कथा
उ उच्च शिक्षा आर्जन गर्न भनेर राजधानी आएको थियो । गाउँमा उसका बाबुबाजेको राम्रै पहिचान थियो । बाबुबाजेलाई वारिपारीका गाउँसम्म राम्रै नाम सुवासले चिन्ने गर्दथे । अड्डा अदालतबाट मानिसहरू गाउँमा आउँदा उनीहरूकै घर सोध्दै आउँथे । उनीहरुको घरमा साँझमा आउने पाहुनाहरू देवता तुल्य हुन्छन्भ न्ने मान्यता थियो । गाउँमा बिकाश निर्माणका काम हुँदा बुबाहजूरबुबा अग्रपंतीमा हुन्थे । बाटो ,कुलो , स्कुलको भवन निर्माण आदि बनाउँने कुरा हुन्थ्यो । निर्माण कुरा चल्दादेखि निर्माण सम्पन्न हुँदासम्म हजुरबाका पछीपछी जाने गर्दथ्यो ।
स्कुलमा पनि उसको पढाई राम्रो थियो । पढाईसँगै खेलकुद, साहित्यिक कार्यक्रमहरूमा अग्रपंत्तीमा उसको नाम हुने गर्दथ्यो । पढाईमा राम्रो भएको हुनाले गुरूहरूको पनि प्यारो बिधार्थी थियो । साथीहरूसँग पनि उसको राम्रो सम्बन्ध थियो । कतै घुम्न र बनभोज जाँदा उसैले आयोजना गर्दथ्यो । एउटा हुने गर्दथ्यो । उसकै नेतृत्वमा बनभोज सम्पन्न हुन्थ्यो ।
राजधानीको क्याम्पसमा प्रवेश गरेकै दिन एउटा कार्यक्रम रहेछ । क्याम्पस रंगीचंगी बनाएर सजाइएको थियो । क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनले नयाँ बिधार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेछ । नाचगानहरु भए । बिभिन्न व्यक्तीहरूले भाषण गरे । उसलाई पनि नयाँ बिधार्थीका तर्फबाट बोल्न लगाइयो । उसले नयाँ बिधार्थीहरूका तर्फबाट बोल्दा निकै प्रशंशा र तालीहरू पायो । क्यापम्पसको पहिलो दिन मैँ उसका धेरै साथीहरू बने । बिए र एमए पढ्दै गरेका दाजुदिदीहरूले पनि उसको भाषणको तारिफ गरे । उसले क्याम्पसको पढाइका साथमा सामाजिक, बिकृति, विसंगती र बिभेदका बारेमा ज्ञान लियो । यी बिकृतिका बिरुद्धमा सचेत यूवाले अभियान चलाउनु पर्छ । चेतना फैलाउनु पर्दछ र मानिसलाई शिक्षित बनाउनु पर्दछ भन्ने ज्ञान प्राप्त गर्यो । आफ्नो पढाईलाई निरन्तरता दिँदै सामाजिक परिवर्तनमा होमियो । सबै सामाजिक परिवर्तनहरू र सुधारहरू गर्न राजनीतिबाट मात्रै सम्भवछ भन्ने अग्रजहरूको शिक्षा ग्रहण गर्यो । यसरी उसले राजनैतिक पार्टीमा समाहित भएर समाजपरिवर्तनका काम गर्न शुरू गर्यो ।
देशमा भएका आन्दोलन र परिवर्तनहरूमा अग्रपंत्तीमा उभिएर नेतृत्व गर्यो । उ आफ्ना पार्टीका मानिसहरूलाई बिजय गराउँन गाउँ गाउँ पुग्यो । उ पहाडमा जन्मिएर, खेतबारीमै काम गर्दै हुर्किएको थियो । उसलाई गाउँका पिर व्यथाहरू राम्रैसँग थाहा थिए । उसको भाषणलाई गाउँलेहरू मन्त्रमुग्ध भएर सुन्थे । चुनावमा उसको पार्टीले अत्यधिकमतले विजय गर्यो । उसले भोटमागेको पार्टीका मानिसले चुनाव जित्दा आफैँले सन्सार जीते जस्तो अनुभूति भयो । हर्षले रातभर निन्द्रा परेन । अब उसले जनतासँग गरेका बाचाहरू पुरा हुनेछन् । गाउँ गाउँमा मोटरबाटो पुग्ने छ । बिजुली, पानी, मल, बिउबिजन, पुग्ने छ । गाउँमा उब्जाएका बस्तुहरू शहर पूर्याएर बिक्रिहुनेछन् । उधोग धन्दाहरू खुल्ने छन र यूवाहरूले रोजगारी पाउने छन् । हाम्रो जीवनस्तर उठ्नेछ । देश सम्बृद्ध हुनेछ भन्ने कुरामा उ ढुक्क थियो ।
पार्टीले सरकार बनायो । राजनीति गरेर जीवनको उत्तरार्धमा पुगेका अनुभवी नेताले नेतृत्व सम्हाले । जेलनेल भोगेका मान्छेहरू मन्त्री बने । आशा अझ बढ्दै गयो । कसैले सोद्दा पनि अब केही हुन्छ मुलुकमा भन्दै बुझाउँथ्यो । कार्यकर्ताहरूले पदकालागि नेतृत्वलाई दुख दिनु हुँदैन । निष्पक्षसँग मानिसको छनोट हुनु पर्छ । सबैले रोजगारी पाउँदा त हामीले पनि पाई हाल्छौनी भन्दै अरूलाई सम्झाउँथ्यो । उ एउटा बोर्डिङ स्कुलमा शिक्षक बन्यो र पढाउन शुरू गर्यो । यसरी नै पाँच बर्ष वित्यो, दस बर्ष बित्यो देशमा विकाश निर्माण भएनन् । यूवाले रोजगारी पाएनन् । नेताहरूले आफ्नो घेरा भन्दा बाहिरका मानिसलाई देख्न नै छोडे ।
