बिस्व रक्तदाता दिवस – प्रबासमा संगठित रक्तदान अभियान

इनेप्लिज २०८१ जेठ ३१ गते १०:५४ मा प्रकाशित

डा नन्द रेग्मी ,पुर्ब अध्यक्ष, बिडिए । जुन १४ लाई बिस्व स्वास्थ संगठन (World Health Organization, WHO) ले बिस्व रक्तदाता दिवस मनाउन लागेको बिस बर्ष भएको छ। बिसौ बर्षको जुन १४ लाई “20 years of celebrating giving: thank you blood donors!” अर्थात् २० बर्षसम्म रक्तदान गरेकोमा गौरब गर्दै, सबै रक्तदाताहरुलाई धन्यवाद भनिएको छ। यथार्तमा रक्तदान धेरै अगाडीबाट भएको भए पनि बिस्व स्वास्थ संगठनले सस्थागत हिसाबबाट रक्तदाता दिवस मनाउन शुरु गरेको २० बर्ष भएकोले यसो भनिएको होला। यसै दिनलाई ब्लोड डोनर्स अफ अमेरिका (बिडिए ) ले आफ्नो स्थापना दिवस मनाउने गरेको छ।

संगठित हिसाबबाट रक्तदान अभियान शुरु गर्नु परेपछि अवस्य पनि यस अभियानमा व्यवस्थित र निरन्तर लाग्नु पर्ने खाँचो छ भन्ने नै बुझिन्छ। हुन पनि रक्तदान झट्ट हेर्दा भै हाल्छ नि भन्ने जस्तो देखिए पनि यसमा निरन्तर प्रयत्नको आवस्यकता भने पर्दछ। रगतको अभाव अरु कुनै तरिकाले पूरा गर्न नसकिने र प्रयोगशालामा बनाउन पनि नसकिने भएकोले रक्तदाताले दान नगरेसम्म हाल यसको अर्को श्रोत छैन।

रगत प्राय सदा आपतकालीन समयमा नै जरुरि हुने र दाताले योजना बनाएर मात्र दान गर्ने हुदा, समयमा नै यसको बन्दोबस्त गर्नु पर्ने हुन्छ। यसका आलावा दान गरि सकेको रगतको पनि जीबन आयु हुने भएकोले एक पटक दान गरेको रगत निश्चित समय पछि काम नलाग्ने भएकोले रक्तदाताले केहि समय पछि पून रक्तदान गर्नु पर्दछ। यसरी रक्त अभावलाई पुरा गर्ने कार्यमा रक्तदाताको भूमिका अत्यन्त महत्वपूर्ण छ।

यसबाट रक्तदाता दिवस मनाउनु अत्यन्त मार्मिक र महत्वपूर्ण कार्य हो भन्ने बुझिन्छ। यो दिवसले दाताको सम्मान हुदै अझ धेरै स्वयं सेवक जन्मने मात्र होइन कि, समाजमा रक्तदानको महत्व स्थापित गर्दै यस कार्यमा लागेकालाई निरन्तरता दिन उर्जा र उत्साह र रक्तदान शुरु नगरेकालाई शुरु गर्ने इच्छा जगाउन सहयोग गर्दछ। रक्तदान संसारका सबै देशहरुमा (चाहे बिकशित वा विकासोन्मुख) उत्तिकै महत्व पूर्ण छ।

यसर्थ रक्तदान कार्य रगतको खाँचो पूरा गर्ने हिसाबले त नगरी नहुने सेवा कर्म हो। यसको अलावा यसका अरु थुप्रै फयदाहरु पनि छन। नियमित रक्तदान गर्दा स्वस्थ रहन पुग्ने सहयोग, सेवा भाबबाट खुशी हुने मन र स्वयम्सेबी भाबले दिने खुसिको आनन्द, सहयोगी विचार र अर्काको जीबनको निम्ति आफु पनि काममा आएको भावना, भातृत्वको भाबमा बृद्दी, युद्द झगडाको ठाउमा मेलमिलाप आदि।

