निलीमा आचार्यको काव्यकृति “जूनको पर्खाइमा” लाई नियालेर हेर्दा

✍️ प्रदीप शर्मा गेलापोखरी विश्वनाथ असम २०८१ वैशाख २८ गते २२:०० मा प्रकाशित

समसामयिक भारतीय नेपाली काव्याकाशमा निर्भीक र स्पष्टवादी विचारधारा लिएर उदाएकी असम काउडीपथार निवासी चर्चित कवयित्री निलीमा आचार्यको काव्यकृति “जूनको पर्खाइमा ” अङ्ग्रेजी ५/५/२४ मा शोणितपुर जिल्लाको बडसोला (रुक्मिणी भवन)मा विमोचन भएको हो। यो उनको दोस्रो काव्यकृति तथा “रजत” उपन्यासपछि प्रकाश भएको तेस्रो मौलिककृति हो। पहिलो काव्यकृति “परिवर्तन र अन्य कविताहरू” प्रकाश भएपछि निलीमा निकै चर्चामा आएकी छिन्। प्रखर ऊर्जावान तथा मृदुभाषी कवयित्री कलम चलाउनमा पनि उत्तिकै खप्पिस छिन्। उनका कविताहरूमा सामाजिक चेतना, दलितहरूको करुण हाल, रूढिवादी विचारधाराको बिरोधाभाष,जातीय चेतना, नारी अस्मिता खोसिएकाजस्ता गतानुगतिक घटनाहरूको स्पष्ट र सजीव वर्णन छ। असमका चर्चित हास्य व्यङ्गकार अर्जुन निरौलाले इन्द्रेनी प्रकाशनको भएर दुईशब्द लेखेका छन्। उनी भन्छन् ” असमको नयाँ छिमलकी चर्चित लेखिका निलीमा नारीवादी र परिवर्तनकामी कविता लेखेर परिचित भएकी हुन्। उनको प्रस्तुत कविताकृति ‘जूनको पर्खाइमा ‘पनि कविको संवेदनशील मनको अनुभूतिको सँगालो हो, जसमा रुढीवादी सामाजिक परम्पराको बिरोध, कुसंस्कार र दुर्बल वर्गमाथि सामाजिक शोषण ,लज्जावोध हराइसकेको अवस्था, आधुनिकतामा मुछिने हडबडी, कुपोषण, युद्धको परिणाम आदि सजीव वर्णन भएकाले कविताहरूले कलात्मक ढङ्गले बोलेका छन्।” केही भन्नुपर्दा भन्दै कवियत्री भन्छिन्,”आफ्ना मनका अनुभूतिलाई व्यक्त गर्न प्रयास गरेकी छु। समाजमा घटेका घटनाहरूमा कल्पनाको रङ पोतेर प्रस्तुत गर्न प्रयास गरेकी छु।” फेरि आफूलाई हरेक क्षेत्रमा सहयोग गर्ने र हौसला दिने हितैसी आफन्तहरूप्रति आभार प्रकट गर्छिन्।

मोठ ४४ वटा कविता समावेश भएको यस कविता सङ्ग्रहको मूल्य २०० रूपियाँ तोकिएको छ। ‘चित्रलेखा’ले गरेको अर्थपूर्ण आवरणले पुस्तकको गरिमा बढाएको छ। प्रायजसो कविता नै मझौला आयामका छन् । यहाँ समसामयिक विषयलाई ध्यान दिएर कविता पस्किएकी छन्। उनका जम्मै कविता सलल्ल बगेको नदी झैँ गतिशील छन्। विषयवस्तुको उपस्थापन सही ढङ्गले भएको छ। सहजबोध्य छन् कविताहरू। मिथक र बिम्बको प्रयोग भएपनि पाठकले धेरैबेर घोत्लिनु पर्दैन।

उनी भन्छन् ” असमको नयाँ छिमलकी चर्चित लेखिका निलीमा नारीवादी र परिवर्तनकामी कविता लेखेर परिचित भएकी हुन्।

निलीमाका कविता पढ्दै जाँदा यथार्थवादी विचारधारा देख्न पाइन्छ। जनतामा जागरुकता नभएर कुनैपनि काम समयमा हुन नसकेको देखेर कवि मन मौन हुन सकेन। फेरि आजको स्वार्थी मानिसलाई शब्दवाणले दह्रो झट्टारो हान्दै उनी भन्छिन् ——-

सबै काम समयमै हुन्छन्
मात्र खडा हुँदैन
वर्षदिनअघि लडेको त्यो बिजुलीको खाँबो

सबैको काम,तर मेरो होइन
सबैले गर्ने,तर मैले होइन
सबैको हो,तर कसैको होइन।(गोधूलि)

हर अप्राप्तिलाई अँगाल्ने बानी परेकाले कविका पाइला कहिल्यै पछि सरेनन्। सुख र दु:खका पलहरू अतिक्रम गरेर अघि बढ्ने हिम्मत छ कविमा। उनको विचार यस्तो छ——

