यात्रा एक अनुभूति अनेक !

इनेप्लिज २०८१ साउन ८ गते १:३८ मा प्रकाशित

मलाई विदेशको एयरपोर्टको ट्रान्जिटमा बसेर आउने/ जाने यात्रीहरूको लर्को नियाल्न अति मन पर्छ । घरमा हुँदा आफ्नो संसार तेती नै हो जस्तो लाग्थ्यो ।काठमाडौं होस्टेल बसें । ओहो संसार अलिक ठुलो लाग्यो । स्कुल सकेर कलेज पढ्न थालें । झन् ठुलो लाग्यो । विवाह भयो । अझै ठुलो लाग्दै गयो । कामको सिलसिलामा घर बाहिर पोखरा बसें । अझै ठुलो भो मेरो संसार ! झन् नेपाल छोडेर विदेश नै लागि सकेपछि त आजकल संसार अति नै ठुलो लाग्छ ।

संसारभर कति थरी मान्छे हुने रहेछन् । कति धेरै कुरा त थाहै छैन जस्तो लाग्छ । एयरपोर्टमा आवत जावत गर्ने कति थरी हुने । एक अर्कासँग न रूप मिल्ने , न भाषा , न लवाई खवाई , न बानी बेहोरा । फेरी ती एयरपोर्टमा देखिने र भेटिने जमात जिन्दगीमा कहिल्यै भेटिंदैनन् । कतिको त माया पनि लाग्छ ।

केहीदिन अगाडी छोराका पुराना खेलौना सरसफाई गर्दा निलो रंगको सानो रोवर्ट खेलौंना भेटें । त्यो खेलौनाले त सन् २००१ मा पहिलो पटक अमेरिका आउँदाको हवाई यात्रा याद दिलायो । हामी तिन जना सपरिवार पहिलो पटक नँया सपना र अनिश्चित भविष्य बोकेर विदेश लाग्दै थियौं ।

आजकल त हवाई यात्रा निक्कै छोटो पनि हुँदैछ । २५-३० बर्ष अगाडी अमेरिकाबाट नेपाल आउन / जान लगभग ४५-५० घण्टा लाग्ने र २ – ४ ठाउँमा ट्रान्जिट १२ घण्टासम्म पनि कुर्नु पर्र्थ्यो । अहिले २४ घण्टा भित्र , एउटा ट्रान्जिटमा ३ घण्टामात्र कुर्दा हुन्छ ।

काठमाडौंबाट बैंकक, बैंककमा १२ घण्टा ट्रान्जिट अनि जापान , जापानमा ६ घण्टा ट्रान्जिट अनि अमेरिकाको सान फ्रान्सिस्कोको १२-१४ घण्टाको उडान, अनि तेंहान४ घण्टा ट्रान्जिट पछि मिनिसोटाको ६ घण्टाको उडान चढेर आफ्नो अंन्तिम गन्तव्य पुगेका थियौं ।

पहिलो ठुलो हवाई जहाजको यात्रा , तिन बर्षको छोरो निक्कै आत्तिएको थियो । उसँगै हामी पनि आत्तिएकै थियौं । तर उ त बच्चा रोयो , हामी के रून सक्थेम र ? जापानबाट प्लेन चडेर आउँदा बाबु सुक्क सुक्क गरेर रोयो । उ रोएको देखेर पल्लो सिटमा बसेका एक जापानिज बुढाबुढी जोडीलाई निक्कै माया लागेछ । आफ्नो भाषामा के के भने र “निलो रोबोर्ट खेलौना “ दिए। अहिले सोच्दा लाग्छ , शायद उनीहरू पनि नातीनातिना भेट्न अमेरिका जाँदै थिए होलान् । जे होस् त्यो खेलौनाले बाबु फकियो । रोएन यात्रा भरी । आजसम्म पनि खेलौना रहेछ । अब जतन गरेर राख्छु “जापानिज बुढाबुढीको मिठो उपहार” संम्झेर !

