न्युरोडको नाम नसुन्ने कुन नेपाली होलान र ? अनि काठमाडौं पुगेपछि एकपटक न्युरोड नपुग्ने को नहोला र ?
मेरो आफ्नो कुरा गर्दा , काठमाडौंमा जन्मे हुर्केको म ,न्युरोड भन्ने साथ न्युरोड गेट निरको पसलको गुँदपाक र पुष्टकारी, टिपटप टेलरिंडको छेउको मिठाई पसलको समोसा र तातो गुलाब जामुन ,काला जामुन,नेपाल डेरीको आईसक्रिम विशाल बजारको छेउको सानो पसलको गुलियो, पिरो र चिनी हालेको तितौरा र नेपाल हाउसको चियापत्ती याद आउँछ । ओहो ! लेख्दा पनि मुखबाट पानी नै आयो ।
अहिलेको काठमाडौं र हामी हुर्केको काठमाडौंमा आकाश जमीनको फरक छ । यँहा अमेरिकामा बेलाबखत भेटिने नेपाली बुबाआमाहरूले “ नानीको घर कता सोध्नु हुन्छ । “ काठमाडौं भन्दा, गाउँ कता भन्नु हुन्छ । म पनि रमाईलो गरिदिन गाउँ “बानेश्वर” भनि दिन्छु । एकछिन त नपत्याए जस्तो गर्नु हुन्छ ।
हो नै , खासमा उहिले “बानेश्वर” गाउँ नै जस्तो त थियो । ठाउँठाउँमा धान रोपेको खेत हुन्थे। गाई पालेको घरहरू हाम्रो टोलमा ३-४ वटा थिए । त्यहाँबाट दूध किन्ने गरिन्थ्यो। कुखुरा पालेको ठाउँबाट ताजा अण्डा र बारीको लागि मल किन्ने गरिन्थ्यो । खाली चउर जताततै थियो ।
काठमाडौंमा जन्मे हुर्केको म ,न्युरोड भन्ने साथ न्युरोड गेट निरको पसलको गुँदपाक र पुष्टकारी, टिपटप टेलरिंडको छेउको मिठाई पसलको समोसा र तातो गुलाब जामुन ,…………याद आउँछ ।
घरको धारामा पानी नआउँदा रत्न राज्य स्कुलको अगाडीको ढुगेंधाराको मिठो चिसो पानी ल्याउन गाग्री बोकेर घरका सहयोगी दाईहरू साईकल लिएर जाने गर्थे । अर्को धारातिर चाहीं टन्न महिला पुरूषहरू लुगा धुने, नुहाउने गर्थे ।
राती पर बाग्मतीको फाँट, एयरपोर्टतिर स्याल कराएको सुनिन्थ्यो । तेस्तै बानेश्वर हाईटतिरबाट हिंडनै डर लाग्ने , ठुला ठुला बाँसको झ्याँङहरूको जंगल धोबी खोला साईड तिर थियो । चोर लुकेर बस्छन् भन्थे । त्यो बाटोबाट ट्याक्सी त जानै नमान्ने ।
एक पटक त छुरा आतंक भएको थियो । चिनजान कै आफन्तलाई त्यही बाटोमा छुरा हानेछन् । ओरालो बाटो तल झरेपछि ढुगेंधारा थियो । कति पटक कलेज गएर मैतिदेवीतिरबाट हिंडेर घर फर्कंदा हिलो लागेर खुट्टा त्यही पखालेको पनि थिंए ।
आजभन्दा ३५-४० बर्ष अगाडीसम्म पनि बाग्मतीमा पानी नै बग्थ्यो । अहिले जस्तो ढल हैन् । भन्दा कथा भने जस्तो लाग्ला केटाकेटीहरू बाग्मतीमा पौडी खेल्न जान्थे । घोबीले लुगा धुने हुनाले खोलाको नाम नै “धोबी खोला” भएको हो । त्यहाँ टन्न लुगा धोएर सुकाएको देखिन्थ्यो । कतै माछा मारिरहेका , साग पखालेर खर्पनमा बेच्न लग्दै गरेका हुन्थे ।
उहिले हजुरआमा, मम्मी, आन्टीहरू स्वस्थानी भन्ने महिना पारेर गुहेश्वरी, गौरीघाट बाग्मतीमा नुहाउन जानु हुन्थ्यो । हामी केटाकेटीहरू उँहाहरूको कपडा हेर्न बस्थ्यौं । बाँदरले निक्कै दुख दिने । गौरीघाटमा नुहाएर माथि किँरातेश्वर महादेव दर्शन गर्दै बनकालीको जंगलै जंगल हिंडेर पशुपतिनाथ मंन्दिर झर्ने । हरियाली, रमाईलो बेग्लै नै थियो त्योबेला हाम्रो काठमाडौं !
