अमेरिकाले टेक्सस राज्यको ड्यालसमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको छ । यो खेल संगै पाकिस्तानलाई क्रिकेट इतिहासकै सबैभन्दा ठूलो झट्का लागेको छ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सफल भयो ।
आज सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अमेरिकाका क्रिकेट खेलाडी अधिकांश भारतीय मूलका रहेका छन् । अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय पारी (इनिङ्स) खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए ।
एरोन जोन्सले २६ बलमा ३६ रन जोडेका थिए भने उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रन बनाएका थिए ।
नितिश कुमारले १४ बलमा १४ रन बनाए । त्यस्तै पाकिस्तानका मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काएका थिए ।
सदाब खानले २५ बलमा ४० रनको योगदान दिएका थिए भने उनले एक चौका र ३ छकका प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडेका थिए ।
पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता हो भने पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा टोली सहभागी बनेको हो ।
आफ्नो पहिलो खेलमा क्यानडालाई हराएपछि, अब अमेरिकालाई छनोट हुनका लागि भारत र आयरल्याण्ड विरुद्धको बाँकी समूह खेलहरूमा एउटा मात्र जित आवश्यक पर्न सक्छ।
सन् २००९ मा जितेको र २०२२ मा इङ्ल्यान्डसँग अन्तिम खेलमा पराजित भएको पाकिस्तान पहिले नै चाँडो बाहिरिने जोखिममा छ ।
संयुक्त राज्य अमेरिका २०१९ मा मात्र आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलेको छ । अमेरिकाले पहिले कहिल्यै टी-२० विश्वकप क्रिकेट खेलेको छैन र यसअघि पाकिस्तानसँग आधिकारिक अन्तर्राष्ट्रियमा खेलेको छैन।
प्रतिक्रिया