दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, ४५० खेलाडीहरुले भाग लिदै

इनेप्लिज २०८१ वैशाख ३१ गते २३:४२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

गत बर्ष “प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता” लाई भब्य रुपमा सम्पन्न गर्न सफल भएको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोले यस पटक पनि भव्यताको साथ सम्पन्न गर्ने भएको छ ।

एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ यहि आउँदो मे १८, २०२४ शनिवारका दिन “दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता” को आयोजना गर्नेछ ।

प्रतियोगिताको लागि सम्पूर्ण आवश्यक तयारीहरु पूरा भएको जानकारी प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो बिद्यालयका संचालक वरिष्ठ मास्टर कुमार कार्कीले एक बिशेष कार्यक्रमका बीच सार्वजनिक जानकारी गराए ।

प्रतियोगितामा गेरुगी तर्फ (वर्ल्ड क्लास र ओपन डिभिजन) तथा पुम्से तर्फ (स्पोर्ट पुम्से र ओपन पुम्मे) गरी चार वटा विधामा ४५० भन्दा वढी खेलाडीहरुले आ-आफ्नो समूहमा प्रतिस्प्रद्धा गर्दैछन् ।

प्रतियोगिता संचालन गर्नका लागि मेरिल्याण्ड, बाल्टिमोरमा रहेको सिसिबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिम्नजियममा रहेको सुविधा सम्पन्न हलमा ८ वटा कोर्ट रहने छन । जसमा ४ वटा कोर्टमा वर्ल्ड क्लास तर्फका खेलाडीहरुले प्रतिस्प्रद्धा गर्ने छन भने बाँकि ४ वटा कोर्टमा ओपन डिभिजन(खुला प्रतियोगिता) तर्फका खेलाडीहरुले प्रतिस्प्रद्धा गर्ने छन ।

गत बर्षको सफल प्रतियोगिताको कारण यसबर्ष पनि संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुबाट हालसम्म ४५० जना खेलाडीहरुले प्रतियोगिताको निमित्त आफ्नो नामावली दर्ता गरी सकेको र खेलाडी दर्ता गर्ने क्रम अझै केहि दिन जारी नै रहेको उनले जानकारी दिए ।

प्रतियोगिता संचालनका लागि करिव ९ जना अन्तर्राष्ट्रिय निर्णायकहरु समेत गरी जम्मा ३५ जना भन्दा बढी निर्णायकहरुको नामावली समेत संकलन भई सकेको निर्देशक मास्टर कार्कीले जानकारी दिए ।

कार्कीको विशेष पहलमा संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा, “एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसन” नामक गैह्र नाफा मूलक सँस्था समेत दर्ता गरेका छन । उक्त सँस्थाको महासचिवमा मास्टर रिचार्ड आईफोला (Richard Iafolla) रहेका छन भने संरक्षकमा स्वयं सिनियर मास्टर कुमार कार्कीका साथै अन्य नेपाली तथा विदेशी तेक्वान्दो खेलका मास्टरहरु यस सँस्थामा रहेका छन ।

आगामी वर्षहरुमा नियमित रुपमा उक्त सँस्था मार्फत नै प्रतियोगिताहरु संचालन गरी नेपालमा तेक्वान्दो खेलको विकास तथा विस्तारका साथसाथै अन्य खेल लगायत नेपालको विभिन्न पिछडिएका ग्रामिण बस्तिहरुमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा समेत सहयोग गर्ने उक्त सँस्थाको उद्देश्य रहेको मास्टर कार्कीले बताए ।

विगत तीन दशक देखि तेक्वान्दो खेलमा अनवरत रुपमा लागि रहेका सिनियर मास्टर कुमार कार्कीले सन् २०१५ देखि संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोमा “एभरेष्ट वर्ड क्लास तेक्वान्दो” स्कुल संचालन गर्दै आएका छन । जुन स्कुलमा ४ बर्षदेखि ७३ बर्षसम्मका २५० जना खेलाडीहरुले नियमित रुपमा प्रशिक्षण लिदै आएको कुरा उनले बताए ।

उक्त स्कुलको संचालन,व्यवस्थापन तथा प्रशिक्षणका लागि उनलाई दह्रो साथ उनकै श्रीमती मास्टर कल्पना कार्की (पाचौं डिग्री व्ल्याक वेल्ट) को रहेको छ । मास्टर कल्पना नेपालको पूर्व राष्ट्रिय खेलाडी समेत हुन भने उनको छोरी मास्टर क्रिषा कार्की (चौथो डिग्री व्ल्याक वेल्ट) ले समेत बाल्यकालदेखि नै उक्त स्कुलमा खेल्ने तथा खेलाउने काम गर्दै आएकी छिन ।

हरेक व्यक्ति सफलतामा परिवारको महत्वपूर्ण भूमिका अति आवश्यक रहन्छ जसका लागि उनले परिवारबाट भरपूर साथ र सहयोग पाएका छन । यसका साथै उक्त स्कुलमा लामो समयदेखि माष्टर दिनेश श्रेष्ठले प्रशिक्षण दिदै आएका छन भने हाल मास्टर गोपाल भण्डारी, मास्टर डव्ल्यू, मास्टर आईफोला , मास्टर संजिव नेपाली लगायतका रहेका छन् ।

साथै मास्टर कार्कीले संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया लगायत अन्य राज्यहरुमा समेत तेक्वान्दो स्कुल संचालनका लागि अन्य नेपाली तथा विदेशी तेक्वान्दो कर्मीहरुलाई साथ, सहयोग एवं विविध प्राविधिक कुराहरुको प्रशिक्षण दिदै आएका छन ।

प्रतिक्रिया