आधुनिकता, प्रविधि, स्वार्थीसोचले परिवार र समाजको जग भत्किएको छ!

बेद प्रसाद घिमिरे २०८० फागुन १४ गते २२:३२ मा प्रकाशित

यतिबेला नेपाली समाजको पतन उकालो चढिरहेको छ । विनाशका साधनहरूको असीमित प्रयोगले समाजलाई विचित्रको सङ्कटमा पुऱ्याएको छ । मुसादौड (पेटपालन)मा निस्कन बाध्य व्यक्तिले विकास, सिद्धान्त र सभ्यताको माला जपेर बस्न चाहँदैन/सक्दैन । बालबच्चाको पालनपोषण, शिक्षा र विकासमा आधारित सुरक्षा खोज्ने हुटहुटीले समाजको सोच र उद्देश्य बदलिएको छ । औद्योगिक सम्भावना समाप्त पारिएको, भौतिकवादले गाँजेको, सामाजिक र आर्थिक सम्बन्धको अपराधीकरण सामान्य भएको परिवर्तनमा समाजले आफूलाई नौतिकवान बनाइराख्न सकेन, जसले गर्दा प्रगति र पतनलाई समाजले महत्त्व दिन छोडिसकेको छ । ऐतिहासिक विकासको चक्रीय नियम भताभुङ्ग भएको समयमा समाजको नजरमा तमाम कर्म-कुकर्म जायज देखिएको छ । आत्मअनुशासन, गोपनियता र सही सूचना फाल्तु विषय बनेका छन् । सांस्कृतिक, आर्थिक अपराध गर्दा अपराधीले प्राप्त गर्ने सजायसमेत पुरस्कार जस्तो भएको मुलुकमा समाजले नैतिकतालाई ‘अनैतिक र अनुपयुक्त’ विषय मान्नु स्वाभाविक छ ।

गरिबसँग ‘भोट’ र धनीसँग ‘नोट’ लिने हाइब्रिड उपलब्धि र परिवर्तन ‘संसदीय लोकतन्त्र’ बनेर मुलुक प्रवेश गरेको छ । सांसदको टाउको गन्ने तौल नहेर्ने संसदीय व्यवस्थाले आफ्नो सामाजिक दायित्व निर्वाचनको समयमा गज्जबले देख्ने गर्दछ । निर्वाचनको समयमा मतदातालाई भगवान् भन्ने, जनार्दन देख्ने लोकतन्त्रले जनताको अमूल्य ‘मत’ संसद् प्रवेशको ‘गेट पास’ बनेको भोलिपल्ट बिर्सन्छ । यहीँबाट सुरु हुने गडबडीले नागरिक समाजलाई गिजोलेको छ । सत्ताप्राप्तिको निम्ति तमाम नैतिकता, मूल्य, मान्यता, बिसाउन मरिहत्ते गर्ने कथित नेतृत्वले समाज, धर्म, संस्कार, रीति, थिति, विधि, पद्धतिलाई जति धेरै भत्काउने सफलता पाउँछन्, त्यति धेरै नेताको अधिकार र क्षेत्र बढेको ठान्दै आएको छ ।

मुलुक जिम्मा लिएको नेतृत्वको कथित सोच, शैली, गैरजिम्मेवार व्यवहारलाई शब्दमा समेट्न मुस्किल छ । सामाजिक विघटन, पारिवारिक कलह, झैझगडा, अंशमुद्दा, पारपाचुके, दलाली, कीर्ते, ठगी, भ्रष्टाचार बढ्दा आफ्नो राजनीतिक आयु लम्बिएको ठान्दै आएको छ । आफ्नै स्वार्थमा अल्झिएको तथाकथित परिवर्तनले केवल विदेश जानकै निम्ति सहोदर दाजुले बहिनीसँग ‘विवाह’ गरेकोमा चिन्ता गर्न जरुरी ठान्दैन । राजनीतिक नेतृत्वको देखासिकी गर्दै विदेशीभूमिको कागज बनाउन मातापिताको मन्जुरी पाएका छन् । यस्तो भयावह नैतिक पतनपश्चात् वर्तमान व्यवस्था, सिंहदरबार र समाजसामु गम्भीर प्रश्नहरू तेर्सिएका छन् ।