बुबाको पो जन्म गाउँ “जुबु, सोलुखुम्बुमा “ जँहा म जम्मा एकपटक सानो पाँच बर्ष हुँदामात्र पुगेको छु। गाउँको सुके पोखरी , हुस्सु लागेको लेकको बाटो डोकोमा चडेर गएको , कतै हिंडेको , काठको फल्याकबाट बनेको पुलबाट कसैले बोकेर दूध कोशी तारेको , गोठको भुसुनाले टोकेर घाउ खुट्टामा घाउ भएको, खत अझै छ । बस्नेतहरूको कुल पूजामा धामी नाचेको, बोकाहरू काटेको, सबै लहरै बसेर खाएको आदी धमिलो संम्झना छ । मत जन्मजात नै पुरानो काठमाडौंबासी, स्कुल, कलेजको पढाई देखि विवाहसम्म पनि काठमाडौंबासीसँगै नै भएको हो ।
उहिले “न्युरोड जाने “ नभनेर “शहर जाने “ भन्ने चलन थियो । बिशेष कामको लागि नगई नहुने हुन्थ्यो शहर ! किनकी बानेश्वर लगायत अरू ठाउँ पनि गाउँ नै जस्तो त थियो । अहिले जस्तो जताततै पसलहरू थिएनन् । मुख्य त गरगहना बनाउन बाँडाको पसल , दशैंको नँया लुगा किन्न , तामा पित्तलका भाँडाकुँडा किन्न, तिहारको भाईमसला र अरू मरमसला किन्न असन , ऊनको स्वेटर किन्न भोटाहिटी , ईन्द्रचोकको चुरा पोते बजारमा किनमेल गर्न , बारीमा लगाउने तरकारीको बिऊ लिन र पूजा तथा सराद्धको सामान ,हरियो पात किन्न, गेडागुडी ,चाकु आदी लिन पनि असन नगई हुन्न थियो।
हजुरबुबाआमाहरू न्युरोडलाई नँया सडक या जुद्ध सडक पनि भन्नु हुन्थ्यो। उहिले दरवारियाका बग्गी गुड्थे, हात्ती हिंड्थे र फाट्टफुट्ट केही गाडी र साईकल गुड्थे , जुद्ध शालिक अगाडीको भुगोल पार्कमा पत्रिका टाँसेको हुन्थ्यो र मान्छेहरू पढ्थे । पिपलको बोटमुनी नेताहरू गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराईहरू भेला भएर छलफल गर्ने गर्थे आदी अनेक कथा सुनाउनु हुन्थ्यो ।
अहिले बिशाल बजार भएको ठाउँमा जनसेवा नामको सिनेमा हल थियो रे ।आगलागी भएर भत्काएपछि विशाल बजार बनेको रहेछ । जुद्ध शालिनको पछाडीपट्टी सेतो घरमा पहिलो दमकल “जुद्ध बारूण यंन्त्र” राख्ने ठाउँ बनाईएको रहेछ । जुन अझै त्यही छ ।
बाल्यकालमा रमाईलो चाहीं मम्मी शहर गएको बेला हुने । किनकी त्यो दिन न्युरोडको मिठो खानेकुरा खान पाईन्थ्यो । बजारको खानेकुरा तेती पौष्टिक हुन्न भनेर सबैले घरमा ताजा खाजा पकाएर नै खुवाउने गर्थे । किनेर खाने चलन नै थिएन् । कालो टेम्पो वा ट्याक्सी घरमा आयो की कुदाकुद सामान बोक्न सबै केटाकेटी ढोकासम्म जान्थ्यौं । अनि सबै परिवार वरीपरी बसेर मिठो समोसा , गुँदपाक, चिउरा आदी खाजा खानु जिन्दगी कै मिठा पल रहेछ जस्तो लाग्छ आजकल सोच्दा ।
आफुले त्यसरी सानोमा खाएको संम्झेर , नेपाल गएकोबेला न्युरोड समोसा खान पुग्छु र किनेर घर पनि लग्छु नै । अझ छोरालाई पनि लिएर जान्थें । उसले पनि न्युरोडको कुरा गर्दा समोसा खाएको संम्झन्छ ।
न्युरोड संम्झदा दशैंको लुगा किन्न गएको याद आउँछ । उहिले बिशाल बजारको छेउमा “ जुजुभाईको रेडिमेड पसल “ थियो ।त्यो बेला अहिले जस्तो चाईनिज कपडा जताततै पाउन्न थियो । हंङकंङ, बेंककको रेडिमेड लुगा केही पसलमा मात्र पाईन्थ्यो । त्यो पसलमा छानी छानी लगाएर किन्न पाईने, लुगा किन्नेको भींड हुन्थ्यो ।
कलेज पढ्ने ताका न्युरोड चाहीं निरूलासमा आईसक्रिम खान, रंन्जना हलमा सिनेमा हेर्न र फोटो कन्सनमान फोटो धुलाउन जान्थ्यौं । ओहो ! उबेला आईसक्रिम पाउने फेमस दुई ठाउँ दरबारमार्ग र न्युरोड त थियो । फेरी टिनेजर उमेर , त्यहाँ साथीहरू हुल भएर जानुको मज्जा नै बेग्लै नी !
