शिव,शिवरात्री र शिव रात्रीको महत्त्व !

सीता ओझा २०८० फागुन २५ गते १०:५३ मा प्रकाशित

शिव सनातन धर्म जोडिएका पात्र मध्येका महत्त्वपूर्ण पात्रको रुपमा शिव/ शंकर/ भोले अर्धनारेश्वर भनेर मानिएको छ।

इश्वरीय परिकल्पनाका तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ता,मानवता, प्रकृति र पर्यावरणको सन्तुलनको भुमिका रहेको पात्रको रूपले चिनिन्छ।

सनानत धर्म र संस्कार हिन्दू धर्मका रुपमा विकसित हुँदै जानेक्रममा विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख इश्वर /देवता मान्ने गरेको पाइन्छ ।त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्ने चलन छ।शिवलाई प्रायःजसो शिवलिङ्ग पुरुष र महिलाको यौन सम्बन्ध र सृष्टिको निरन्तरता कायम राख्ने वातावरणलाई जीवन्त राख्ने क्रमको निरन्तरता रहिरहोस भनेर पूजा गर्ने प्रचलन छ।

शिवलाई वेदमा रुद्र भनेर मानिएको छ। शिवको चेतना स्तरलाई अन्तर्यामीमानिएको छ। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम सती र पार्वती हो। सतीले शिवलाई पिताले गरेको अपमान सहन गर्न नसकेको कारण पिताको यज्ञ उत्सवको अग्नीमा आत्मदाह गरेर मृत्यु भयो । सतीको मृत्युपछि लामो समय बैराग्य जीवन विताएपछि पार्वतीको पहलले पुन : शिवको विवाह पार्वतीसँग भयो ।

शिवको पार्वतीसँग विवाह भए पश्चात् शिव र पार्वतीका दुईवटा पुत्रहरू एक स्कन्द र गणेश लाई मानिन्छ ।

हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने विष्णु संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता ठानिएको छ। शि +वि = शिव मिलेर बनेको शिवको नामको “शि ” लाई हटाएमा “शव” शब्द बन्छ । यसरी अर्थ्याउँदा शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ भन्ने अर्थ लाग्छ।

शिवलाई देहमा ब्रह्माको स्थान मानेर शिरमा राखिएको छ। विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा राखिएको छ।यहि कारण शिवलाई शिवलिंगको रूपमा पूजा गरिएको हो।

शिवलाई अधिक रुपमा चित्रहरूमा योगीको भेषमा पूजा र लिंगको अस्तित्वको रूपमा राखिएको छ। लिङ्गको अस्तिले सृष्टि र योगीको भेषले बैराग्य जोडिएको छ। यस्तो बिम्बको संकेत मानव जीवनको जगतमा सृष्टि,सृष्टिसँग जोडिएका मानवको जन्म सुख,दुख र उसको कर्मको आधारमा भोग्नु परेको सबै कुरा जोडिएको छ। यो सँगै प्रकृति ,पर्यावर,महिला, पुरुषको अस्तित्व र संहारको प्रतिबिम्बको रुपमा हेरिन्छ ।

शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य शक्तिका केन्द्र ( देवहरू) भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिएको छ।

तीन शक्ति केन्द्र ( त्रिदेवहरूमा ) शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् । यिनी काल,महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीनमा राख्न सकेको कुरा देखाउन खोजेका छन्।

शिव देवत्वको पनि देवता भएका छ। उनलाई महादेव भन्नुको अर्थ ईश्वरका पनि ईश्वर भएको हो। त्यसैको सार रुप महेश्वर भनिएको जस्तो लाग्छ।

