विदेशमा आर्जित ज्ञानले जन्मथलोलाई सेवा गर्दै डा. सन्देश लम्साल

इनेप्लिज २०८१ जेठ १ गते २३:०३ मा प्रकाशित

काठमाडौं– एउटा अनौपचारिक तथ्यांक अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झण्डै ३५ हजार डाक्टरहरूमध्ये आधाभन्दा बढीले देश छाडिसकेका छन् । उत्कृष्ट जागिर, सुरक्षा र तलबको खोजीमा हरेक वर्ष हजारौं डाक्टरहरू विदेशिन बाध्य हुन्छन् । धेरैजसोको गन्तव्य अमेरिका हुन्छ भने अन्यहरूले बेलायत, अष्ट्रेलिया, युरोप र केही खाडी मुलुकहरूलाई रोज्न रुचाउँछन् ।

नेपालमा डाक्टरहरुको तलब र कामको भारसँग विदेशको तुलना गर्न सकिँदैन । नेपालमा डाक्टर बन्न लगभग १० देखि १५ वर्षको मेहनत र लाखौं रुपैयाँ खर्च लाग्छ, तर औपचारिक तलब ५० हजार रुपैयाँ प्रतिमहिना पनि नहुँदा धेरै नेपाली डाक्टरहरुका लागि विदेशिनुको विकल्प देखिँदैन ।

साथै यहाँ शारीरिक, सामाजिक, पेशागत, आर्थिक र करियर सुरक्षाको अभावका कारण धेरै युवा विद्यार्थीहरू विदेशमा अध्ययन र बसोबास गर्न आकर्षित हुन्छन् ।

यस्तो प्रवृत्तिको विपरीत, डा.सन्देश लम्सालले विदेशमा आर्जित ज्ञानबाट नेपालमा एक देशभक्त डाक्टर र नेपाली लोकप्रिय सामाजिक व्यक्तित्वको रूपमा आफ्नो छाप छोडेका छन् । उनको यो योगदानले नेपाली जनमानसको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण प्रभाव पारेको छ ।

वि.सं. २०७० मा तुलसी इङ्लिश स्कूलबाट उच्च शिक्षा पूरा गरेका डा. लम्सालले सन् २०१४ सेप्टेम्बरमा रूस सरकारबाट एमडी (एमबीबीएस) अध्ययनका लागि छात्रवृत्ति हासिल गरे । रूसको सेन्ट पिटर्सबर्गमा सात वर्षको बसाइमा उनले नेपालको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति, भाषा, परम्परा, खाना र भूगोलको प्रचार–प्रसार तथा प्रवर्धन गर्ने अवसर पाए । साथै खेलकुदमा रुचि भएका उनले सन् २०१४ मा कोरियाबाट ताइक्वान्डोमा प्रथम डन ब्ल्याक बेल्ट तथा सन् २०१८ मा दोस्रो डन ब्ल्याक बेल्ट प्राप्त गरे ।

डा. लम्सालको नेपालप्रतिको समर्पणलाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न वर्तमान र पूर्व राष्ट्रिय व्यक्तित्वहरूले पनि उच्च मूल्यांकन तथा सराहना गरेका छन् ।

उनी विभिन्न ग्रामिण स्वास्थ्य शिविरहरुमा सहभागी भई नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिँदै आएका छन् । फलस्वरुप, उनको स्वास्थ्य क्षेत्रको योगदानलाई उच्च कदर गरेर विभिन्न सामाजिक तथा राजनितिक संघ–संस्थाहरुले बेला–बेलामा सम्मान गर्दै आएका छन् ।

कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि डा. लम्सालले सामाजिक दूरी, कोभिड–१९ रोकथाम तथा सुरक्षा उपायहरूको बारेमा विभिन्न सूचनात्मक भिडियोहरू र पोस्टहरूमार्फत सक्रिय योगदान गरेका थिए । उनका विभिन्न स्वास्थ्य सम्बन्धी विषयहरूका सूचनात्मक लेखहरू राष्ट्रिय मिडिया आउटलेटहरूद्वारा प्रकाशित भएका छन्, जसले उनको पहिचान विश्वव्यापी रुपमा समेत फैलाएको छ ।

डा. लम्साल इन्स्टाग्राममा १ मिलियन फलोअर्स पार गर्ने पहिलो नेपाली पुरुष तथा डाक्टर हुन् र हालैमा उनको प्रोफाइल भेरिफाइड पनि भएको छ ।

विदेशमा शिक्षा प्राप्त गरेपनि डा. लम्सालको हृदय आफ्नो जन्मथलोको सेवामा समर्पित छ । हाल उनी तुलसीपुर, दाङको राप्ती प्रादेशिक अस्पतालको हाड जोर्नी तथा नसा सम्बन्धि विभागमा चिकित्सकको रूपमा सेवा गरिरहेका छन् । युवा अवस्थादेखि नै सामाजिक सेवामा उत्साहित डा. लम्सालले आफ्नो गृहनगरका मानिसहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दा अत्यधिक सन्तुष्टि महसुस गर्छन् । उनी आफ्नो जिल्लाका बिरामीहरूलाई सेवा गर्न पाउँदा गौरवान्वितसमेत छन् ।

डा.लम्सालले समाजमा विद्यमान विभिन्न कुरिति, अन्धविश्वास, असमानता तथा अन्यायविरुद्ध आफ्नो बेजोड आवाज उठाउॅदै आएका छन् । हालसालै पनि एउटा दन्त मञ्जन कम्पनी कोलगेटको विज्ञापनमा डाक्टरलाई गैर जिम्मेवार र अल्छीको रुपमा प्रस्तुत गरिँदा त्यसको खण्डन गर्दै माफीको मागका साथ विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरूमा आफ्नो भनाइ उठाएका थिए ।

डा.लम्सालले समय–समयमा डाक्टरहरुमाथि भइरहने दुर्व्यवहार तथा हातपातको निन्दा गर्दै स्वास्थ्यजस्तो एउटा संवेदनशिल पेशामा सरकारको विशेष ध्यानाकर्षण रहनु पर्ने जनाउँदै आएका छन् । पेशागत सम्मान र सुरक्षाको मागका साथ उनले विभिन्न र्यालीहरुमासमेत आफ्नो सहभागिता देखाउने गरेको पाइन्छ ।

मातृभूमिप्रतिको समर्पणको एक उत्कृष्ट उदाहरण डा. सन्देश लम्सालले विश्वव्यापी ज्ञान र स्थानीय सेवाबीच सामञ्जस्यपूर्ण सन्तुलन कायम गर्दै नेपालप्रतिको आफ्नो अटल प्रतिवद्धतामार्फत अमिट छाप छोडेका छन् ।

नेपालमा युवा विद्यार्थीहरू तथा डाक्टरहरूलाई गुणस्तरीय शिक्षा, सामाजिक, आर्थिक र शारीरिक सुरक्षा प्रदान गर्न सके धेरै सन्देशहरू नेपालमा यस्ता उदाहरण बन्ने थिए भन्ने कुरामा दुईमत छैन ।

– कलाकर्मी बाट

प्रतिक्रिया