अहिले जस्तो होर मोबाईल फोनमा फोटो खिचेर तुरून्तै हेर्न पाईने । उ बेला रिल किनेर क्यामरामा हाल्ने , रिल सकिए पछि फोटो धुलाएर मात्र आफु कस्तो भएको रहेछु भन्ने देखिन्थ्यो। अझ फोटो स्टुडियोमा रिल धुलाउन दिंदा उनीहरूले बैंकक पठाउने गर्थे । लगभग एक महिना लाग्थ्यो फोटो हेर्न ।
तर पछि न्युरोडको फोटो कन्सनले मेशिन ल्याए पछि ३-४ घण्टामा नै घुलाई दिन थाल्यो । फोटो धुलाउन दिएर रंन्जनामा फिल्म हेर्न पस्यो वा समोसा खान गयो, काष्ठमण्डप , विशाल बजार न्युरोड घुम्यो अनि फोटो लिएर घर फर्कियो । घरीघरी न्युरोड जाने चलन नै थिएन ।
न्युरोड चाहीं काठमाडौंको मुटु , जताततैबाट बस ,टेम्पो पुगिहाल्ने । बस प्राय: हुल नै हुने , सकभर ६-८ सिट भएको टेम्पु (जसलाई हामी फेसटुफेस भन्थ्यो ) चड्थ्यौं ।
न्युरोड चाहीं काठमाडौंको मुटु , जताततैबाट बस ,टेम्पो पुगिहाल्ने । बस प्राय: हुल नै हुने , सकभर ६-८ सिट भएको टेम्पु (जसलाई हामी फेसटुफेस भन्थ्यो ) चड्थ्यौं । ओहो ! त्यो टेम्पु त नँया बानेश्वर आफ्नै घर अगाडीबाट अहिले पनि कुदछ ।
सानो छँदा न्युरोड जाँदा अर्को रमाईलो चाहीं बिशाल बजार भित्रको एलिभेटरमा तलमाथि तल्ला ओहोर दोहोर गर्नु पनि हुन्थ्यो । पसलमा राखेको सामान हेर्दै “वीन्डो सपिंग” गर्र्यो । किन्न त पैसा भए पो । त्यती गर्दा पनि रमाईलो नै हुने ।
हाम्रो घरमा सबै चियाको शौखिन , चियापत्ती पनि अरू ठाउँको होर न्युरोडको दमकल राख्ने छेउको “नेपाल टि हाउसबाट “किनेको मात्र मिठो र मन पर्ने। ईलामको चियापत्ती कडा र स्वादिलो । त्यहाको चिया पिउने बानी लागेर होला अहिले पनि नेपाल जानेसँग मगाउँछु । चियामात्र होर तेंहाको पसले दाजुभाई अंकलहरू असाध्यै मिजासिलो हुनुहुन्छ । चियाको बारेमा निक्कै जानकारी छ । विदेश चिया लग्दा अरू मसलासँग एउटै व्यागमा नराख्नु भन्नु हुन्छ । चियाको स्वाद बिग्रन्छ रे ।
आजकल चाहीं नेपाल गएकोबेला न्युरोड पुग्ने भनेको कि वरीपरीका मंन्दिरहरू दर्शन गर्न , गहना बनाउन , पुस्टकारी, लाखामरी, चियापत्ती, तितौरा आदी किन्न, खिचापोखरीको नाईस टेलर्समा कुर्था सुरूवाल सिलाउन दिन , सारी किन्न , बसन्तपुर, हनुमान ढोका, सुरज आर्केट वरीपरी रहेका पसलहरूबाट नेपाली सामान , टिसर्ट, नेपाली मखमलको जुत्ता, पस्मिना सल आदी किन्न , टिपटपको समोसा र नेपाल डेरीको आईसक्रिम खान गईन्छ ।
कहिलेकाहीं हिमालयन जाभाको कफी खाँदै साथी भेटेर गफ गर्ने वा बिशाल बजार अगाडीको हट ब्रेड रेष्टुरेन्टमा पसेर मोमो, पिज्जा खान पनि गईन्छ । ताजा पाउरोटी किनेर घर ल्यायो ।