काम, क्रोध, लोभ, मोह, अहङ्कारले शासन गरेको वैश्य युगमा नैतिक मूल्य कतै भेटिँदैन । पुर्खाले निर्माण गरेका मूल्य, मान्यता, अध्यात्मलाई चटक्क छोडेर भौतिकतातर्फ लम्किएको पछिल्लो पुस्ताले पैसाको निम्ति सबै जायज देख्न थालेको छ । आधुनिकता, प्रविधि, स्वार्थीसोचले परिवार र समाजको जग भत्किएको छ । एकाङ्की जीवनशैलीले समाजप्रतिको उत्तरदायित्व बिर्साएको छ । नैतिकता, इमान, इज्जत ‘गौण’ र सुखसुविधा अनि पैसाप्रधान मान्ने पछिल्लो सोचले सोसल इन्जिनियरिङ चकनाचुर हुँदैछ ।

नैतिकता र व्यवहारिक ज्ञान नदिने शिक्षानीतिले शिक्षित युवायुवतीलाई अन्धकारतर्फ धकलेको छ । पछिल्लो कालखण्डमा अनिवार्य बनिसकेको टेलिभिजन कार्यक्रम, विज्ञापनले भुसुक्कै बिर्सेको नैतिकता समाजको निम्ति महँगो बनिरहेको छ । समाजमा अनैतिकताको प्रतिस्पर्धा चलिरहेको छ । पावर पोलिटिक्स, नैतिकवान मानिस राजनीतिबाट भाग्ने अवस्थाले खराब मानिसको बोलवाला छ । यतिबेला पुर्खा, मुलुक, कानुनलाई अपमान गर्ने फेसन चलेको छ । दुराचारीको बोलवाला छ । सनातन धर्मले जीवनमा सकारात्मकता ल्याउने छ र अज्ञानले समाजलाई थप पखाल्दैछ भन्ने मान्न वर्तमान पुस्ता तयार छैन ।

वैश्य युगमा समाज र व्यक्तिको हरेक गतिविधिलाई विज्ञानले प्रभावित गरिरहेको छ । व्यक्तिगत स्वार्थको निम्ति मानिसले प्रकृतिलाई दोहन गरिरहेका छन् । धनी र गरिबबीच गहिरो खाडल बनिरहेको छ । समाजवादउन्मुख संविधानपश्चात् समाजमा डरलाग्दो आर्थिक असमानता चुलिएको छ । सामाजिक मूल्य गिर्दै गएको छ । संयुक्त परिवार लोप भएर एकल परिवारमा सीमित भएको छ । पारिवारिक संस्कार, सामाजिक चालचलन हराउँदै छ । हाम्रा जीवनशैली, चालचलन र सोच बदलिएका छन् । खानपान, बोलचाल, सत्कार र आशीर्वाद बदलिएका छन् । विगतमा सन्तानले डाँडा खोला ढाकुन् भन्ने आशीर्वाद आउटडेटेड भइसकेको छ । साइँलो, काइँलो, अन्तरे, जन्तरे जस्ता नाता लोप भएका छन् । नेपाली समाज झल्काउने परम्परागत आशीर्वाद डिट्ठा, विचारी, मुखिया, सुब्बा, हाकिम, ठेकदार, सांसद, मन्त्रीबाट एडभान्स हुँदैछ । अध्यापक, प्रोफेसर, इन्जिनियर, डाक्टरसमेत मुलुक छोड्न हतारिएको पछिल्लो समयमा अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतको भिसा लागोस् भन्नेमा पुगेको छ । प्लस टु गरेपछि मुलुकमा बस्नु भनेको असफल या नालायक हुनु हो भन्ने मान्यता स्थापित गरिँदैछ ।

प्रतिक्रिया