क्यानडा व्यापी सकर प्रतियोगिता सम्पन्न

सुरेन उप्रेती एडमण्टन क्यानडा २०८१ जेठ १५ गते ३:५६ मा प्रकाशित

यही मे १८ र १९ तारिख २०२४मा अल्बर्टा प्रान्तको राजधानी एडमण्टनमा क्यानडा व्यापी सकर प्रतियोगिता सम्पन्न भएको छ । क्यानडाका बिभिन्न शहरमा रहेका नेपाली फुटवल ‌(सकर )खेलाडीहरूलाई प्रतियोगितामा सामेल गरेर हिमालय रकी स्पोर्टस क्लब HRSCले सकर प्रतियोगिता गरायो । क्यानडाका बिभिन्न शहरबाट पुरूष तर्फ पन्ध्र टिम र महिलातर्फ दुई टिम गरी सत्र टिमले प्रतियोगितामा भाग लिएका थिए । अन्टारियो, क्यालगरी, लेथब्रिज, बृटिसकोलम्बिया, र एडमण्टनका बिभिन्न भागमा बस्ने खेलाडीहरूले आआफ्ना उत्कृष्ट दक्षताहरू खेलमा प्रदर्शन गरे ।

हिमालयन रकी स्पोर्टस क्लब एडमन्टनले बिगत आठबर्ष देखि गोरखाकप सकर प्रतियोगिता गराउँदै आएको थियो । डा आइ गुरूङको नेतृत्वमा सन २०१६मा हिमालय रकी स्पोर्टस क्लब HIMALAY- ROCKY- SPORTS- CLUB (HRSC)को स्थापना भयो । यो क्लबले क्यानडाका नेपालीहरूलाई एकठाउँमा जुटाउनका लागि निरन्तरूपमा गोरखा कप सकर प्रतियोगिता गराउँदै आएको छ । डाक्टर आइ गुरूङ आफैँ एक सकर खेलाडी पनि हुनु हुन्थ्यो । सकर खेलको एक कौशल योजनाकार पनि हुनु हुन्थ्यो । HRSCले कहिले सकरका अतिरिक्त भलिवल प्रतियोगिता पनि गराउँदै आएको छ । HRSC मार्फत डाक्टर
आइ गुरूङले वालबालिकाहरू र यूवाहरूलाई अशल बाटोमा लाग्नका लागि प्रेरित गर्दै आउनु भएको छ । तर डाक्टर आइ गुरूङको असमायिक महाप्रस्थानले हिमालय रकी स्पोर्टस क्लब HIMALAY- ROCKY- SPORTS- CLUB (HRSC)लाई मात्र हैन सिँगो क्यानडाका नेपालीहरूलाई परिवारको सदस्यगुमाएको झैँ शोकमा डुवायो ।

उहाँको महाप्रस्थान भए पछी हिमालय रकी स्पोर्टस क्लब HIMALAY- ROCKY- SPORTS- CLUB (HRSC)ले गोरखा कपलाई डाक्टर आइ गुरूङको सम्मान र सम्झनामा डाक्टर आइ गुरूङ मेमोरियल गोरखा कप राख्ने घोषणा गर्यो । HRSCको यो कार्यलाई एडमन्टनबासीहरूले मात्र नभएर क्यानडाका सबै नेपालीहरूले सम्मान पूर्वक लिए र सहयोगमा जुटे । यसैको फलश्वरूप डाक्टर आइ गुरूङ मेमोरियल गोरखा कफ मिलउड स्पोर्टस् पार्कमा सकर प्रतियोगिता सम्पन्न भयो । स्थानिय व्यक्तीहरू, व्यापारी र व्यवशायीहरू, संघ संस्था, नेल्का, वाबो, एनआरएनए निकासे आदिले सहयोग गरे । त्यस्तै गरी अल्वर्टा प्रान्तका प्रिमियरले पनि सफलताका लागि शुभकामना सन्देश दिनु भएको थियो । त्यस्तै गरी क्यानडाका लागि नेपाली राजदूतावास परिवारको नेतृत्व गर्दै महामहिम राजदूत भरतराज पौडैल र प्रथम सचिब रोजिना ताम्राकार सहित टोलीआएर हौसला प्रदान गरेको थियो ।

उक्त अवशरमा नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको नेपाली राजदूतावासले शिविर संचालन गर्दै पासपोर्ट, भिसा, नागरिकता, नामसारी, वारेसनामा जस्ता महत्वपूर्ण कार्य गरेर नेपालीहरूलाई सुविधा प्रदान गर्यो ।प्रतियोगितामा बिजय खेलाडीहरूलाई महामहिम राजदूत भरतराज पौडेलले ट्रफि तथा मेडलहरू प्रदान गर्नु भएको थियो ।

