विवाहको महत्त्व र ऐतिहासिकता 

सीता ओझा २०८० फागुन ८ गते ११:२० मा प्रकाशित

स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई विवाह वा बिहे भनिन्छ । विवाहले यौनजन्य गतिविधिलाई विधिवत रुपमा एकनिष्ठ गराउने प्रकृया विवाह हो ।

सनातन धर्मले मानव जीवनको यौवन अवस्थाबाटै गृहस्थ र वैराग्य मध्ये एकलाई अनिवार्य गरेको छ। यो अनिवार्यताभित्र जोडिएको तर नदेखिने सत्य भनेको गृहस्थको रमाइलो रोज्नेहरु पनि जीवनको यात्राबाट दिग्भ्रमित नहुन र वैराग्य रोजेपनि इहलिलामापनि रमाउन तर यो र त्यो मा अल्मलिएर अर्को मानिसको जीवनलाई नअल्मल्याउन भन्ने सत्यलाई समाजमा स्थायित्व दिनको लागि गृहस्थ रोज्नेको लागि विवाह अनिवार्य सर्त बनाइएको भेटिन्छ ।

आधुनिक समाज र समाज विकासको परिभाषाले परिवारको परिभाषालाई व्यक्तिको स्वतन्त्र अस्तित्वलाई उसको सामाजिक आर्थिक क्रियाकलापसँग जोडिएको भुमिकासँग गाँसेर एकल सदस्यको पनि परिवार हो भनी परिभाषित गरिदिए जस्तै विवाहलाई पनि फराकिलो बनाएको छ। त्यो फराकिलो परिभाषाले समलिङ्गी र उभयलिङ्गी समेतको विवाहलाई मान्यता दिएको छ। आधुनिक समाज विश्वलाई सङ्कुचित गर्दै विश्व समाज नै मानव परिवार हो भन्ने अवस्थामा पुर्याएको र विवाह पनि विश्व समाजका हरेक नागरिकसँग सम्भव बनाइदिएको जस्तो देखिँदै छ।

विवाहको प्रचलन :

विवाहको प्रचलन कहिलेदेखि शुरु भयो एकिन गर्न कठिन छ । पौरत्स्य दर्शन र ती सँग जोडिएका पुराणहरुका अनुसार मैथुन–सृष्टिको आरम्भ दक्षप्रजापतिका पालादेखि शुरु भएको भन्ने भेटिन्छ। दक्षप्रजापति र विरणीका बीच भएको विवाह नै मैथुन मार्फत सन्तान जन्माउनका लागि गरिएको पहिलो विवाह थियो भनिएको छ ।

विवाहको उद्देश्य

पौरत्स्य दर्शनले विवाहलाई सृष्टिक्रमलाई अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता र यौनिक जीवनको एकनिष्ठताको माध्यमको रुपमा मानेको भेटिएको छ।

आधुनिक समाजले यसलाई जीवन बिताउने सम्झौता मात्र मान्न थालेको छ । यसैले गर्दा विश्वभरका वैवाहिक जीवनहरू अत्यन्त विवादास्पद हुन थालेका छन् ।

विश्वभरका मानव मध्ये पचास प्रतिशतले आफ्नो पन त्याग गर्दैन्छ भने पचास प्रतिशत विपरीत लिङ्गीकोपन अङ्गिकार गरी गाँसिएको नयाँ वैधानिक सम्बन्धलाई विवाह भन्ने र मान्ने समाज अहिलेको समाज हो र यस्तै बन्दैछ। विवाहको अंग्रेजी नाम Marriage हो । अरु धर्मका बेग्लै विचार भएपनि प्राचीन वैदिक सनातन धर्मले भने विवाहलाई एउटा संस्कारका रूपमा लिने गरेको भेटिन्छ ।

प्राचीन कालमा अठचालीस वटा संस्कार भित्र र आधुनिक कालमा सोह्र संस्कार भित्र विवाह संस्कारलाई जोडिएको छ ।

