अनेसास र विमला निरौला

खेमनाथ दाहाल २०८१ असार १२ गते १९:०९ मा प्रकाशित

सन् २००४ को देवकोटा जयन्तीको अवसरमा जर्ज मेसन युनिभर्सिटीमा भएको समस्यापूर्ति कविता प्रतियोगितामा पुरस्कृत भएका दिनदेखि नै म अनेसाससँग आबद्ध भएको अनुभूत गर्न थालेको थिएँ । केही कालपछि होमनाथ सुवेदीज्ययू सँगको भेटघाटमा यसको व्यापकता र महत्व थाहा पाउनासाथ विधिवत सदस्यता ग्रहण गरेँ । वर्तमानमा म ट्रष्टीका रुपमा अनेसाससँग आबद्ध छु र यसका विविध क्रियाकलापलाई त्यस कालदेखि अहिलेसम्म नियालिरहेको पनि छु ।

यो लामो समयको अन्तरालमा कति व्यक्तित्व प्रखर भएर अनेसासमा उदाउनुभयो र क्षणमै विस्मृत बनेर अस्ताउनुभयो भने कतिपयले आफ्नो गन्तव्य (साहित्य साधना र सेवा)को लक्ष्य बनाएर यसलाई जीवनको दिनचर्याको रुपमा स्वीकार गर्नुभयो । यसलाई नियमित बनाउनुभयो र यसको प्रगतिमा दत्तचित्तकासाथ होमिनुभयो । मेरो दृष्टिमा यसरी अनेसासप्रति होमिएर समर्पित केही व्यक्तिमध्ये २००७ देखि आजपर्यन्त एकैनाशले निरन्तरता दिने विमला निरौला डायस्पोरा साहित्य जगतमा एक व्यक्ति मात्र नभएर व्यक्तित्वका रुपमा चिर छवि भएर प्रकट भएको देखेको छु ।

सन् २०१० जनवरीमा पहिलो पटक डिसी अनेसास च्याप्टरमा सदस्यका रुपमा यस संस्थामा प्रवेश गरेकी विमलाले दुई कार्यकाल सदस्य र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारीलाई इमान्दारीसाथ पूरा गर्ने सन्दर्भमा त्यस समयावधिमा अमेरिकामा भएका सम्पूर्ण गतिविधिहरूमा सहभागी भइ आफ्नो दायित्व पूरा गर्न आफू किञ्चित् नचुकेको यथार्थता पनि हामी समक्ष ऐनाझैँ प्रष्ट छ । आफ्नो कार्यकाल (सन्२०११)मा प्राज्ञिक विषयमा अमेरिकाका बालबालिकासम्बन्धी कार्यपत्र तयार पार्नुका साथसाथै तेस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा बाल संयोजकको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गर्नु र डिसीमा हुने गरेको भानु जयन्ती आदि समारोहमा सदस्यको रुपमा सदैव सक्रिय भएर समारोहलाई भव्यतासाथ सम्पन्न गर्नु विमलाका उत्तम कर्मका रुपमा मननयोग्य छन् । डिसी च्याप्टरको महिला कार्यक्रम अन्तर्गत सञ्चालन हुने बालतारा कार्यक्रमको परिकल्पना, संयोजन र प्रस्तुतिसमेत निरौलाकै ऐतिहासिक, कालजयी उपज हुन् । यसका अतिरिक्त बालप्रतिभा प्रदर्शनीको संयोजक, बालतारा पुरस्कारको संयोजक प्रवासी बालसिर्जनाको सम्पादकको अभिभारासमेत कुशलतापूर्वक पूरा गर्ने निरौलालाई बधाईकी पात्र भन्दा अतिशयोक्ति किमार्थ हुने छैन ।

२०२०-२०२२ मा अनेसास केन्द्रीय कार्यसमितिको सचिव पदमा रहेर त्यस पदको मर्यादाअनुसार आफ्नो जिम्मेवारी सन्तोषजनक पूरागरी सन् २०२२-२०२४ को लागि केन्द्रीय महासचिव भएपछि अन्य संघ संस्थासँग अनेसासको समन्वय र सहकार्यमा व्यापकता ल्याई विविध कार्यक्रममार्फत सहभागिता जनाएर अनेसासलाई अझ विश्वव्यापीकरण गर्न पुर्‍याएको योगदान, पाचौँ अनेसास च्याप्टर र अनेसास महिला सम्मेलन सफल पार्न खेलेको महत्वपूर्ण भूमिका र अनेसास आठौँ साहित्य सम्मेलन सम्पन्न गर्न महासचिवका हैसियतमा विमलाद्वारा गरिएका कर्महरू अनेसासका इतिहासमा सदैव स्तुत्य भएर रहेका छन् ।

वर्तमानमा अनेसास चुनावको (२०२४-२०२६) चहल पहलमा रङ्गिएको छ । विश्वभरका नेपाली सर्जकहरूको व्यस्तताका बाबजुद समय भने चुनावका लागि पर्याप्त खर्च भइरहेको छ । यस चुनावको यही अवसरमा आजसम्म हामीले गरेका निर्णयहरूमा विवेचना वा पुनरावलोकन गर्न आवश्यक पनि भएको छ । हाम्रो आजको निर्णय भोलिको अनेसास हो । अनेसास विशुद्ध साहित्यको केन्द्र हो तसर्थ यसको आडमा अन्य आडमा अन्य कुनै क्रियाकलाप हुन नपाओस् भन्ने हामी सबैको हेतु वा चाहना पनि हो । स्रष्टाहरूको मञ्च स्रष्टाकै मञ्च भएर बाँचोस् मेरा आशय यतिमात्र हो ।