शिवका विशेषताहरू : तेस्रो आँखा ( चेतनाको आँखा)निलो घाँटी भएका (नीलकण्ठ),जटा परेको कपाल (जटाधारी)
शिरमा गंगा भएका (गङ्गाधर),शरीरमा खरानी धस्ने (भष्मांगर),बाघको छाला ओढ्ने (बाघम्बर),शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार),डमरू तथा त्रिशुल बोक्ने,साँढे (नन्दी) चढ्ने, कैलासमा बस्ने, सती र पार्वतीका पति इश्वरीय अंशमा जोडिएका महामानवका अनेकौं कथाहरु यथार्थपरक हुन् कि होइनन त्यो त थाहा छैन।कथाको रुपमा उभ्याइएको व्यक्तिले दिन खोजेको सन्देशको खोज्दा विश्लेषण गर्दा आफुले बिष पिएर अरुलाई प्राण जोगाउन सक्ने, विषलाई अमृतमय वातावरण बनाउन सक्ने, प्रकृति र पर्यावरण जीव,जन्तुसँगको मानव सम्बन्ध र सन्तुल त्यागि यायावर संरक्षक,रक्षक शिव जल जङ्गल र जमिनसँगको मानव सम्बन्ध, समुद्र मन्थन,मन्थनको विचमा उत्पन्न भएकी कन्या,कन्याप्रति पुरुषहरुको दृष्टिकोण ,विषको मानसँग सम्बन्धित कथाले मानव जीवनभित्र जोडिएका कथाहरुले मानव जीवन जीउन सहज बनाउन होस भनिएको छ । यस्ता भोगाइहरु नै मानव जीवन हो भन्ने सन्देश दिइएको छ।

त्रिशूल संस्कृत भाषाको शब्दार्थको हिसाबले एक परम्परागत हतियार हो । यो हतियार सनातनबाट हिन्दू हुँदै गर्दा हिन्दू धर्मको प्रतिक चिन्हको रूपमा प्रयोग भएको देखिन्छ ।

त्रिशूलमा धारिला तिनवटा चुच्चा देखिन्छ । तिनवटा धारिला चुच्चाहरूमा काठ, धातु अथवा बाँसको छडीको बिंड बनाएर त्रिशूल बनाइएको हुन्छ हिन्दू देवता शिवको हातमा त्रिशूल सदैव शोभायमान रहन्छ । यो शिवको प्रिय अस्त्र हो । शिवको त्रिशूल पवित्रता एवं शुभकार्यको प्रतिक हो । प्रायः सबै शिवालय (शिव मन्दिर)हरूमा त्रिशूल अनिवार्य रूपमा स्थापित गरिन्छ । धेरै जसो सुन, चाँदी र फलामको धातुबाट बनेको त्रिशूल शिवालयमा देखिन्छ । बिना त्रिशूलको शिवालय अधूरो हुन्छ । आफ्ना मनोकाङ्क्षाहरू पुरा भएमा शिवरात्री तथा अन्य शिव पूजनका दिनमा शिवलाई त्रिशूल अर्पित गरिन्छ । दशैंको नवरात्रका समयमा घरमा पनि घटस्थापना गरेर जमरा राखेको बेला त्रिशूलका चुच्चाहरूलाई दुर्गाको प्रतिक मानेर पूजा गरिन्छ ।

चैते दशैंका बेला पनि देवीका सबै अस्त्र सस्त्रहरूको साथमा त्रिशूलको पूजा गरिन्छ । त्रिशूलले शिवले आफ्नो छोरा गणेशको शिर काटेको कथा विभिन्न हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरेर अन्जान,अध्यारो अथवा पहिचान नजोडिएको अबस्थामा सन्तान माथि आक्रमण हुनसक्छ भन्ने संकेत देखिन्छ ।शिवसँग जोडिएको सर्प,डमरू,गंगा,जटा,गाँजा,भाङ्ग,चन्द्रमा,बाघको छाला,योग,ध्यान,,ध्यान ज्ञान,साधना र नरसंहार ताण्डव नृत्य सँगसँगसँगै पार्वतीको बहान सिंह,गणेशको बहान मुसो,कुमारको बहान मयुर,नन्दी भिरङ्गी,कैलाश,एकान्त आदि विषय निकै महत्त्वपूर्ण विषय र पक्ष रहेको छ।

मानिसको जीवनभित्र अपमान दुख र हैरानीका बिषहरु पिएर,आफ्नो सन्तानलाई अमृत प्राप्तिको लागि वातावरण बनाउने सबै मातापिताको सत्य अर्थमा शिवलाई प्रतिक मानिएको छ।

सीता ओझा
२०८०/०११/२५

प्रतिक्रिया