संस्कारको अर्थ परिष्कार गर्नु हो । विवाहमा वैदिक मन्त्रको प्रयोग गरी विवाहको प्रकृयालाई शुद्ध, संयमित र शक्तिशाली बनाइने गरिन्थ्यो/ गरिएको थियोे । त्यसै कारण विवाहलाई संस्कार भनिएको हो ।

अध्ययन सकेपछि या कानुनी रुपले वयस्क उमेर भएपछि आफूभन्दा अघिल्लो पुस्ता र आफूभन्दा पछिल्लो पुस्ताको पुलको भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरा विवाह संस्कारले सिकाउँनु पर्छ भनी थपिएको संस्कार विवाह हो।

विवाह विधिहरू
आआफ्ना धर्म, जात र भूगोल अनुसार विवाहका विधि फरक फरक हुन्छन् । पूर्वीय वैदिक दर्शनमा विवाहका आठवटा विधिहरू बताइएका छन् र विश्वभर प्रचलनमा रहेका विवाहका विधिहरू प्रायः यिनै आठ विधि भित्रका विधि हुने गरेको भेटिन्छ ।

संक्षेपमा यी आठवटा विवाहका विधिहरू यस्ता रहेका छन् :–

१, विद्वान र सदाचारी युवकलाई आदरपूर्वक निमन्त्रणा गरी आफ्नी कन्याको वरको रुपमा स्वीकार्दै वस्त्र र आभूषणले सिँगारिएकी कन्या ससम्मान समर्पित गर्नु ब्राह्म विवाह हो । यो विवाहलाई मागी विवाह भनिन्छ र नेपालीहरुले गर्ने प्राय : विवाह यहि विधि अन्तर्गत पर्दछन् ।

२, यज्ञ गर्दा उपस्थित भएमध्येका असल ऋत्विज्लाई वस्त्र-आभूषणले सिँगारेर आफ्नी कन्या दिने विधिलाई दैव विवाह भनिन्छ ।

३,वरपक्षसँग एउटा वा दुईटा गाई वा गोरु लिएर विधि अनुसार आफ्नी कन्या प्रदान गर्नुलाई आर्ष विवाह भनिन्छ ।

४, कन्यादान गर्दा तिमीहरु दुवैले सँगै रही मिलेर धर्म अनुसार आचरण गर्नु” भनी सत्कारपूर्वक कन्यादान गर्ने विधिलाई प्राजापत्य विवाह भनिन्छ ।

५,कन्याले वा कन्यापक्षले वरसँग तिनको गच्छे अनुसार धन लिई कन्याप्रदान गरी गरिने विवाह आसुर विवाह हो ।

६, केटाकेटीले एक-आपसमा स्वेच्छाले कामाशक्ति र वासनाप्रधान प्रेम सम्बन्ध गाँसी गर्ने विवाह गान्धर्व विवाह हो । यसलाई आधुनिक भाषामा लभ म्यारिज भनिन्छ र विश्वभर अहिले चलेको वैवाहिक विधि यही नै हो ।

नेपालमा भने ब्राह्म र गान्धर्व विवाह विधिको सम्मिश्रण गरी विवाह भएको जस्तो देखिन्छ ।

७, संरक्षकलाई मारेर, हातगोडामा चोट पुर्‍याएर, वासस्थान आदि नष्ट गरेर रुँदै गाली गरिरहेकी कन्यालाई हरण गरी आफ्नो अधिकारमा लिनु राक्षस विधि हो ।

८, निदाइरहेकी, अर्धमूर्छित वा अर्धनिद्रामा परेकी कन्यालाई जवर्जस्ती गरी वाध्यताले विवाह गर्नु अत्यन्त अधम पैशाच विधि हो ।
यीमध्ये शुरुका चार विधिलाई उत्तम र पछिल्ला चार विधिलाई निन्दनीय भनि लेखिइएको भेटिन्छ छ ।

नेपाली समाजमा प्रचलनमा रहेका विवाह विधि :
कानुनी विधि : विवाहको कानुनी विधिलाई विवाह दर्ता–विधि भनिन्छ ।
सगोत्र विवाह : समान गोत्रका वरवधुका बीचमा हुने विवाह ।
अनमेल विवाह : उमेरमा बढी फरक पारेर गरिएको विवाहलाई प्रायः अनमेल विवाह भनिन्छ ।

अन्तर्जातीय विवाह : फरक जातका बीचमा हुने बिहे ।
अवैध विवाह : उमेर नपुगी वा कानुन मिचेर गरिएको विवाह ।
टामटुमे विवाह : परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने विवाह, टामेटुमे विवाह ।

दुईचम्के विवाह : सट्टापट्टा गरेर गरिने विवाह; छोरीबेटी साटासाट गरेर गरिने विवाह ।

पुनर्विवाह : एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम; एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको अर्कोपल्ट गरिने विवाह ।

बहुविवाह : एक पुरुषले दुई वा दुसईभन्दा बढी स्त्री वा एक स्त्रीले दुई वा दुईभन्दा बढी पुरुषसँग बिहे गरी सवै जीवित रहेको अवस्था ।

बाल विवाह : केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहे ।
बेल विवाह : कुण्डली आदिमा भएको वैधव्य दोषको निवारण आदिका निम्ति नेवारजातिका स्त्रीहरूको कमै उमेरमा बेलका साथ गरिने परम्परागत विवाह ।

समान लिङ्ग भएकाहरु विच हुने विवाह – समलिङ्गी विवाह
यस बाहेक कर्म विशेषका आधारमा गरिने भागी बिहे, मागी बिहे, चोरी बिहे, जारी बिहे जस्ता शब्द पनि प्रचलनमा रहेका छन् ।

विवाहमा जुराउने चलन
वैदिक सनातन धर्ममा गरिने मागी विवाहमा वर वधुका अनेक कुरा जुराएर विवाह गर्ने विधान छ । आजकल जुराउने काम र विधिलाई त्यति मतलव गरिन् छोडिएको अवस्था पनि छ।

वेद र उपनिषदमा विवाहका बारेमा विस्तृत विवरण पाइँदैन तर स्मृति र पुराणहरूमा विवाहका बारेमा अत्यन्त सूक्ष्म, गहन र विस्तृत कुरा उल्लेख भएका छन् । विवाह गराउँदा अभिभावकले ध्यान दिनुपर्ने केही शास्त्रीय कुराहरू यस्ता छन् :-

विशेष परिस्थितिमा बाहेक दाजुभन्दा पहिले भाईको र दीदिभन्दा पहिले बहिनीको बिहे नगर्नू ।

छोराको विवाह गरेको ६ महिना (२ ऋतु) सम्म कन्याको विवाह नगर्नू ।
छोराछोरीको विहेपछि ६ महिनासम्म विशेष व्रत आदि मङ्गल कार्य पनि नगर्नू ।

६ महिनाका बीचमा दुई वटी एउटै गर्भबाट जन्मेका केटीको विवाह कुनै पनि हालतमा नगर्नू ।

एउटा विवाहका साथ अर्को विवाह नगर्नू ।
एउटै वरका लागि एकैपटक दुई वटीकन्या नदिनु ।
सहोदर दाजुभाईको विवाह सहोदरा दीदिबहिनीसँग नगर्नु ।
एकै पटक दुई विवाह तथा मुण्डन कर्म नगर्नु ।

आफ्नो कुलमा ३ पुस्ता भित्र छोराको विवाह गरेपछि ६ महिनासम्म छोरी वा सहोदर भाईको विवाह नगर्नु ।

दुई सहोदर दाजुभाईको वा दिदीबहिनीको विवाह ६ महिना भित्र नगर्नु ।
जुम्ल्याहा भए दुवैको समान संस्कार एकै दिन वा एउटै मण्डपमा हुन सक्दछ ।

