गोविन्द गिरी प्रेरणाको “बीसौँ शताब्दीको अद्वितीय खेल” विमोचित 

इनेप्लिज २०८० फागुन २२ गते १:०७ मा प्रकाशित

१६ फागुन २०८०, काठमाडौ

बहु विधाका चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो लघुकथा सङ्ग्रह ‘बीसौँ शताब्दीको अद्वितीय खेल’ विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ विद्वान साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले सो पुस्तक विमोचन गरेका हुन् ।

वरिष्ठ साहित्यकार किशोर पहाडीले विमोचित लघुकथा सङ्ग्रहबारे समीक्षात्मक टिप्पणी गर्दै लेखक प्रेरणासँगका पुराना दिन स्मरण गर्दै ४० को दशकदेखि नै आफूहरूले लघुकथाकाे प्रवर्द्धनमा सँगै पाइला चालेको उनले सम्झिए । उनले भने “गोविन्द गिरी प्रेरणा र म मिलेर नेपाली लघुकथाको त्यतिखेरको स्थितिबारे हिन्दी साहित्यिक पत्रिकामा संयुक्त लेख लेखेका थियौँ । यसको अर्थ हो हामी त्यही बेलादेखि लघुकथाको उन्नतिका लागि सकृयतापूर्वक खटेका हौँ” ।

भूमिका लेखकसमेत रहेका प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले स्रष्टा प्रेरणाको लेखाइ–सीपमा रूपसज्जा तथा शैलीमा विविधता रहेको बताए । ‘जस्तो कि रूपकात्मक प्रस्तुति, मिथकीय स्वैरकल्पनाको चास्नी र अभिधात्मक अभिव्यक्तिका साथै सौन्दर्य घटकको सुन्दर प्रदर्शनले गर्दा नै प्रेरणाका लघुकथाहरू रूपवान् बन्न सकेको उनको भनाइ थियो । उनले लघुकथा लेखनका अनेकौं चुनौतीबारे चिन्ता पनि जनाउदै भने ‘जेलाई पनि लघुकथा भनिदिने चलन बढ्दो छ । खासमा लघुकथामा ऐँजेरु पलाएको छ, यसले ठूलो हानि गर्न सक्छ ।’

नेपालमा उत्कृष्ट लघुकथा लेखक गन्ने हो भने पाँचवटा औंला पनि नभाँचिने उनको दाबी थियो । ‘तिनै थोरैमध्ये एक लघुकथाकार हुन् गोविन्द गिरी प्रेरणा’, उनले भने । रमाइलो पारामा प्रा.डा. श्रेष्ठले लेखक गिरीलाई आफ्नो नाम र थरको बीचमा ‘बहादुर’ थप्न सुझाव पनि दिए । देश विदेश जहा रहदा पनि लेखनमा उनले बहादुरी देखाइरहेको बताए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनले स्रष्टा प्रेरणाको लेखन सकृयताको चर्चा गर्दै समाजले कृति प्रकाशन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे ।

स्मरणीय छ, साहित्यकार प्रेरणाको यसअघि ६ कथासङ्ग्रह, ६ उपन्यास, पाँच कवितासङ्ग्रह, ४ यात्रा संस्मरण, दुई निबन्धसङ्ग्रह, एक समालोचना, एक हास्यव्यङ्ग्य, एक जीवनी र एक अन्तर्वार्ता गरी २७ पुस्तक प्रकाशित छन् । हाल विमोचित पुस्तक उनको २८औँ कृति हो ।

प्रतिक्रिया