काठमाडौंलाई विदेशीले मंन्दिर नै मंन्दिर भएको शहर भन्छन् । हो पनि , जताततै पुराना मंन्दिरहरू छन् । फेरी मंन्दिर पनि साँच्चै साक्षत नै लाग्छ मलाई चाहीं । अमेरिकामा कति मंन्दिर जान्छु तर खै काठमाडौंको मंन्दिरहरू गए जस्तो पोजिटिभ भाईभ नै मिल्दैन् ।
काठमाडौं पुगेपछि म त मंन्दिर भ्याएसम्म जताततै जान्छु । अति नै रमाईलो लाग्छ । बानेश्वरबाट टेम्पु चढेर नेपाल बायुसेवा निगम अगाडी ओर्लियो, अनि हिंड्यो । संकटा ,मंहाकाल , न्युरोड गेट निरको गणेश मंन्दिर , काष्टमण्डप , काठमाडौं गणेशस्थान, कुमारी घर , काल भैरव , हनुमान ढोका हुँदै सेतो मछिन्द्रनाथ , असनको अन्नपूर्ण र गणेश मंन्दिरसम्म पुग्छु । बाटोमा पनि गणेश मंन्दिर त दर्शन गर्न छुट्दैनन् ।
हामी विदेश बस्ने नेपालीहरू , प्राय: केटाकेटीहरूको गर्मीको लामो विदामा जतिसक्दो मिलाएर नेपाल जसरी पनि पुग्छौं नै । उनीहरू पनि नेपाल जान असाध्यै रहर गर्छन्। आफ्नाहरू सबैसँग भेटघाट हुने, मिठो नेपाली खानेकुरा खान पाईने । सबैले माया गर्ने ।
म र छोरा त उ स्कुल पढ्दासम्म प्रत्येक दुई बर्षमा उसको पुरै गर्मी विदा भरी नेपाल बसे गरी जान्थ्यौं । हामी काठमाडौं बस्दा गर्ने भनेको नै बिभिन्न मंन्दिर , हनुमान ढोका, बसन्तंपुर , पाटन , भक्तपुर दरबार स्क्यार , नारायणहिटी म्युजियम , बौद्ध ,स्वंयम्भु, चिडियाखाना आदी घुम्न जाने, रेष्टुरेन्टमा खाने र नातेदारहरू भेट्ने नै त हो ।
न्युरोड जाँदा त बिजोग नै देखिन्थ्यो । गाडी गुड्ने बाटो साघुँरो पारेर मज्जाले साईडमा त मोटर साईकल पैसा तिरेर पार्किंग गर्ने ठाउँ पो बनाएका थिए । बिशाल बजार अगाडी, सुरज आर्केट अगाडी देखि ईन्द्रचोक , भोटाहिटी गल्लीगल्लीमा जताततै मोटर साईकल पार्किंग मात्र हुने। यस्तो गार्र्हो पसल पसेर किनमेल गर्न जान । फुटपाथ त्यस्तै ठेलमठेल , ठोक्किएर हैरान हुने, छोरा लिएर हिंडदा हात समात्नु पर्ने हराउलाकी भन्ने डर , व्यागमा पैसा बढी बोकेको बेला त चोर्लान भनेर व्याग बेस्मारी कस्सिएर च्यापेर हिंडनै पर्ने ।
न्युरोड जाँदा त बिजोग नै देखिन्थ्यो । गाडी गुड्ने बाटो साघुँरो पारेर मज्जाले साईडमा त मोटर साईकल पैसा तिरेर पार्किंग गर्ने ठाउँ पो बनाएका थिए ।
