कविता  – एक्कासी 

इनेप्लिज २०८१ साउन ३ गते ९:५४ मा प्रकाशित

एक्कासी
तिमी हरायौ !
म कराएँ,चिच्याएँ
क्षितिजको प्रतिध्वनीमा
मात्रै मेरो चिच्य्हाटले
मलाई सम्झन्थ्यो ।

साउने मझेरीमा
उन्मद्ध बैंशालुको यात्रा
सेरोफेरोको प्रकृति नै ढुन्मुन्याउँदै
तिमीसहित सोहोरदै बगाएको
मैले पत्तै पाइन् ।

मेरो र उर्लेकी जलपरीको जवानीमा
स्वतन्त्रताको अर्थ र परिभाषाको
मात्रै अन्तर थियोे
जवानीमा उद्धत भएर
उनी गडगडाएर प्रणयमा रुझेको
मैले पत्तै पाइन !

मेरो चिच्च्याहाटमा
तिम्रो साथ हराएको थियो
जलपरीको गडगडाहटमा
तिमी सलवलाउँदै थियौ
म तिमीसँगको विछोडले
अातिएर छटपटाउँदैं
अनुभूति गर्ने कोही थिएन

न तिमीले
हाम्रो सहयात्रा तोड्न खोजेथ्यौ
न जलपरीले
तिम्रो पदमार्ग खोसेकी थिइन्
तर पनि
तिमीले मेरो साथ छोडिदियौ ।
किन ?
म मौन भएर
जवाफको प्रतिक्षा गरिरहेकी छु ।

विछिप्त्त मसँग
हाम्रो पदमार्ग अल्मलिएको थियोे ।
जलपरीलाई
सहारा विहिन बनाउने
खुम्च्याएर,जिस्काउने
अरु होइन
हामी नै थियौं

हाम्रो नियतीसँग
जलपरी होइन
तिमी र म नै
जोडिएका थियौं
होइन र ?
साथ त जलपरीले होइन
तिमीले छोड्यौ

सीता ओझा
२०८१-०४-०३

प्रतिक्रिया