बुहारी भित्र्याएको ६ महिनासम्म कन्या (छोरी)लाई पतिको घर पनि नपठाउनु । तर वर्ष फेरिएमा भने ६ महिना भित्र उपरोक्त कार्य गर्दा पनि उत्तम हुन्छ ।

विवाहको लागि उमेर

प्राचिन कालमा विवाह गर्ने उमेर स्त्रीको हकमा रजस्वला हुनुपूर्व र पुरुषको हकमा वीर्यशाली हुँदासम्म हुने गर्दथे । तर विवाह चाँडै भएपनि आयुर्वेदका ग्रन्थमा सन्तान जन्माउन अठार वर्षपछि मात्र योग्य हुन्छ भनिएको पाइन्छ । व्रतबन्ध गर्ने पहिलो उमेर र त्यसपछि वेद अध्ययन गर्न लाग्ने तोकिएको समय हेर्दा प्राचीन कालमा पनि पुरुषको विवाह गर्ने उमेर न्यूनतम बीस वर्ष हुने गरेको देखिन्छ ।

विवाह र आधुनिक समाज
सम्भव भएसम्मको उपाय लगाउँदा प्राचिनकालमा दाम्पत्य जीवनलाई आमरण ( सदा) सौहार्द्रपूर्ण बनाइएको भेटिन्छ ।त्यस्तो भेटिनुको पछाडि पति र पत्नी धर्मको पालना पनि जोडिएको देखिन्छ ।

आधुनिक कालमा पतिपत्नी धर्मको धारण भन्दा बढी वासनालाई प्रेम ठानी मानिसहरु झुक्किने क्रम बढेको छ । एक अर्कालाई बुझ्ने क्रममा स्त्री र पुरुष आवश्यकता भन्दाबढी अघि बढेर गरिने क्रियाकलापको कारण समस्या थपिएको पनि छ ।

विश्वभर सबै कुरा बुझि भएका प्रेम विवाहमा पनि सन्तानको चाहना नगर्ने जस्ता फरक कुराहरु /मान्यताहरु अहिले जोडिएको देखिन्छ ।यो प्रकृयालाई सनातनले सम्बोधन गरेको भेटिन्न ।

अहिले जेजस्ता वैवाहिक अवस्था देखिएका छन् त्यो अवस्था पहिले पहिले पनि हुने गरेको प्रसंग पुराणहरुमा छ । पुराणहरुमा मानवजातीले अत्यधिक स्वतन्त्रताको उपभोग गर्दा मानव अस्तित्व संकटमा पर्दछ भनेर बेलाबेलामा कठोरता अपनाइएका दृष्टान्त पनि पढ्न पाइन्छ।

जतिसुकै लामा तर्क गरेपनि विवाह सन्तान जन्माउन र यौनिक एकनिष्ठताको लागि गरिन्छ । विकसित देशहरुले नागरिकको आवश्यकताले दम्पत्तिलाई सन्तान जन्माउन वा राज्यको आवश्यकतालाई जोड्न उत्प्रेरित गर्न थालिएका धेरै उदाहरण भेटिन्छन् ।

प्रकृतिप्रदत्त स्त्रीको गुणलाई पुरुषले र पुरुषको गुणलाई स्त्रीले स्वतन्त्र र मर्यादित बनाउनु नै दम्पतीको मात्रै हित होइन, सबैका हितमा हुन्छ,भन्ने विषय समाजको गतिसँग जोडिरहँदा मानव अधिकार,समानताको हकसँग समान अस्तित्वको कुरा पनि जोडिनु पर्छ भन्ने कुरा नर र नारी दुबैले बुझ्न र कार्यनयन गर्न जरुरी छ। यो विधिलाई समानतामा जोड्न सक्यो भने सृष्टिको बाधक कुनै समाज पनि हुने अवस्था बन्दैन र हुँदैन ।

सीता ओझा
२०८०/११/०७

प्रतिक्रिया