उसले देखेका र देखाएका सपनाहरूमा कुठाराघात भयो । उसले बिरक्तलागेर देश छोड्ने निधो गर्यो र यूरोप प्रवेश गर्यो । यूरोपमा फरक भाषा ,फरक संस्कृति बस्न पाउने आधिकारिकता, कामको खोजी आदिका लागि थुप्रै हण्डरहरू खानु पर्यो । कहिले खेतबारीमा मज्दूर भएर काम गर्यो । कहिले रेष्ट्रुरेण्टमा भाँडा धुनेकाम गर्यो । कहिले पेट्रोलपम्पमा उभिएर तेल बेच्यो । कहिले गार्ड बनेर अरूलाई सुरक्षा दियो । उसको बिज्ञता,र शिक्षाको कुनै मूल्य भएन । नेपालमा उसका बारीमा कामगर्ने खेतालाहरूका अनुहारहरू झलझली उसका आँखामा आए । भोलीफेरि गर्नु पर्ने मेलो सम्झँदै रोएर रात बितायो । आफ्नो गाउँघर सम्झेर रोयो । आमाबुबा र परिवार सम्झेर रोयो । सुन्दर देश सम्झेर रोयो ।
तर पनि उसले हिम्मत हारेन । त्यहाँ रहेका नेपालीहरू खोज्यो । उनीहरूलाई संगठित गर्यो । नेपालीहरूमा देशका लागि केहि गर्नु पर्छ भन्ने भावना भर्यो । नेपालबाट पार्टीका नेता आउँदा खादा र माला लगाएर स्वागत गर्यो । काममा बिदा लिएर एयरपोर्ट लिन गयो । ल्याएर पुरै शहर घुमाईदियो । रेष्टुरेण्टमा लगेर खुवायो । साथीभाइसँग पैसा उठाएर उपहार र नगद खर्च दियो । यी यूवा नेताहरूबाट चैँ अब देशमा केही हुन्छ भन्दै पार्टीको विदेश विभाग बनायो । चुनावमा पैसा पठाएर सहयोग गर्यो । रातभरी सपनामा पनि मेचीमहाकालीमा रेल गुडेको देख्थ्यो । उधोगहरू खुलेको र सबै नेपाली रोजगार भएको देख्यो । सबै नेपाली सम्बृद्ध भएको देख्थ्यो ।
एक दिन फेसबुकमा हेर्दै जाँदा यूवानेताको दूरदर्षी भाषण आउँदै रहेछ । उसले ध्यान पूर्वक नेताको भाषण सुन्यो । नेता भन्दै थिए “यूवालाई खाडीमा मात्र हैन, यूरोप र अमेरिकामा पनि वर्किङ भिसामा पठाउनु पर्छ । उनीहरूले पैसा पठाएर देश सम्बृद्ध हुन्छ । भारतसँग अरबौँ माग्नु पर्छ । चाइनामा गएर हेर ! ,भारतले त यती दियो, भन्ने र अझ धेरै माग्ने”। अर्को समाचार ,औषधी नपाउँदा कर्णालीमा झाडा पखालाले वालबालिका मरेको खबर थियो । त्यस्तै अस्पताल लाँदै गर्दा बच्चा जन्माउन नसकी बाटैमा मृत्यु हुने महिलाको खबर थियो । अर्को समाचारमा प्रधानमन्त्रीले एक क्विण्टल सुनको जलाहारी बनाएको र राष्ट्रपतिले उद्घाटन गरेको खवर थियो । भन्सारबाट आएको सुन पित्तल भएको जादूको समाचार थियो । समाचार आउँदै थियो समाचारमा एउटा नेता गर्वका साथ भन्दै थिए । सत्तरी करोड हान्देको हो । कसका बाबुको के खाएँ । सरकारी रकम हो हाँन्देकै हो भन्दै थिए । अर्का नेता सातहजार लडाकुलाई पैँतिस हजार देखाएर लडाकुको पैसा खाएको हो भन्दै गर्व गर्दै थिए ।
यी समाचारहरू सुने देखि उ कुनै पनि भेला र जमघटहरूमा देखापर्न छोडेको छ । कोरोनाकालमा लगाएको मास्कलाई निरन्तरता दिँदै, मास्क लगाएर हिँड्छ । विकशित देशमा बसेर पनि नेपाललाई डुवाउने पार्टीहरुको कार्यकर्ता भएर बाँचेकोमा आफैँलाई धिक्कार्दै छ । उजस्तै अरुमान्छेहरू देखेर उ अझ लज्जित हुन्छ । जीवननोपयोगी शिक्षा आर्जन गर्न नसकेकोमा ग्लानि छ । परनिर्भर विद्धान हुनु परेकोमा खेद प्रकट गर्दछ । आज यसरी एउटा स्वभिमानी नेपालीको शिर झुकेको छ । अब उ विकशित देशका सफल प्रशासनिक प्रणालीलाई नेपालमा भित्र्याउने अभियानमा जुटेकोछ रे ।
सुरेन उप्रेती, पाँचथर, हाल क्यानडा
प्रतिक्रिया