मेरो हाँसो र रोदन
मसँगै छोडिएको छ

घाटाहरू जति थपिँदै जान्छन्
आशाहरू त्यति खारिँदै जान्छन् ( हिसाब)

नयाँ साल मनाउने निहुँमा उशृङ्खलता र अपसंसकृति अपनाउन बिल्कुल मन पर्दैन कविलाई। उनीमा नयाँ साल मनाउने इच्छा नभएको होइन। तर सोच बदलाउनु भने कवि नयाँ साल मनाउन प्रस्तुत छिन्।

अँ, तपाइँ मलाई आश्वासन दिनुहुन्छ भने
म पनि मनाउँछु नयाँ साल

दिनुहोस् न मलाई आश्वासन
युवाहरूले मदिरा नपिउने
जिन्दगी बेहोस भएर होइन
होसमा जिउँने (नयाँ साल)

मानिस सहरमुखी भएर पुरानो परम्परा, रीतिरिवाज बिर्सिँदै गएको देखेर गुनासो छ कविलाई।यस्तो परिवर्तन देखेर उनी भन्छिन्——

गाउँको त्यो भानुमञ्च पनि बिरानो भएको
धेरै वर्ष भयो
युवा मूभीमा व्यस्त छन्
बच्चाहरू अडिसन दिन
सहर दगुरेको दगुरै छन्
…………………..
अफसोस !
गाउँमा सिलोक हाँक्ने चलन पनि
अबदेखि उठ्नेपर्यो ‌‌ (अरू सब ठिकै छ)

आफ्नो व्यस्तताले गर्दा मानिसले हिजोआज ईश्वरलाई प बिर्सिसकेको देखेर उनी यसरी आवाज उठाउँछिन् —–

मन्दिरको नजिकै छ उसको महल
तर ऊ ईश्वरदेखि धेरै टाढा छ (एफ.आई.आर)

बाहिरी अवयव हेरेर मानिसलाई चिन्न गाह्रो छ हिजोआज। कलकलाउँदा कोपिलाहरू फष्टनै नपाई राक्षसहरूको सिकार भएका छन्। यस्तो अमानवीय कार्य देखेर विह्वल हुन्छ उनको मन। अनादि कालदेखि अपशक्तिहरूको ताण्डव चलेको छ यो धर्तीमा। यस्ता अधमहरूको चपेटामा परेर धेरैले ज्यान गुमाएको दुखेसो छ कविमा। खोक्रो स्वाभिमान बचाउन मानिस पलायनवादी भएर असुरहरू सधैँ जीवित भएका हुन्। ऐनको धीमा गतिले गर्दा एकपछि अर्काे दानवीय कार्य देखापरेको हो। जबसम्म एन्काउन्टर हुँदैन अमानवीय कार्य गर्ने पिशाचहरू दोहोरी नै रहन्छन्

टुसाउनै नपाइकन यसरी
किन निमोठिन्छन् सपनाहरू
किन नाङ्गिन्छन्
किन चिथोरिन्छन्
जीवनका हरेक मोडमा यिनीहरू?

सपनाहरू देवदासी बन्ने परम्परा पनि उहिलेको हो
खोज्नुहो भने आज पनि पाइन्छन् होला
देवालयहरूमा
कुनै जटाधारीको सिकार भई बसेका देवदासीहरू
हो, यस्ता दैत्य आँधी राम कृष्णको दिनमा पनि चल्थे
आज पनि चलिरहेका छन् (एन्काउन्टर)

नारीलाई परनिर्भरशील नभएर स्वावलम्बी हुने सल्लाह दिन्छिन् कवियत्री।उनी भन्छिन्

यो समाज मसान बन्छ भन्नेलाई भन्नदेऊ
आफ्नो अस्तित्वलाई चिन
सबल बन
हेर, तिमी सबल बन्यौ भने
कुनै पिशाचले तिम्रो शोषण गर्न सक्दैन
सक्दैन जिस्काउन बिच सडकमा (एन्टिम्यारिज)

विस्वासघातको पीडा सुन्दर काव्यशिल्पले व्यक्त गर्न सारै सिपालु छिन् कवियत्री।

जुन सियो मैले फाटेको मन सिलाउन राखेको थिएँ
भत्किएको माला बुन्न साँचेकी थिएँ
हिजोआज कहिलेकाहीँ मुटु च्वास्स चस्किने गर्छ
त्यही सियो फुत्त निस्किएर
घरीघरी घोच्छ मलाई। (ढुकुमुकु ढुकुमुकु कसको हात)

समाजमा जरा फिँजाइसकेको विशृङखल वातावरण देखेर कविमन व्याकुल भएको छ। हक बोल्न उनी कहिल्यै पछि सर्दिनन्।
उनी मनको उद्गार यसरी पोख्छिन्