सकर प्रतियोगितालाई बिभिन्न समूहमा गराइएको थियो । पुरूष तर्फ खुल्ला समूह ,तीस बर्ष माथिको समूह ,र चालिस बर्ष माथिको समूहमा प्रतिष्पर्धा गराइएको थियो । खुल्ला समूहमा बोडरव्वाइज एडमण्टनले प्रथम भई चारहझार (४०००) डलर नगद, ट्रफी तथा मेडलहरू प्राप्त गर्यो । त्यस्तै गरी खुल्ला समूहको रनर अप भएर ला रोयल लेथव्रिज टिमले दोश्रा भई नगद एकहजार पाँचसय ( १५००)डलर र मेडलहरू प्राप्त गर्यो । तीस बर्क्ष माथिको प्रतियोगितामा हिमालयन स्टाइगर अनटारियोले प्रथम स्थान ल्याई नगद चारहजार (४००० ) डलर नगद ,ट्रफी तथा मेडलहरू प्राप्त गर्यो । सोही समूहको रनरअप अन्टारियोकै ब्राम्सागा यूनाइटेड टिमले नगद दुईहजार (२००० )डलर र मेडलहरू प्राप्त गर्यो । त्यस्तै गरी चालिस प्लस समूहमा HIMSOC भेन्कुभर टिमले प्रथम स्थानमा बिजयी भई नगद तीनहजार (३०००) डलर ट्रफी र मेडलहरू प्राप्त गर्यो । यस समूहमा रनरअपको स्थान लिन सफल सगरमाथा स्पोर्टस् एण्ड सोसियल क्लब क्यालगरीले नगद एकहजार १००० डलर र मेडलहरू प्राप्त गरेको थियो ।

महिला तर्फको खेलमा जंगी वुमेन्स टिम एडमण्टनले प्रथम स्थानमा बिजय प्राप्त गरी नगद तीन सय ३०० डलर ट्रफी र मेडल प्राप्त गर्यो ।

रनरअपमा रहेको माछापुच्छ्रे एफसीले नगद दुईसय पचास २५० डलर सहित मेडलहरू प्राप्त गरेको थियो ।

उक्त प्रतियोगितामा साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । पानी झरीले निकै चिसो बनाए पनि खेलाडीहरूले कठोर परिश्रमका साथ खेलेका थिए । पहिलो दिनको खेलपछी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । स्थानिय कलाकारहरूले आफ्ना प्रतिभाहरू प्रस्तुत गरी दर्शकहरूलाई मनोरंजन दिएका थिए । नेपाली गीत संगीतले नेपालमै पुगेको आभास भएको थियो । प्रथम दिनको उद्घाटन सत्रमा एनआरएनका अध्यक्ष माधव दुलाल ,भुवन खरेल, सन्तोस दाहाल आदिले आफ्नो विचार राख्नु भएको थियो । आइ गुरूङको सम्झना र सम्मान गर्नु भएको थियो ।

कार्यक्रमको समापन र पुरस्कार वितरण गर्दै क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौडेलले आयोजकहरूलाई धन्यवाद दिँदै यस प्रकारका खेलकुदहरु संचालन गर्दा आत्मियता सत्भाव बढ्ने छ । एकता बढ्ने र शाररिक र मानशिक रूपमा समेत स्वास्थ हुने कुरा बताउनु भयो । प्रवासमा रहेका नेपालीहरूलाई आवश्यक सरसहयोग गर्न दूतावास सदैब तत्पर रहेको कुरा जानकारी दिनु भयो । कोष्ट टु कोष्टमा पुगेर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहजता होस भनेर नै यो टोलीले सेवा पुर्याएको कुरा बताउनु भयो । हिमालयन रकी क्लबका बिकी आचार्य, सुनाल ओझा, आभास तिम्सिना, अभिशेक दाहाल ,अध्यक्ष दिलिप अन्छाङबो लिम्बुलगायत सम्पंर्ण पदाधिकारीहरु र स्वयँसेवकहरूको कडा मेहनतले प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा सबै सहयोग दाताहरू, सहभागीहरू, खेलाडीहरू, नेपाल राजदूत परिवार र संघसंस्थालाई HRSCका अध्यक्ष दिलिप लुम्बुले धन्यबाद दिनु भयो ।

प्रतिक्रिया