डा. बरालको ‘शिक्षा चिन्तन’ पुस्तक बजारमा

इनेप्लिज २०८१ जेठ ५ गते ९:५५ मा प्रकाशित

काठमाडौं, नेपाल ।

शिक्षा क्षेत्रमा कलम चलाइरहने डा. खगराज बरालको बाईसौं पुस्तक शिक्षा चिन्तन बजारमा आएको छ । विद्यालय शिक्षाको प्राथमिक तहदेखि नेपाल सरकारको शिक्षा सचिवको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका बराल शिक्षा क्षेत्रका सिद्धहस्त लेखक हुन् । उनले यस पुस्तकसहित शिक्षा क्षेत्रसँग सम्बन्धित तेह्रओटा पुस्तक लेखेका छन्ः ‘शिक्षा व्यवस्थापनका नवीन आयामहरू’, ‘केही शैक्षिक मुद्दाहरूः तेस्रो आँखाबाट नियाल्दा’, ‘शैक्षिक विमर्शः वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’, ‘शैक्षिक विचरण’, ‘केही शैक्षिक प्रबन्ध’, ‘शैक्षिक दृष्टार्थ’, ‘शिक्षा र सिकाइः सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’, ‘सिकाउने शैली’, ‘सिकाइ र सहयोग’, ‘शिक्षाको दर्शन’, ‘नीति र व्यवहार’, ‘दर्शन, शिक्षा र आचरण’, ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन (गुरुकुल तथा आधुनिक शिक्षा)’ र ‘शिक्षा चिन्तन’ । डा. बरालले श्रमिक बरालको नामबाट समेत साहित्यिक पुस्तक लेखेका छन् । बराल सिद्धहस्त गीतकार पनि हुन् । उनले दुई सय पचासभन्दा बढी गीत लेखेको छन्, त्यसमध्ये झण्डै दुई दर्जन गीतहरू रेकडिङ पनि भएका छन् ।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको डा. बरालको ‘शिक्षा चिन्तन’ पुस्तकमा तीन अध्याय रहेका छन् । पहिलो अध्यायमा प्राच्य दर्शन र शिक्षा, दोस्रो अध्याय आधुनिक शिक्षा र तेस्रो अध्याय योजना र नेतृत्व विषयमा तीन अध्याय विभाजन गरिएको छ । तीन अध्यायमा शिक्षासँग सम्बन्धित चौध विषयका विस्तृत लेखहरू रहेका छन् । पूर्वीय दर्शनदेखि आधुनिक शिक्षाका विश्वविद्यालय र विद्यालय शिक्षामा लेखहरू केन्द्रित छन् ।

शिक्षा क्षेत्रमा रुचि भएका सबैका लागि यो पुस्तक पठनीय छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी देखिन्छ । दुई सय अठ्तालिस पृष्ठको यो पुस्तक मूल्य ४९०÷– रुपैयाँ रहेको यो पुस्तक वैशाखको अन्तिम साता बजारमा आएको हो ।

पुस्तकः शिक्षा चिन्तन
विधाः गैह्र आख्यान
लेखकः डा. खगराज बराल
प्रकाशकः भुँडीपुराण प्रकाशन
संस्करणः पहिलो (२०८१)
पृष्ठः २४८
मूल्यः रु. ४९०÷–

प्रतिक्रिया