एक त साँघुरो फुटपाथ , ठेलमठेल अनि तेसमा पनि हुँदाहुँदा ह्विल चेयरमा बिरामी साथै महिला केटाकेटीहरू र बुढाबुढी बिजोग गरेर माग्न बसेका हुन्थे। बिशाल बजार अगाडीको हटब्रेडको तिरको फुटपाथमा सधैं एक महिला लगभग एक दुई बर्षको बच्चा सुताएर माग्न बसेको प्राय: देख्थें । बच्चा सधैं सुतेको हुने । केही बर्ष अगाडी तेसरी माग्न बस्नेको बारेमा लेखेको एक लेख पढ्दा छक्कै परें । खासमा कुनै संस्थाले महिलाहरूलाई अरूको बच्चालाई सुत्ने औषधी खुवाएर माग्न पठाउँने रहेछन् । यसरी दिनहुँ औषधी खुवाएर राख्दा कति बच्चा त मर्ने पनि रहेछन् ।
भुगोल पार्क अगाडीको फुटपाथमा चाहीं धेरैजसो ह्विलचेयरमा एउटा खुट्टा नभएको युवा केटो माग्ने बस्थ्यो । नजिकबाट हिंडदा ह्वास्स रक्सी र मुत गनाउने । एकदिन त तेसलाई कसैले ट्याक्सीमा ल्याएर तेंहा राखेको पनि देखें । शायद उसलाई पनि माग्न राखेको नै त होला नी।
त्यस्तै साउन महिनामा बिशाल बजारको मूल गेटको फुटपाथमा मेहेंदी लगाउन लहरै मसिना केटाकेटी बस्थे। कतै डोकोमा काफल , बदाम आदी बेच्न बस्ने । माग्ने केटाकेटी त व्यागै खोस्लान जस्तो गर्ने । हनुमान ढोकातिर पानी बेच्नेहरू , बेलुन, खेलौना बेच्ने, टोकरीमा तरकारी बेच्ने आदी हुन्थे ।
लाजमर्दो दृष्य चाहीं काष्ठमण्डप अगाडीतिर रहेका अग्ला मंन्दिरहरूमा युवा युवतीहरू अनेक चर्तिकला गरेर बसेको तल पर बाटै देखिन्थ्यो । मंन्दिर दर्शन गर्न जान पनि मन नलाग्ने । विदेशीहरू त फोटो खिच्न पुग्थे । के अनुभव गर्थे होलान ? त्यस्तै वरीपरीका अन्य मंन्दिर अगाडी सल ,भाँडाकुँडा ,चिया पसलसम्म थापेर मंन्दिर नै ढाकेको हुन्थ्यो ।
तर केही बर्ष देखि त्यो हामीले बाल्यकालमा देखेको जस्तो न्युरोड रहेन । उहिले रहरले न्युरोड जान मन लाग्थ्यो । आजकल सकभर जान नपरे हुने जस्तो लाग्छ । न्युरोड मात्र हैन काठमाडौं नै अस्तव्यस्त , फोहोर जताततै , हिंडने बाटो ठेलमठेल , फुटपाथमा पसलैपसल , गाडी गुड्ने बाटो साँघुरो अनि साईडमा लहरै मोटर साईकल पार्किंग, गाडी धेरै, नदीनाला ढलमा परिणत ,कंक्रिटका गगनचुम्बी घरहरूमात्र जताततै बनेका छन् । म अंतिम पटक दुई बर्ष अगाडी २०७८ साल चैत्रमा काठमाडौं पुग्दासम्म यस्तो नै हालत थियो ।
जुन बेला २०७९ सालको स्थानिय चुनाव भयो । अनि स्वतंन्त्र उम्मेदवार युवा बालेन्द्र शाह उर्फ “बालेन” काठमाडौंको मेयरमा जिते । त्यसबेला देखि लगातर दुई बर्ष भो उनी पुरानो ऐतिहासिक काठमाडौं फर्काउन कम्मर कसेर लागि रहेका छन् ।
ओहो, युट्युबमा भीडियो हेर्दा छक्कै पर्छु । खै नेपाली सबै नै धर्मकर्म त निक्कै गरिनै रहेका हुन्छन् । तर ईमान जमान चाहीं कता गयो खोई आजकल ? खोलानालाको किनाराको जमीन होस वा सरकारी जमीन, बालबालिका पढ्ने सरकारी स्कुलको जमीन वा टुहुरा बालबालिकाको बासस्थान , मंन्दिरको भेटीसम्म लुटेर खान केही बाँकी छोडेको रहेनछन् ।
