक सबैकाे, अझ साहित्य प्रेमी, कविता प्रेमीहरू र म जस्ता नयाँ साहित्य प्रति रुचि राख्ने जिज्ञासुकाे लागि उत्कृष्ट खुराक हाे भन्न चाहेँ ।

✍️ दीपा समभाव
काठमाडौँ

प्रतिक्रिया