काठमाडौं, जेठ २६, २०८१ । विश्व वातावरण दिवस २०२४ को अवसरमा वन तथा वातावरण साहित्यिक समूहको आयोजनामा समूहको दोश्रो वार्षिकोत्सव तथा पर्यावरणीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा देश विदेशका ३० भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
डा. ऋषि बस्ताकोटीको स्वागत मन्तव्य पश्चात समूहको संयोजक डा. रोशन शेरचनले वार्षिक कार्य प्रगति प्रस्तुत गर्नुभयो। संयोजक डा. शेरचनले समूहका सदस्यहरुको सक्रियतामा ‘प्रकृति: सहअस्तित्वको खोजी’ नामक संस्मरण सङ्ग्रह नेपाल वन प्राविधिक संघ र इन्डिगो इन्कको सहयोगमा प्रकाशन गरेको र सो पुस्तकको दुईवटा परिचर्चाका कार्यक्रमहरू सम्पन्न गरिएको जानकारी दिनुभयो। नवोदित साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न वरिष्ठ साहित्यकाहरूलाई आमन्त्रित गरी ४ वटा लेखनमाला सम्पन्न गरिएको, डा. ऋषि बस्ताकोटीको ‘विसङ्गत बस्ती’ र बिष्णु प्रसाद आचार्यले सम्पादन गर्नुभएको ‘वातावरण शिक्षा’ को पुस्तक परिचर्चा सम्पन्न गरिएको बताउनुभयो।
भानु जयन्ती २०८० को अवसरमा वन तथा वातावरण साहित्यमा विद्यार्थीहरूलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले डा. हिमलाल श्रेष्ठको समन्वयमा काठमाडौं फरेष्ट्री कलेजको सहयोगमा एक वातावरण साहित्यिक कार्यक्रम सम्पन्न गरिएको पनि डा. शेरचनले जानाकारी दिनुभयो ।
तत्पश्चात कमला रुपाखेती र डा. ऋषि बस्ताकोटीले संयुक्त रुपमा संचालन गर्नुभएको उक्त कार्यक्रममा २६ जना कविहरुले आ-आफ्नो पर्यावरणीय कविता सुनाउनु भएको थियो | कविहरु कृष्ण वाउसे, राधिका कल्पित, डा. जगदीशचन्द्र वराल, दधि कणेल, गङ्गा पोखरेल, शिखर दुलाल, विश्व सिग्देल, अमृत पौडेल, बुध्दी बल श्रेष्ठ, गोपी उप्रेती, मुक्ति गौतम, कुन्जन रुपाखेती, सुशिला पोख्रेल, नित्यानन्द खनाल, चन्द्रमणि गुरागाईं, सुरेन उप्रेती, इश्वरी भट्ट, उमा शर्मा, शिव पलाँस, नम्रता गुरागाई, शरद मरहट्टा ‘परासर’, भारती न्यौपाने, राजवावु पहाडी, यमुना न्यौपाने, रोशन शेरचन र भरतमान श्रेष्ठले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा वाचित कविताहरुको समिक्षा कवि तथा साहित्यकार भुपिन खड्काले गर्नु भएको थियो। उहाँले वाचित कविताहरू मार्फत सम्वेदनहिन मानवीय क्रियाकलापहरुले प्रकृति र पर्यावरणमा पारेको प्रभाव,, जलवायु परिवर्तन र त्यसको विश्वव्यापी असरवारे सबै कविहरुले विषयको उठान गरेको वताउनुभयो। कला र साहित्य मार्फत सामाजिक चेतना जगाउन र सम्बन्धित निकायको ध्यान समाधान गराउने उद्देश्ययमा उक्त कार्यक्रम अत्यन्त सफल रहेको वताउनुभयो ।
डा. हिम लाल श्रेष्ठले प्रविधि संयोजन गर्नुभएको उक्त कार्यक्रमको सामाजिक संजालमा समेत लाईभ प्रसारण गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै डा. भरतमान श्रेष्ठले सबै सहभागीहरुलाई धन्यबाद दिंदै, यस समूहले भविष्यमा गर्ने विविध साहित्यिक गतिविधिमा सम्पूर्णको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो | साथै उहाँले यस कार्यक्रममा वाचन भएका कविताहरूको संग्रह एक डिजिटल पुस्तकको रुपमा प्रकाशन गर्ने योजना रहेको पनि जानाकारी दिनुभयो ।
प्रतिक्रिया