नेपाली क्रिकेटरको समर्थन गर्नअमेरिकाभरबाट जाँदैछन् नेपालीहरु

कृष्णराज खनाल २०८१ जेठ २४ गते ११:१३ मा प्रकाशित

नर्थ क्यारोलिना, अमेरिका । आइसीसी टी २० विश्वकप क्रिकेटको रौनकले अमेरिकामा रहे बसेका नेपालीहरु तातेका छन् । आज डलासमा नेदरल्याण्डस्विरुद्धको खेलमा नेपाल पराजित भएर दर्शकहरु केही निराश भए पनि नेपालको सहभागितालाई लिएर निकै उत्साहित भइरहेका छन् । नेपाली खेलाडीहरुको हौसला बढाउन र उनीहरुलाई उत्साह दिन विभिन्न राज्यबाट टेक्ससको डालस पुगेका करिब छ हजार नेपाली दर्शकले विजयोत्सव त मनाउन पाएनन् तर पनि समर्थन भने यथेष्ट दिएका थिए ।

अब पालो फ्लोरिडाको । जून ११ तारिख मंगलवार नेपाली टिमले श्रीलंकाविरुद्ध दोस्रो खेल खेल्नेछ । यो खेल हेर्नका लागि फ्लोरिडा जाने नेपालीहरुको ताँती लागेको छ । कतिपय नेपालीहरु हवाइमार्फत गएका छन् भने कतिपय आफ्नै वाहनमा जाने तयारी गरिरहेका छन् । टेक्ससमा जस्तै फ्लोरिडामा पनि मनग्यै नेपाली दर्शकहरु उपस्थिति हुने संभावना छ ।

गत जून १ देखि सुरु भएको टी २० विश्वकप क्रिकेटअन्तर्गत नेपालले पहिलो चरणका अन्य दुइ खेल दक्षिण अफ्रिकाविरुद्ध जून १४ मा र वंगलादेशविरुद्ध जून १६ मा वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टमा खेल्नेछ ।

नेपाली खेलाडीहरुको हौसला बढाउनका लागि हामी जाने तयारी गरिरहेका हौँ नर्थ क्यारोलिनाबाट फ्लोरिडा जान लागेका सुनिल केसी, घनश्याम धमला र पेशल रेग्मीले एक साथ भन्नुभयो । उहाँहरु आगामी हप्ता नेपालको झण्डा बोकेर फ्लोरिडा जाने तयारी गरिरहनुभएको छ । उहाँहरु लगायत अरु थुप्र्रै समर्थकहरु नेपालको झण्डा बोकेर फ्लोरिडा जानेछन् । हामी चाहन्छौँ हाम्रा खेलाडीहरुले उत्कृष्ट खेल खेलेर सबैको मन जितुन् उहाँहरु भन्नुहुन्छ । उहाँहरुसँग अमेरिकाको नर्थ क्यारोलिनमा बस्ने वंगलादेशका दुइ युवा मोहम्मद र सैफुल पनि नेपालको समर्थन गर्न फ्लोरिडा जान लागेका छन् । वंगलादेश र नेपाल त भाइ भाइ हुन् नि । त्यसंैले उनीहरुको समर्थन गर्न र उनीहरुको खेल हेर्न जान लागेका हौँ उनीहरु भन्छन् ।

कतिपय नेपालीहरुले भने घरमै बसेर नेपालको टी २० विश्वकप क्रिकेटको जर्सी लगाएर खेल हेर्ने तयारी गरिरहेका छन् । स्मृति सुवेदी भर्जिनिया बस्छिन् । उनी क्रिकेट त्यति धेरै बुझ्दिनन् तर फ्लोरिडा जाने तयारीस्वरुप हवाइ टिकट बुक गरिसकेकी छन् । आफ्नो जन्मभूमि नेपालको मायाले कस्लाई पो तान्दैन र ? त्यसैले साथीलाई लिएर म पनि जान लागेकी हुँ उनी भन्छिन् ।

अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा २० राष्ट्रको सहभागिता छ । चार समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको कुल ५५ खेलमध्ये १६ वटा खेल अमेरिकामा हुनेछ भने अन्य खेल भने क्यारेवियन राष्ट्रमा हुनेछ ।

-कृष्णराज खनाल

प्रतिक्रिया