पुष्पलाल : नेकपाको स्थापना र इतिहासको स्मरण

इनेप्लिज २०८१ साउन ८ गते ०:२३ मा प्रकाशित

जहाँनियाँ राणा शासन विरूद्धको क्रान्तिको बाटो र कार्यशैलीका बारेमा बारम्बार गरिएको बहस/पैरवीको कारण पुष्पलालको नेतृत्वमा वि स २००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो । पुष्पलाल संस्थापक महासचिव पुष्पलाल बने । स्थापनाकालका सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य,नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ सहित पाँच सदस्य कमिटी बनेको थियो ।नेपाल कम्युनिस्ट पाटी स्थापना कालका सदस्यहरु स्थापनाअघिदेखि नै जहाँनियाँ राणा शासनको विरूद्ध र प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिएर महत्त्वपूर्ण भुमिका रहि कार्य गर्दै आएका योद्धाहरु मध्येकै व्यक्तित्वहरु थिए ।

कम्युनिस्ट पाटीको स्थापना अगावै राणा विरोधी गतिविधिमा सक्रिय रहेका व्यक्तिहरू रहेर बनेको कम्युनिस्ट पाटीले वि स २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्यो ।तर दिल्लीमा भएको सम्झौतामा कम्युनिस्टहरुको अस्तित्व स्विकारिएन । राणा,राजा र कांग्रेसविचको सम्झौता पनि सम्झौता नभएर अलिखित र मौखिक वार्ता मात्रै थियो । यो नेपालको हितानुकल छैन भन्ने निष्कर्ष नेपाल कम्युनिस्टको मत रह्यो । यहि फरकमतकै कारण नेहेरुको नेपाल भ्रमणको समयमा कम्युनिस्ट पाटीले त्रिभुवन विमानस्थलमा कालो झण्डा देखाएर विरोध प्रदर्शन नै गर्यो ।

वि स २००७ सालको प्रजातन्त्रको प्राप्तिपछि ” जनताले आफ्नो संविधान आफैं बनाउने छन !” भनेर वि स २००७ सालमा राजा त्रिभुवनले बोलेका थिए । सोही अनुसार महेन्द्रले अन्तरिम शासन विधान घोषणा गरे। अन्तरिम शासन विधानमा संविधानसभा मार्फत संविधान बनाउने व्यवस्था गरिएको थियो । तर त्रिभुवनले त्यो लागू गर्न नपाइ राजा त्रिभुवनको निधन भयो । राजा त्रिभुवनको निधनपछि वि स २०११ सालमा युवराज महेन्द्र राजा भए ।

नेपाल कम्युनिस्ट पाटीको पहिलो महाधिवेशन वि स २०१० सालमा भयो । पहिलो महाधिवेशनमा दस्तावेज पुष्पलालको पास भयो तर महासचिव मनमोहन अधिकारीलाई बनाइयो र पुष्पलाललाई नपढेको व्यक्ति भन्ने आरोप लगाईयो । वि स २०१४ सालमा दोस्रो महाधिवेशनमा मनमोहन अधिकारी विरामी परेर चीनमा उपचारको क्रममा रहेको कारण दस्तावेज अरुले नै पाठ गर्ने परिस्थिति बन्यो । प्रस्तुत गरिएको दस्तावेज पनि विवादमा आयो । दस्तावेज विवादित हुँदा हुँदै पनि पुष्पलाललाई दस्तावेजको बारेमा बोल्न दिएन। बोल्न नदिएकै कारण केशरजंग रायमाझीलाई महासचिव बनाइयो ।

वि स २०१५ सालमा संविधानसभा नै नगरि आमचुनावको घोषणा गरियो । आमचुनावमा प्रतिनिधिसभाका लागि सदस्य संख्या १०९ सिट व्यवस्था गरिएको थियो । त्यो निर्वाचनमा काङ्ग्रेसले दुइतिहाइ सिट जितेर सरकार बनायो । कम्युनिस्ट पार्टीले जम्मा चार सिट जितेर राजनीतिमा आफ्नो स्थान कायम गर्न सफल भयो ।

वि स २०१७ सालमा राजा महेन्द्रले शासन व्यवस्थामा नै कु गरे ।दक्षिणपन्थी भड्कावमा परिसकेका केशजंग रायमाझी कम्युनिस्ट पार्टीका महासचिव थिए । केशरजंग रायमाझीले महेन्द्रले गरेको कु पछि कसैलाई नसोधी महेन्द्रको कदमको समर्थन गर्दै राजाको कदमको पक्षमा वक्तव्य निकालिदिए । केशरजंगले यस्तो गरेपछि कम्युनिस्ट पार्टी नेतृत्व विहिन जस्तो भयो र पुष्पलालले संयोजन गर्नुपर्यो । वि स २०१९ सालमा तेस्रो महाधिवेशन विवादको विचमा सम्पन्न भयो नीति पुष्पलालको पास भयो तर,नेतृत्वमा (महासचिव )तुलसीलाललाई बनाइयो ।

नेपालको कम्युनिस्ट पाटी वि स २०२३ सालदेखि वि स २०३० सालसम्म आन्तरिक रुपमा चरम विवादमा गुज्रियो । पाटी पुर्ण निस्कृय र अन्तरविरोधले आक्रान्त भएकै अवस्थामा वि स २०२७/२०२८ सालमा चर्चित झापा (किसान आन्दोलन) विद्रोह भयो । झापा आन्दोलनको प्रभाव देशभर आगोसरी फैलियो र कम्युनिस्ट पार्टीभित्र पुनः एकताको सन्देशको लहर चल्न थाल्यो ।

वि स २०२९ सालदेखि कम्युनिस्ट पार्टीको एकताको क्रम शुरु भयो । परिणामस्वरूप वि स २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र बन्यो ।वि स २०३५ सालमा कोअर्डिनेशन केन्द्रले राष्ट्रिय भेला गरेर नेकपा (माले) गठन गर्यो ।वि स २०४७ सालमा माले–माक्र्सवादी एकता गरेर नेकपा (एमाले) बन्यो ।वि स २०५१ सम्म तुलसीलाल ,वर्मा, मानन्धर, मजदुर किसान, मशाल, एकता केन्द्र समूहबाट विद्रोह गरेर मुल नेतृत्व नेकपा (एमाले)मा समाहित हुने अवस्था बन्यो । पाटी एकताका विपक्षी सदस्यहरुले अस्तित्वको लागि पाटी नै दर्तागरि प्रभावहिन भएर बस्ने अवस्था बन्यो ।

क्यूक्लियस धारको इतिहास: वि स २०२७ सालतिर केन्द्रीय न्युक्लियस बन्यो। त्यसको पहलमा वि स २०३० सालमा चौथो महाधिवेश सम्पन्न भयो । नेकपा (चौम) बन्यो । तर वि स २०४० मा विभाजन भएर नेकपा (चौम लामा) र नेकपा (मोहनविक्रम मशाल) गरि दुई समूह बन्यो । त्यसैगरि वि स २०४७ सालमा रुपलाल, बाबुराम, निर्मल लामा समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो ।वि स २०५१ मा एकता केन्द्र फेरि विभाजन भएर नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) बन्यो ।नेकपा (एकता केन्द्र) निर्मल लामा र मोहन विक्रम समुह पनि एकीकृत रहने अवस्था बनेन ।केहिसमयपछि एकता केन्द्र र मशाल दुई समूह बन्न पुगे ।

त्यसैभित्रको एउटा महत्त्व समूह वि स २०५१ सालमा नेकपा माओवादी समूहको नाममा जनयुद्धका ससस्त्र गतिविधिमा सरिक बन्यो । १० वर्षछि वि स २०६३ मा माओवादी पाटी पनि शान्ति प्रक्रियामा आयो । वि स २०६६ सालमा माओवादी–एकता केन्द्र मिलेर एकीकृत नेकपा (माओवादी) बन्यो । तर लामो समय एकीकृत रहन सकेन । अहिले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ अलग–अलग समुहमा छन् ।

नेकपा एमाले बन्नेक्रममा पनि निकै मेहनत पर्यो ।यो पनि लामो प्रयासले एकीकृत शक्तिको रुपमा निर्माण भएको थियो ।यसरी एकीकृत भएको पार्टी वि स २०५४ सालसम्म पुग्दा राष्ट्रियतासँग जोडिएको महाकाली सन्धीको विषयलाई लिएर फेरि फुट्यो र एमाले र माले समूह बने । नेपाल कम्युनिस्ट पाटी माले र एमाले पाटी वि स ०५४ देखि २०५८ सम्म मात्रै अलग रहे । यो वि स २०५८ मा पुन : जुट्यो । नेकपा माले र एमाले जुटेपछि नेकपा माओवादी र कांग्रेस सहित अन्य साना पाटीको अगुवाइमा गणतान्त्रिक आन्दोलन गर्ने निर्णय भयो । आन्दोलनले राजा फालिए । माओवादीको सरकारसँग शान्ति सम्झौता भयो र दस वर्षे जनयुद्ध रोकियो ।