हिजोआज बैशाख आउनलाई
माइक र डाइस चाहिन्छ
उन्मुक्त मन अनि मदिरा चाहिन्छ। (बैशाख आउँछ)

कविको सोच कहाँ पुगेको छैन र? चाप्लुसेहरूको चपेटामा परेका पीडित असहाय नारीको मर्मवेदना उपलब्धि यसरी व्यक्त गर्छिन् –

मात्रै, मात्रै मेरो रसपान गर्नका निम्ति
मेरो हेरचाह गरेका रहेछन्
. . ‌‌…………………..
मेरो शरीरलाई चुसेर
मेरा खोसेल्टाहरू फ्याँकिदिए
मेरो रसपान गरी
मलाई खोक्रो बनाए
………………
मलाई दुखाएर खुसी हुने
कस्तो महान तिमी? (म उखु बोल्दैछु)

कपटताले लतपतिएको छ आजको देशदुनिया। त्यसैले कविमन विद्रोही हुन्छ

गोजिमा राखेको वाणिज्यिक मुस्कान
फुत्त झिकेर ओठमा लिप्दै
एउटा मिठो असत्य गीतको
तानपुरा छेड्ने प्रयास गर्छ
मेरो देश। (शब्दब्रह्म)

“जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि” भनेझैँ कविहृदय कहाँ पुगेको छैन र? विधवाको मर्मवेदना उपलब्धि गर्ने धेरै हुन्छन्, तर विधुरको मन शोकमा आतुर भएको कसले देख्ने? त्यसैले विधुरको आर्तनाद उपलब्धि गर्नपुगेको छ उनको अनुभवी कलम

रातको अँध्यारोमा सिरानी भिजाएर रुन्छ
मर्दलाई पनि दर्द हुन्छ
तर ऊ प्रकट गर्दैन (विधुर)

समाजका एकश्रेणी कामुक पाखण्डीहरूको चपेटामा परेर आफ्नो सर्वस्व गुमाएका नारीहरूको सजीव चित्रण यस्तो छ

हिजो राति मलाई धेरै कुकुरहरूले टोके
सर्वशरीरमा घाउ नै घाउ पारे। ( पगली)

तर एउटी विवश नारीलाई वासनाको सिकार बनाउने बलत्कारीहरूलाई कवि पागल भन्छिन्

कामुक
पाखण्डी
पागल ती हिजो रातिका कुकुरहरू हुन्
मानसिक सन्तुलन गुमाएर एउटी विवश नारीलाई
जसले आफ्नो वासनाको सिकार बनाए (पगली)

समग्रमा भन्नुपर्दा निलीमा आचार्य साहित्यको मलिलो भूमिमा आफ्नै तरिकाले बाली उब्जाउन सफल भएकी छिन् । उनका जम्मै कविता रोचक छन्, पठनीय छन्। प्रखर काव्यप्रतिभा झुल्किएको छ उनका कविताहरूमा ‌। शब्द प्रयोगमा सारै सिपालु छिन् कवियत्री।आगन्तुक शब्द र ठेट नेपाली शब्दको प्रयोग पनि सही तरिकाले गरेकी छिन् । धेरैजसो कविताले नै केही न केही सन्देश बोकेका छन् । समन्वय र सम्प्रीतिको भावनाले समाज विकशित गर्न सकिन्छ भन्ने पूर्णविस्वास छ कविमा। उनको सोच सकारात्मक छ ‌। प्रस्तुत कविता सङ्ग्रहमा उद्यम र साहस भरिएका प्रचुर सम्भावना छन्। घरको चार दिवारमा बाँधिएर हैन, नारीलाई समाजका पर्खालहरू नाघेर स्वाधीन जीवन जिउँने प्रेरणा दिन्छिन् उनी। हिन्दी, अङ्ग्रेजी र असमिया भाषाका आकर्षक उद्धृति प्रयोग गरेर कविताको अर्थ अझ मजबुत बनाउन खोजेकी छिन्। परिपक्व भावनाले छताछुल्ल छन् धेरैजसो कविताहरू। बिम्ब, प्रतीक र उपमाको प्रयोग यथास्थानमा भएकाले कविता पढ्दैजाँदा कतै खल्लोपन हुँदैन। उनको भित्रीमनको आवाज छर्लङ्ग भएको छ। शब्द चयन उत्तम छ। हिज्जेमा विषेश ध्यान दिएको देखिन्छ। कविता सहजबोध्य भएकाले साधारण पाठकले पनि अनायासै हृदयङ्गम गर्न सक्छन्। अन्त्यमा उनको सृजनात्मक गति अविराम चलिरहनेछ भन्ने दृढ विश्वास राख्दै कविलाई अनेकौं शुभकामना ज्ञापन गर्दछु।

प्रतिक्रिया