रक्तदान जस्तो महान सेवा कार्यमा लाग्दै आफु बसेको ठाउमा सेवा पुराउने उद्देश्यबाट प्रेरित भएर नै नेपाली अमेरिकी रक्तदाताहरुको सस्था बिडिए ले रक्तदान सेवालाई देस भित्र र बाहिर अभियानको रुपमा अगाडी बढाउदै आएको आज १५ बर्ष भै सकेको छ। यस महान अभियानमा अमेरिका स्थित नेपाली राजदुताबास, अमेरिकामा रहेका नेपाली मुलका रास्ट्रिय, क्षेत्रिय, स्थानीय सामाजिक सस्थाहरु, स्थानीय समाज, क्लबहरु, सामुदायिक सस्थाहरु, सामाजिक अभियन्ता तथा समाजका प्रबुद्द व्यक्तित्वहरुको अटुट सहयोग रहदै आएको छ। कतिपय सस्थाहरु त यस कार्यलाई अगाडी बढाउन बिडिएसंग अनुबन्धित पनि छन। यी जति पनि प्रयत्नहरु भएका छन, यी सबैको ध्यय एक छ, रक्तदान सेवालाई एकीकृत हिसाबले अगाडी बढाउने।

रक्तदानलाई व्यक्ति व्यक्तिको जिबनमा कसरी हेर्नु पर्छ भन्ने यथार्थ बोध गराउन खोजि कार्य गर्ने क्रममा संसारभरमा सबै भन्दा बढी रक्तदान गरेर गिनिज बुकमा आफ्नो रेकर्ड कायम गर्नु भएका श्रद्देय व्यक्तित्व स्वर्गीय जोन डब्लु शेप्पर्ड पनि बिडिएको आजिबन सदस्य हुनु भयो। आफु बांचुजेल उहाले आफु किन रक्तदाता भएको र यसबाट आफुले के सिकेको र आफुलाई के फायदा भएको संदेश नया पिढीका रक्तदातालाई छोडेर जानु भएको छ। उहाको अनुभबको वृतचित्र बिडिएले तयार गरेर आफ्नो वेबसाइटमा राखेको छ।

रक्तदान कार्यलाई अमेरिका भित्र स्थाई र नियमित बनाई रहने उद्देश्यबाट प्रेरित हुदै अमेरिकामा रहेका नेपाली अमेरिकी दाजुभाई दिदिबहिनिहरु एक सुत्रमा बाधिदै जादा बिडिएको आजिबन सदस्य पनि झन्डै पाँच सयको नजिक पुगेको छ। रक्तदान कार्यलाई व्यवस्थित बनाउन र अमेरिका भित्र कुनै पनि ठाउमा नेपाली अमेरिकनले रक्तदान गरे त्यो तथ्यांक पनि केन्द्रिय डाटा बैंकमा जोडियोस भन्ने उद्देय्सले बिडिएले बिभिन्न राज्यहरुमा राज्य स्तरीय कमिटिहरु पनि बनाएको छ। यी सबै प्रयत्नमा बिडिएको माध्यमबाट आज सम्म अमेरिकी नेपाली समाजले अमेरिकामा आवस्यक हुने रगतको सालाखाला 0. ७ % पूर्ति गरेको देखिन्छ। त्यसै गरि आज डालास टेक्सासमा रहेका अस्पतालहरुमा रगतको खाँचो हुदा बिडिएलाई रक्तदान शिबिर राखिदिन अनुरोध आउने गरेको पनि छ।

अमेरिकी सन्दर्भमा स्वास्थ बिमा महगो छ र सबैसंग यो नहुन पनि सक्दछ। तर नियमित रक्तदान गरे स्वास्थ बिमा बिना पनि केहि सामान्य स्वास्थ फायदाहरु भने लिन मिल्दछ। यसका अलावा, धेरै भन्दा धेरै नेपाली अमेरिकनहरु रक्तदानको माध्यमबाट जोडिन सके अवस्य यसले नेपाली अमेरिकनलाई यस भुमिमा इज्जत र दानबिर तथा दयालुका हिसाबले चिनाउने छ।

यिनै विचारहरु राख्दै जुन १४ को पुनित अवसरमा जहाँ भए पनि रक्तदान जस्तो महान कार्यमा सरिक हुने महानदाताहरु तथा यस कार्यमा सहयोग पुराउनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु। साथै सबै संघसस्था र तिनका नेतृत्वमा रहनु भएका व्यक्तित्वहरुलाई बृहत रक्तदान कार्यमा सहयोग पुराउदै जोडिनका निम्ति आग्रह पनि गर्दछु। जे जति पिन्ट रक्तदान हुन्छ, त्यसलाई एकीकृत हिसाबले आंकडा राखौ, यसले प्रबासमा हाम्रो साथै हाम्रो जन्मभूमिको परिचय अवस्य बनाउने छ।

प्रतिक्रिया