निर्वाचनमा एमालेसँग सहकार्य गर्न बनेको सहमतिले वि स २०७५ मा एमाले र माओवादी मिल्ने अवस्था बन्यो । निर्वाचनको परिणाम सँगसँगै नेकपा एमाले र नेकपा माओवादी विच एकता भयो र नेकपा बन्यो । पाटीको एकतामा केन्द्रीय नेतृत्वविच त एकता भयो तर पाटीको एकताका आन्तरिक कामहरू सकिएनन । एमाले भित्र रहेको अन्तरविरोधको व्यवस्थापन गर्न नसकेको अवस्थामा माओवादीलाई सबै संगठनमा जोडेर लाने वातावरण ओली नेतृत्वले गर्न सकेन । पाटी एकता संगठनको तल्लो निकायसम्म पुग्न नसकेर रुष्ट माओवादी कार्यकर्ताहरुको व्यापक विरोधका वावजुत प्रचण्ड पाटीको एकताको पक्षमा उभिइरहे । तर एमालेभित्रको एउटा पङ्तिले प्रचण्डको मात्रै होइन माओवादी पाटी र एमालेको एकताको विपक्षमा बोलिरह्यो ।

नेकपा एमालेको पाँचौ महाधिवेशन बाहेक अहिलेसम्म नेपालमा जस विचार र कार्यक्रम उसको पाटीमा नेतृत्व बन्न सकेको नै देखिन्न । पाटीको बाहिरी जीवनमा असर गर्ने सयकडौं कुरा हुँदाहुँदै पनि नेपालमा कम्युनिस्ट पाटी गतिशील हुन नसक्नुको महत्त्वपूर्ण कारण विचार एउटाको नेतृत्व अर्कै बन्ने परिपाटीले पनि हो।

सर्वोच्च अदालतबाट टुक्रिएको नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले र नेकपा माओवादी मात्रै होइन दुई तिहाइ बहुमत प्राप्त संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणासम्म पुग्दा पुनः टुक्रिएर वि स २०७७ मा नेकपा (एमाले) र नेकपा समाजवादी बन्न पुगे। नेकपा माओवादीबाट केही नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाह सहितको नेतृत्व नेकपा एमाले मै रहे ।

एमालेको मात्रै होइन,सानाठूला सबै कम्युनिस्ट पाटीले गर्दै आएका महाधिवेशनहरु प्राय विचार र नेतृत्वमा फरक व्यक्तिको निर्णय गर्ने प्रचलन देखिन्छ । एमालेको सातौं ,आठौं नवौं महाधिवेशनले पनि नीति एउटाको,नेतृत्व अर्कैको बन्ने बनाउने अवस्था बनायो । यहीँ कारण पाटी गतिशील हुन सकेन । निर्वाचनमा बहुमत प्राप्त दलले सरकार बनाउँदा दुई तिहाइको मत पाउँदा पनि सरकारले सामाजिकआर्थिक रुपान्तरण र जनजीविकाको पक्षमा ठिङ्ग उभिएर नयाँदिल्ली कार्यक्रम घोषणा र कार्यनयन गर्न सकेन । संगठन गतिशील नभएपछि सरकारको काम मात्रै होइन,पाटीको आन्तरिक जीवन नै तहसनहस हुन पुग्यो ।

सर्वोच्च अदालतले विभाजित गरिदिँदा दुबै कम्युनिस्ट समूहहरु मौन बसेर विभाजनलाई स्विकारे । दुई तिहाइको सरकार विना कारण मध्यावधि निर्वाचनमा जाने निर्णयले संसदको विघटन र ओलीको निर्णयको व्यापक विरोध भयो । नेकपा (एमाले) भित्र मात्रै होइन सडकमा पनि विरोध भयो । यो अन्तरविरोधपछि नेकपा विभाजित भइ नेकपा एकिकृत समाजवादी बन्न पुग्यो । बहुदलीय प्रतिस्पर्धा स्विकार्दै गणतन्त्रसम्मको यात्रामा सफलता हासिल गरेका शक्तिशाली कम्युनिस्ट पाटीहरुमा रहेको नेतृत्व हत्याउने स्वभाव र दम्भले अरुको क्षमता स्विकार गर्न कठिनाई भयो । कतिपय निरङ्कुश स्वभावको कारण प्राप्त उपलब्धिको रक्षा गर्न नसकेर विस्तारै कम्युनिस्ट पाटीहरु रक्षात्मक अवस्थातिर जाँदै गरेको जस्तो पनि देखिन्छ ।

