खत्तमै भयो नि।यस्तो तालले कहिले उँभो लाग्ने हो ? दिनभरको गर्मीबाट राहत पाउन साँझ चौतारोमा भेला भइ रेडियोमा समाचार सुन्दै गरेका जेष्ठ नागरिकहरुको बिचबाट एक जनाले निराश भाव सहित आक्रोश व्यक्त गरे।
देश त हरिकङ्गाल नै बनाए। यीनैका कारण युवा जति विदेशिए।गाउँका खेतबारी सबै बाँझिए।देशमा उत्पादन केही छैन।जम्मै चिज विदेशबाट खरिदनु पर्ने।यता वनमा काठ कुहेका छन् उता विदेशबाट आयात हुन्छ।पहिले हामी सानो छँदा कोरीयामा समेत नेपालले चामल बेच्ने गर्थ्यो भन्थे।अहिले त छ छ महिनामा सरकार फेरिन्छ।स्थिरता नै छैन अनि कहाँबाट हुन्छ विकास ? उनको कुरामा सहि थाप्दै अर्कोले कुरा थपे।
समकालिन समाज र देशको स्थिती बारे व्यापक मन्थन गरिरहेका थिए बुढाहरु।
यत्तिकैमा साइकल चलाउँदै एउटा ठिटो आइपुग्यो।ऊ पनि पिपलको छहारीमा सुस्ताउँदै बुढाहरुको कुरा खुब ध्यान लगाएर सुन्दै थियो। उनीहरुको कुरा सुनेपछि नबोलि बस्न उसको चित्तले दिएन।
लामो समय एउटै सरकार रह्यो भने पनि देशको ढुकुटी धमिराले जस्तै भुर्कुट पार्ने रहेछ।स्थिरताको नाममा मनोमानि,झनै ब्रम्हलुट।बरु छिटोछिटो फेरिँदा कुम्ल्याउने मौका कमै मिल्छ।सेटिङ्ग मिलाउँदा मिलाउँदै सरकार भत्कन्छ,खेला खत्तम।बहुमतको सरकार हुँदा पनि के नै लछारपाटो लगाएका हुन् र ? आफै अस्थिरता निम्ताउँछन्।बुढेशकालमा धेरै चिन्ता नलिनोस्।बेकारमा रक्तचाप बढ्छ। ठिटाका कुराले बुढाहरुको ध्यान तान्यो।
हामीले लगाउने कट्टु छिटोछिटो फेरिएन भने दाद,लुतो आएर हैरान पारे झैँ यो देशमा त स्थिर सरकार भए पनि काण्डैकाण्ड मच्चाउने र देश खोक्रो पार्नमै उद्यत भएको देखियो।त्यसैले कट्टु र सरकार फेरि रहनु पर्ने रहेछ। भन्दै ठिटो साइकलमा सुँइकुच्चा ठोक्यो।
-मित्र उराठी गौतमअमरपुर –गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही
प्रतिक्रिया