नेपाली कांग्रेसको महासमिति बैठकको एक राजनीतिक निर्णय प्रकाशमा आएपछि गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्र कांग्रेससँग सतर्क भएको देखिन्छ । उसले सहयात्री दललाई शंकाको नजरले हेर्न थालेको संकेतहरु देखा पर्न थालेका छन् । आगामी संसदीय निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै प्रतिष्पर्धा गर्ने भनेर नेपाली कांग्रेसले निर्णय गरेपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । गएको निर्वाचनमा आफूसँग सहकार्य गरेको मुख्यदलको यस्तो निर्णय आएपछि माओवादी केन्द्र सतर्क मात्र भएको छैन, उ तर्सिएको र वैकल्पिक सहयात्रीको खोजीमा समेत सक्रिय भएको देखिन्छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक गोप्य वार्तालाप गरिसक्नुभएको छ । यतिमात्र होइन दाहालले आफ्ना निकट सहयोगी नेताहरु अग्नीप्रसाद सापकोटा र जनार्दन शर्मालाई अघि सारेर नेपाली कांग्रेसको निर्णयप्रति गम्भीर असन्तोष प्रकट गरिसक्नुभएको छ । दाहाल आफैं भने ओलीसँगको गुप्तवार्तालाई निरन्तरता दिएर गठबन्धनको मुख्यदललाई तर्साउने प्रयास गरिरहेका देखिन्छन् ।
नेपाली कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिष्पर्धा गर्न कठिनाई नै हुने विगतको परिणामले पनि देखाउँछ । त्यसैले उस्तै परे एमालेसँग सहकार्य गर्ने तर एमालेसँग पनि ढुक्क हुनसक्ने अवस्था नभएकाले नै दाहालले पूर्व माओवादी र अरु छरिएर रहेका वामपन्थी दलहरुलाई एक हुन आव्हान पनि गरिरहेका छन् ।
राष्ट्रिय सभाको अध्यक्ष बनाउने भनेर नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्षले वचन दिएपछि सदस्यको निर्वाचनमा सहभागी भएर बिजयी बन्नुभएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यतिबेला विलखबन्दमा पर्नुभएको छ । महासमिति पछि एक किसिमले तनावमा परेको गठबन्धन सम्बन्ध सामान्य नभैसकेकाले राष्ट्रिय सभाको नेतृत्व कसको हातमा पर्ने हो भनेर ठोकुवा नै गर्नसक्ने अवस्था देखिँदैन । यही कारण नेपाली कांग्रेसका नेता सिटौला पनि अनिश्चयको बादलमा पर्नुभएको छ । तर गठबन्धन फेरबदलको तत्काल कुनै सम्भावना नभएकाले पूर्वसहमति अनुसार नै राष्ट्रिय सभाको नेतृत्व चयन हुने विश्वास गरिएकामा पछिल्ला दिनहरुमा माओवादी केन्द्रको रणनीति परिवर्तन भएको देखिएको छ ।
नयाँ रणनीति बनाउँदै माओवादी केन्द्रको हालै सम्पन्न विधान अधिवेशन र अहिले जारी स्थायी समिति बैठकमा फरक मत आएको छ । केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार, वर्तमान सत्ता गठबन्धन निकट भविष्यमा परिवर्तन हुनसक्ने सम्भावना भएकाले माओवादी केन्द्र राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनबारे आन्तरिक छलफलमै छ । ‘आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार माओवादीले छाड्नुपर्ने हुन्छ, त्यति बेला संवैधानिक अंगका कुनैपनि निर्णायक भूमिकामा माओवादी रहँदैन तसर्थ राष्ट्रिय सभाको नेतृत्व चैं आफैंसँग राख्नुपर्छ भन्ने आवाज पार्टीका सबै तहमा उठिरहेको छ । त्यसैले हालको गठबन्धन अनुसारकै परिणाम नआउन पनि सक्ला’ माओवादीको एक केन्द्रीय सदस्यले भन्नुभयो ।
राष्ट्रिय सभानिर्वाचनकै क्रममा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझाउम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आएपनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएपछि माओवादी केन्द्रका नेताहरु रुष्ट भएका थिए । कांग्रेस मतदाताले ‘मतक्रस’ गरेर माओवादी उम्मेदवारलाई पराजित गराएको भन्दै माओवादीले समीकरणमा फेरबदलको प्रसंग अघि सारेको थियो
यसबीच सभापति शेरबहादुर देउवा र अध्यक्षदाहालले पनि भेटघाट गरिसक्नुभएको छ । देउवाले आफ्नो पार्टीको महासमितिको निर्णयबाट सशंकित नहुन दाहाललाई आश्वास्त तुल्याएको देउवा निकट सूत्रले बताएको छ । त्यसपछि नेता सिटौलाले पनि दाहालसँग भेटेर आफ्नो कारणले गठबन्धन संकटमा पर्ने अवस्था छ भने आफू पछि हट्न तयार रहेको बताउनुभएको छ । तर दाहालले पूर्व सहमतिमा परिवर्तनको कुनै सम्भावना र आवश्यकता नरहेकाले अन्यथा नसोच्न सिटौलालाई सल्लाह दिएको समाचार सूत्रले बताएको छ ।
यस सम्बन्धमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले गठबन्धनको सम्बन्धमा कुनै परिवर्तनको सम्भावना नदेखिएकाले गठबन्धन दलहरुको निर्णय त्यही अनुसार नै हुनुपर्ने हो भन्नुभएको छ । नेता रिजालले सिटौला नै अध्यक्ष पदका उम्मेदवार हुनेमा कुनै शंका नरहेको दावी गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति देउवा आलोपालो अनुसार छैटौं पटक प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ । माओवादी अध्यक्ष दाहालले छाडेपछि रिक्त प्रधानमन्त्री पदमा देउवा आउने सम्भावना छ । देउवालाई प्रधानमन्त्री पदमा सहयोग गर्दा माओवादीले धन्यवाद र कृतज्ञता मात्र लिएर चित्त बुझाउने छैन । उसले त्यसको बदलामा ठोस राजनीतिक लाभ लिनेनै छ ।
हालको राजनीतिक अंकगणित हेर्दा माओवादीका आँखा राष्ट्रिय सभा अध्यक्षको आसनमै सोझिएको देख्न सकिन्छ । यही उदेश्यले हुनसक्छ अध्यक्ष दाहालले निकटस्थ नेतालाई नेपाली कांग्रेसप्रति कटाक्ष गराउँदै घुर्कीको भाषामा आलोचना गराईरहनुभएको छ । यस्तो अवस्थामा कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको नेतृत्वमा पुग्ने सम्भावना आफ्नै सभापतिको राजनीतिक उदेश्यका कारण पनि क्षीण बन्दै गएको देखिन्छ ।
कदाचित देउवा नै प्रधानमन्त्री बन्नुभयो भने सरकारको दोस्रो वरियतासहित महत्वपूर्ण मन्त्रालयमा चित्त बुझाउन सिटौला वाध्य हुने अवस्था नआउला भन्न सकिँदैन ।
प्रतिक्रिया