अनेसासको इतिहास हेर्दा सन् १९९१ देखि अहिलेसम्ममा अनेसासले १६ औँ पटक आफ्नो नेतृत्व परिवर्तन वा पुनरावृत्ति गरिसकेको छ । बेला बेला यसमा पदासीन व्यक्तित्वका बारेमा मूल्याङ्कन गर्दै जाँदा यदाकदा हाम्रो मन अन्यमनस्कको अवस्थामा पुग्ने गरेको समेत सचेत स्रष्टा बीच बेला बेला विषय बन्ने गरेकै छ । यही अवस्थालाई दृष्टिगत गर्दै यस पटकको चुनावमा सबै पदमा योग्य उम्मेदवारलाई चयन गर्नु आफ्नो परम कर्तव्य भएको छ ।

यस पटक पनि हामीसमक्ष हाम्रो साझा मित्रहरू प्रतिस्पर्धीका रुपमा आउनुभएको छ । सबै विद्वान् विदुषी हुनुहुन्छ तथापि एक जनालाई मात्र चुन्न पाउने विधिको तगारो छ हाम्रो सामु । यस पटकको चुनावमा मैले भने निम्न कारणले अध्यक्षमा विमला निरौलालाई भोट दिने आशयले यो आलेख तयार पारेको छु ।

१) प्रथमतः विमला निरौला एक नारी स्रष्टा हुनुहुन्छ । बाल्यकालदेखि नै साहित्य साधनामा लागेकी विमलाका लगभग १५ कृतिहरू प्रकाशित भएको तथ्याङ्कबाट प्रष्ट हुन्छ । तसर्थ उहाँलाई स्रटा भन्न संकोच ममा रहेन ।

२) सामाजिक सेवा वा कार्यमा पनि विमला अग्रणी भूमिकामा रहेर काम गरेको हामी सबैलाई अनेसाससँगको आबद्धताले प्रष्ट पारेकै छ । यसका अलवा निरौला बालसाहित्य प्रतिष्ठान, कृष्ण साहित्य प्रतिष्ठान, नेपाल बाल साहित्य समाज, अमेरिका सहयोगी समाज, शिक्षा सदन भर्जिनिया अमेरिका, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, नेपाल अमेरिकन सामुदायिक केन्द्र, रेवा अर्गनाइजेशन युयसए, सप्तरङ्गी साहित्य प्रतिष्ठान नेपाल (गण्डकी), गुञ्जन साहित्य नेपाल, महिला गीतकार संघ र बनिता प्रकाशन विराटनगरमा समेत आबद्ध भएर विविध सेवा गरेको हुँदा विमलामा नेतृत्व गर्ने क्षमता र समाज सेवाका भाव देखेर म प्रभावित भएको छु, तसर्थ उहाँले अवसर पाए अनेसासलाई अझ चलायमान बनाउने कुरामा म विश्वस्त छु ।

३) हामी पुरूषहरू नारी स्वतन्त्रता र विभेदका कुरा गर्छौँ, तालपरेका खण्डमा नारी स्वतन्त्रतामा भाषणै ठोक्छै तर हामी जब गार्गी, मैत्रेयी, अपाला, अदिती आदिका अनुयायीका रुपमा हाम्रा दिदीबैनीहरू अगाडि बढेको देख्न थाल्दछौँ तब हाम्रो पुरूसत्वमा चोट लागेको अनुभूत गर्दछौँ । अनेसासमा पनि कतै यस्तै भएको त छैन ? एक पटक सोच्ने बेला आएको छ कि आजसम्म १६ पटकको पदभार ग्रहणमा केवल दुई पटक मात्र महिलाले अनेसासमा अवसर पाएका छन्, यो योग्यताका कारणले हो कि विभेदताका कारणले ! यसको हामीले मूल्याङ्कन अवश्य गर्नुपर्छ ।

अतः यी यावत कुराहरूलाई मूल्याङ्कन गर्दा अनेसास निर्वाचन २०२४-०२६ का लागि उपयुक्त उम्मेद्वार विमला निरौला हुन् । उनको महासचिवको कार्यकालमा देखिएको उच्च सक्रियताबाटै थाहा हुन्छ कि उनको नेतृत्व कार्यकालमा अनेसासले दुई कदम हैन सयौँ कदम फड्को मार्नेछ । एउटी क्षमतावान् चेली अनेसासलाई उचाइमा पुर्‍याउन साहस गरेर चुनावी मैदानमा उत्रेकी छिन् । व्यक्तिगत स्थार्थमा नलागेर संस्थागत स्वार्थमा लागी यी चेलीलाई चुनावी मैदानबाट विजयी गराई अनेसासको नेतृत्व सुम्पँदा अनेसासको सर्वाङ्गीण विकास हुने कुरामा कुनै शंका छैन । २० वर्षसम्म आफ्नो जीवनलाई अनेसासमा समर्पित गरिसकेकी विमला निरौलाले नेतृत्व पाएमा उनमा भएको क्षमताले सार्थकता पाउने छ र अनेसासले एउटा उचाइ लिनेछ ।

।। अस्तु ।।

प्रतिक्रिया