स्रग्विणी छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न 

इनेप्लिज २०८० फागुन १८ गते २२:३८ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० फागुन १२ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९५” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत स्रग्विणी छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई स्रग्विणी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।


::::: स्रग्विणी छन्द :::::
~ गणः र र र र
~ गण सङ्केत : २१२ २१२ २१२ २१२
~ ६ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका स्रग्विणी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
राजधानी भयो, रात काट्ने थलो
वस्त्र तिम्रो भयो, साँगुरो पातलो ।
२.
गाउँका गोरु नै, राजधानी पसे
फाँट चर्दै ठुलो, गोठ रोज्दै बसे ।

✍️

 रामशरण न्यौपाने
भक्तपुर
[२]
चाहना धेर थे पूर्ण गर्नै थियाे
बाल्नु आफैँ पर्‍यो बाध्यताको दियो।

✍️

 ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
छाम्दछ्यौ रातमा सुन्दरी हातले
काममा मग्न छौ हाँस्दछ्यौ बातले
२.
सुन्दरी आइछिन् मोहनी चालमा
स्वर्गकी अप्सरा रम्दछिन् तालमा ।

✍️

 बेदु न्यौपाने
काठमाडाैँ
[४]
१.
दामकाे आसमा काम भाे खासमा
जिन्दगी टुङ्गियाे लाेभले लासमा ।
२.
हालकाे चालमा बाँच्नु है के गरी
जिन्दगी धेर भाे साँच्नु याे के भरी ?

✍️

 त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[५]
१.
तृप्तिको आसमा, बस्दछन् आसुरी
लोकमा दुःखको बज्दछन् बाँसुरी ।
२.
के छ खै! पेटमा, खेल्दछन् के कुरा
स्वार्थमै रम्दछन्, देशका बेसुरा ।

✍️

 होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[६]
१.
शक्तिका आडमा जे तिमी गर्दछौ
भोलि  वा आज नै दु:खमा पर्दछौ ।
२.
शान्तिको भावना फैलिए देशमा
वन्दना गर्दछौँ प्रेमको भेषमा  ।

✍️

 पद्मा काश्यप पाण्डे
मोरङ
[७]
गर्नु यो कर्मले बन्नु आफैँ सफा
कामको सारमा रम्छ सारा वफा ।

✍️

 आर्त अकुलीन
[८]
१.
भन्नुपर्थ्यो तिमी, लक्ष्य खोज्दै हिॅंडेँ
पुग्न लाग्दा उॅंभो, बेस्सरी नै भिॅंडेँ ।
२,
फैसला गर्छ जो, छक्क पार्थ्यो जहाँ
खेल खेल्ने कला, वाह लाग्यो यहाँ ।

✍️

 म्यामराज राई
भोजपुर ।
[९]
१.
भोक भो प्यास भो जिन्दगी खासमा
आस नै आसमा अल्झियाैं  बातमा ।
२.
बाघको भेषमा  राज भो, स्यालको
किन्तु यो देश नै आज भो ख्यालको।

✍️

 दीपा समभाव
काठमाडौँ
[१०]
१.
फूलको जिन्दगी वासना भर्दछ
पातकी कालले शासनै गर्दछ ।
२.
लट्ठ छन् आसुरी स्वर्थको मातमा
आत्मघाती झनै देखियो बातमा ।

✍️

 विवश पारदर्शी
झापा
[११]
१.
साधना फर्कने बेलुका सातमा
अप्सरा झुल्कने चन्द्रमा रातमा ।
२.
भोकमा बस्दछौ पीरले बेसरी
खाउला रोपिए खेतमा खेसरी ।

✍️

 अम्बिका अधिकारी
झापा बिर्तामोड
[१२]
आउँदै पो थिएँ घुम्न निम्तो दिई
जान्न साथै भन्यौ व्यर्थ पीडा दिई।

✍️

 सुस्मिता अधिकारी
काठमाडौँ

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया