प्रियंवदा छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० चैत १५ गते २१:२१ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० चैत १० गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९९” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत प्रियंवदा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक विधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई प्रियंवदा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: प्रियंवदा छन्द :::::
~ गण :न भ ज र
~ गण सङ्केत : १११ २११ १२१ २१२
~ ४ र ८ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका प्रियंवदा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
रसिक छ्यौ, बहुत नै, प्रियंवदा
प्रणयको, गर कुरा, तिमी सदा ।
२.
नर बने, विजित नै, यहाँ सब
नगर भो, विजयको, कुरा अब ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
नगर ए मनुज त्याे कुरा ठुलाे
दिनदशा समयले लिए तुलाे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनीबेसी
[३]
१.
सुखद भै, कन त हेर मानव
हुन गएछ मति हेर दानव ।
२.
सजन छौ र पनि हेर आसमा
अघि बढौँ, युवक आज साथमा ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[४]
सरलता सफलता चुमेँ भनी
जल सरी बग तिमी सुखी बनी ।
✍️ आर्त अकुलीन
कैलाली
[५]
१.
नलिनु है विषयका तिखा छुरा
गर सखी रस भरी मिठा कुरा ।
२.
उपरमा अझ दया रहोस् सदा
भर ममा रस घडा यदा कदा ।
✍️ दीपा समभाव
काठमाडाैँ
[६]
१.
अबत त्यो जहर झैँ छ जिन्दगी
गलित दू’षित सरी  छ गन्दगी ।
२.
जति बढे उति लडे उँधै झरे
जन हरे अनलमा परी मरे ।
✍️ विवश पारदर्शी
झापा
[७]
१.
वन बुटा हरित यी  वसन्तले
समय छन् अझ खुसी र चन्चले ।
२.
प्रगति खै मुलुकको कता खियो
बल हुने युवक त्यो विदेशियो ।
✍️ चूडा निर्भीक
हालः काठमाण्डौँ ।
[८]
नभन भो हृदय नै जलाउँछ
मधुर त्यो वचनले गलाउँछ ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[९]
१.
सुरु भयो अब वसन्तको हरा
विपुल हर्षित भयो सबै धरा ।
२.
भुवन यो सतत हर्कले गरी
सुख सुवासित भयो मनैभरि ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[१०]
१.
नजरमा बस सखी, म माझमा
अधर यो किन बसे छ लाजमा ।
२.
नगर भाे अझ ढिलो त साँझमा
बस तिमी अब दिलै छ माझमा ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[११]
१.
गजब भो, तरल भो, यतै उतै
नजरको, रस घडा जता ततै।
२.
हरघडी, अधरमा,बिसाउँछ्यौ
नजरको बिषघडा मिसाउँछ्यौ ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[१२]
अजिब यो छ भन सत्य त्यो गयो 
जब रुने छ मन सम्झना भयो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१३]
प्रकृतिको नियममा हराउँदै
नयनमा नद बगे कराउँदै ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[१४]
सरल बन्न सिक लोकमा अनि
सहज हुन्छ दिन रात जीवनी ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया