शिकागो निवासी नेपालभाषामा कथा विधामा पोख्त रहेका व्यक्तित्व केशरमान ताम्राकारले ४० बर्ष अघि नेपालभाषामा लेखिएको कथा “चिपगु नीलः” निर्देशक योवन शाक्य टीमले निर्माण गरेको नेपालभाषा कथानक लघु चलचित्र ‘चिपगु नीलः’ कीर्तिपुरको पाँगा, कीर्तिपुर सिनेप्लेक्समा गत शनिबार प्रथम सार्वजनिक गरिएको छ ।
नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिक भएको यो टेलिचित्र नेपालभाषासँग सम्बन्धित विभिन्न मिडिया कर्मीहरूमाझ सार्वजनिक गरिएको थियो । सो अवसरमा नेपालभाषाका साहित्यकार, कलाकार, संगीतकार एवं भाषाप्रेमी विद्वत व्यक्तित्त्वहरूको उपस्थिति थियो ।
नेपालभाषामा लेखिएको यो ‘चिपगु नीलः’ लघु चलचित्र जम्मा १७ मिनेट मात्रको छ । यसमा रहेका मुख्य कलाकार ‘जय’ र ‘विन्ज्या’ जो नायक नायिका हुन् । उनीहरू भर्खरै मात्र धेरै नै लोकप्रिय भएको नेवारी गीत ‘सालुगु गाःचा’, र ‘अयला: लुवया’ र “माया मदुला” को भिडियो संगीतमा मोडलको भूमिकामा देखा परेका जय (मनोज महर्जन) र विन्ज्या (नेरिशा महर्जन) लाई केन्द्रित गरिएको छ | र साथै नायिकाकी आमा (गंगा महर्जन) लोकप्रिय गायिका र सञ्चारकर्मी पनि हुन् । त्यस्तै नायिकाको बुबा अनुभवी कलाकार नविन थेचोमि रहेका छन् । यस चलचित्रमा बालकलाकारको रूपमा ओश्मी रञ्जित रहेकी छन् भने अन्य कलाकारहरूमा चिरीबाबु महर्जन, हसना महर्जन, सुनिता श्रेष्ठ, सलिना महर्जन (मीस नेवा: ने.स. ११४२) रहेका छन् ।
यस चलचित्रको कथाले एक विधवा नारीले समाज र परिवारमा झेल्नु पर्ने पीडा र आर्तनादलाई व्यक्त गरेको छ भने छोरीले प्रेम गरेको केटालाई अभिभावकले मन नपराएपछि बाबुआमाकै आदेश अनुसार विवाह गरेपछि भवितव्य घटनाले विधवा बनेकी छोरीको कारुणिक मनोदशालाई चित्रण गर्न खोजिएको छ । विन्ज्याकी साथी शोभा (सलिना महर्जन)ले तिनको विधवा अवस्थालाई बुझेर जयसँग विवाह गर्न सल्लाह दिंदा विन्ज्याले आफू अरुको जुठो (चिप) भइसकेकाले फेरि अर्कोसँग विवाह गर्न उचित नहुने बताउँछिन् ।
जयले भने विन्ज्याले करकापमा परेर हो या खुसीले हो आफ्नो प्रेमलाई लत्याएर अरुसँग गइसकेपछि पनि प्रथम माया अन्तिम माया लागिरहेको आशय जनाउँदै आफ्नो लागि विन्ज्या सदैव पवित्र र चोखो पानी (नीलः) जत्तिकै निर्मल रहेकोले यदि यो विधवावस्थामा उसँग विवाह गर्न आफ्नी आमाले स्वीकार गरेमा तैयार रहेको आशय यस चलचित्रमा रहेको छ । बाल कलाकार ओश्मीले अभिनयमा यथार्थ पस्केकी छन् । चलचित्र छोटो भए पनि मार्मिक रहेको छ । कलाकार सबैले अब्बल दर्जाको भूमिका निभाएको देखिन्छ ।
चलचित्र सार्वजनिक गरिसकेर प्रमुख अतिथि नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको नेपालभाषा साहित्य प्रतिको महत्वपूर्ण धारणा सहित उनकै हातबाट विभिन्न सञ्चारकर्मी लगायत चलचित्रमा खेल्ने कलाकार, आर्थिक सहयोगी र आयोजकलाई प्रमाणपत्र सहित बधाई ज्ञापन गरिएको थियो । साथै बरिष्ठ साहित्यकार द्वय मथुरा सायमि र हितकर बीर सिंह कंसकारले खाडा ओडायर सम्मान गरिएको थियो।
प्रतिक्रिया