नेपालको समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दा वि स २००६ सालदेखि ०३१ सम्म नामले जो जो जहाँ,जहाँ जोडिए पनि कम्युनिष्ट पार्टीको नेतृत्व प्रत्यक्ष र परोक्ष रुपमा पुष्पलालले नै गरेको देखिन्छ । त्यो भन्दा पछि पनि मदनकुमार भन्डारी लगायत केही विचारक,वाककलाको प्रभाव र सांगठनिक गतिविधिमा निपुर्णता रहेकाहरुको प्रभावको कारण कम्युनिस्ट पाटीहरु टिकिरहेका हुन कि जस्तो देखिन्छन् ।

कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका सिपी मैनाली,चित्रबहादुर केसी,झलनाथ खनाल,माधवकुमार नेपाल,प्रचण्ड ,बाबुराम, बामदेव गौतम,मोहनचन्द्र अधिकारी,नारायणमान विजुक्षे ,मोहन वैध ,निर्मल लामा जस्ता नेताहरु कम्युनिस्ट विचारकका हिसाबले निकै चर्चामा आए तर सामाजिकआर्थिक र सांस्कृतिक रुपान्तरणका मुद्दालाई खासै संस्थागत गर्न र पछिल्लो समय युवाहरुलाई आकर्षित गराउने अबस्थामा लाग्न सकेनन् । जहाँनियाँ राणा शासनको विरोधको समयमा स्थापना भएर सर्वहाराको पक्षमा वकालत गर्ने पाटीले नै सर्वहारा वर्गका मुद्दा सम्बोधन गर्न गराउन नसकेको जस्तो देखिन पुग्यो । नेपाली कम्युनिस्ट आन्दोलनको बहुदलीय प्रतिस्पर्धात्मक कार्यनीतिले विश्वका कम्युनिस्टहरुलाई माक्र्सवादको प्रयोग गर्ने तौरतरिकामा फेरवद गर्न बाध्य बनायो । यो नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको नयाँ तरङ्ग हो तर सर्वहाराको पक्षमा उभिन नसक्नु,लोकतान्त्रिक कामहर गर्न नसक्नु,पाटीभित्र विचौलिया प्रवृत्ति हावी हुनु,नेतृत्वमा दम्भ र निरङ्कुशता हावी हुनु,नेता र कार्यकर्ताविच वर्ग सृजना हुनु,पाटीभित्रको गुटबन्दीले अर्को पक्षलाई सिद्याउने परिपाटी सुरु हुनु ,अन्तरविरोधको व्यवस्थापन गर्न नसक्नु जस्ता दोषहरु कम्युनिस्टहरुले सच्याउनु पर्ने देखिन्छन् ।

लगभग ७०-७५ वर्षको संघर्षबाट प्राप्त गरेको वाक स्वतन्त्रता,बहुदलीय प्रतिस्पर्धाको  वातावरण र मानवअधिकारको प्राप्तिको त्यो संघर्षको ओज अझै समाल्ने वातावरण बनाउन कम्युनिस्ट पाटीहरु लाग्न सकुन् । । हरेक मतदानको प्रकृयामा कम्युनिस्ट पाटीको पक्षमा लगभग ६२-६५ प्रतिशत जनताले मतदान  गर्छन् । वि स २००६ सालमा जन्मा ६ जनाबाट सुरुवात भएको कम्युनिस्ट पाटी दशौं शाखामा विभाजित हुँदै  ६२ देखि ६५ प्रतिशत  जनतामा पुगेको अवस्था महसुस गर्न सकेका छैनन् । नेपालका कम्युनिस्ट पाटीहरु यसरी मतदान गर्ने जनताको पक्षमा बोल्न सक्ने वातावरण बन्न / बनाउन कहिले लाग्ने ? सोच्ने बेला आएन र ? हरेक वर्ष पुष्पलाललाई सम्झना गर्दा यो विषय पनि सम्झना गरे वातावरण बदलिन्छ कि ! नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर पुष्पलाललाई हार्दिक सम्मान ।

सीता ओझा

प्रतिक्रिया