म चाहीं बालेनको चर्चा धेरै भएर भन्दा पनि उनी आफ्नै जन्मथलो काठमाडौंको मेयर भएको हुनाले उनको फेसबुक फलो गर्छु पनि र काठमाडौंमा के कसो हुँदैछ चासो पनि राख्छु । उनी आफ्नो कार्य र अधिकार क्षेत्र भित्र रहेर , सबैलाई नियम कानुन कडा रूपमा पालन गर्न लगाई रहेको र नगर्नैलाई जरीवाना तिराउने गरेको पाउँछु ।
एकजनाले मात्र गरेर केही हुन्न हैन की एकजनाले गर्न चाहेमा र शुरू गरेमा धेरै परिवर्तन गर्न सकिने रहेछ जस्तो लाग्छ । उनी मेयर भएपछि नेपाल त म पुगेको छैन । तर फोटो , युट्युबमा भएका भीडियोहरू ,समाचारहरू हेर्दा दुई बर्षमा काठमाडौं निक्कै परिवर्तन भईसकेको छ जस्तो लाग्छ । खुशी पनि लाग्छ ।
तर केहीदिन अगाडी न्युरोडको रेलिंग भाँचिएको र बिरूवाहरू हटाएको देखेर चाहीं मन खिन्न भएको छ । झन् मेयर बालेन, नेपालको प्रतिनिघित्व गरेर , नेपालको चिनारी बोकेर ब्राजीलमा अंन्तराष्ट्रिय संम्मेलनमा भाग लिन गएको बेला , मौका छोपे जस्तो गरेर ,जनताले चुनेको बडा नं. २२ को बडाअध्यक्षको निर्देशनमा गरिएको यो कार्यलाई चाहीं गलत , ठुलो बदमाशी र निन्दनिय नै मान्नु पर्छ।
न्युरोड जाने भनेको आजकल बसन्तपुर वरीपरी घुम्नमात्र हो । किनमेल त घर बसीबसी गर्न सकि हालिन्छ नी । अझ घरमा नै बसेर छानी छानी सामान किन्यो , फोनबाटै पैसा तिर्ने , सामान घरमा नै ल्याई दिन्छ ।
युवाहरू हुलमुलमा ,मंहगो पार्किंग तिरेर किनमेल गर्न जान मन गर्दैनन् ? आजकल त आफ्नै टोलमा सपिंग मलहरू प्रशस्त नै छन् । साँच्चै भन्दा न्युरोड जाने भनेको त उही हामी जस्तो पुराना पुस्ता मात्र हुन् ।
अझ पुरानो अवस्थामा नै न्युरोड हुनु पर्छ भन्ने तेंहाका बासिन्दाहरूको रहर र चाहाना नै हो भने बिचार गर्नु । ठेलमठेल , हुलमुलमा ठोक्किएर हिंडनु पर्ने, महिलाहरूलाई जताततै शरीरमा छोएर दुख दिने , जताततै फुटपाथमा माग्ने बस्ने , नाङला पसलेहरू हुने , मंहगो भाडा तिरेर मोटर साईकल पाकिंग गर्नु पर्ने र ट्याक्सी सडक ढाकेर पार्किंगमा राख्ने , पैदल यात्रीलाई असुविधा गराउने र ग्राहकले भनेको ठाउँमा पनि जान नमान्ने आदी झंन्झटको पिरले हामी जस्ता पुराना पुस्ता पनि टाढा टाढाबाट धाएर न्युरोड जान बिस्तारै छोड्छौं। आजकल सबै सुबिधा नै खोज्छन् ।
अन्त्यमा, न्युरोडमा व्यापार साँच्चै बढाउन चाहेको र युवा पुस्तालाई आकर्षण गर्न खोज्ने हो भने नँया, नौलो आकर्षक योजना तथा कार्यक्रम ल्याउनु जरूरी छ । नत्र बाई बाई न्युरोड !
शशी के.सी
लेखिका
प्रतिक्रिया