आजकल चाहीं ती जापानिज हजुरबुबाआमा जस्तै नेपाली हजुरबुबाआमा नेपालबाट विदेश आवत जावत गरेको निक्कै भेट्छु । केही दिन अगाडी नेपालबाट अमेरिका फर्कदाँ ह्विलचेयरमा बसेर आउने नेपाली बुबाआमाको ४-५ समुह देखें ! उँहाहरू कतारसम्म कोही अमेरिका जान , कोही बेलायत र कोही अष्ट्रेलिया जान उड्दै हुनु हुँदो रहेछ । तेस मध्ये पनि पहिलो पटक जान लागेकाहरू अलिक डराएको जस्तो देखें । पटक पटक आउने जाने गर्नेहरू चाहीं पुरै कन्फिडेन्ट !

उँहाहरूलाई हेरीरहँदा , ओहो नेपाल छोड्नेको नँया लर्को थपिएको महशुस भयो ।

कलिला बिधार्थी पढ्न जाने , तेस्तै युवाहरू अवसरको खोजीमा विदेश जानेको लर्को त छँदैछ ।तर यो अर्को लर्को , बुढाबुढी विदेश लाग्ने थपियो ! आजकल धेरै नेपालीका संतान विदेश बसोबास गर्छन् । तिनीहरूका नेपालमा रहेका बाउआमा संतान भेट्न वा संतानले दिलाई दिएको ग्रीनकार्ड , पिआर कार्ड बचाउन “निल्नु की ओकल्नु” विदेश नगई नहुने मजवुरीले गर्दा सकि नसकि ह्विलचेयरमा बसेर जाने गरेको देखिन्छ ।

मलाई विदेशको एयरपोर्टको ट्रान्जिटमा बसेर आउने/ जाने यात्रीहरूको लर्को नियाल्न अति मन पर्छ । घरमा हुँदा आफ्नो संसार तेती नै हो जस्तो लाग्थ्यो ।काठमाडौं होस्टेल बसें । ओहो संसार अलिक ठुलो लाग्यो । स्कुल सकेर कलेज पढ्न थालें । झन् ठुलो लाग्यो ।

अब यसरी आउने/जाने नेपालीहरूको क्रम रोकिनेवाला छैन् । बरू झन् झन् थपिने छ । आजकल “एक घर, एक विदेश नेपालमा “ ! सत्य तेही हो । तेसैलाई स्वीकारेर समय अनुकुल सबैले चल्नु पर्छ ।

अँ साँची यात्रा कै कुरा गर्दा आजकल कतार एयपोर्टको ट्रान्जिट चाहीं रमाईलो र मिनी नेपाल जस्तै महशुस हुन्छ । एयरपोर्टमा सेक्युरीटी चेक गर्ने, रेष्टुरेन्ट, पसलमा काम गर्ने, कार्ट कुदाउने देखि बाथरूम भुईं सफा गर्ने प्रायः महिला, पुरूष नेपाली कर्मचारी नै हुन्छन् । मज्जाले नेपालीमा नै कुरा गर्न सकिन्छ । फेरी मेरो अनुभवमा उँहाहरू असाध्यै सहयोगी पनि लाग्छ । नेपालमा पो नेपाली जात , धर्म , राजनीतिक पार्टी आदी फरक हुनाले एक आपसमा नमिलेर अलग्ग छुट्टिने । विदेश आएपछि त सबै नेपाली एक । कतै, कोही नेपाली देख्दा, भेट्दा पनि आफ्नै मान्छे भेटेको जस्तो लाग्ने। कतार एयरपोर्टमा भेटिने नेपाली कर्मचारी तेस्तै भान हुन्छ । अझ नेपाली यात्री बुढाबुढीहरूलाई उँहाहरूले निक्कै सहयोग गरिरहेको देख्छु ।

एयरपोर्टको कुरा गर्दा , टर्कीको एयरपोर्ट चाहीं मनै पर्दैन । के के नमिलेको जस्तो, मंहगो पनि । ओहो, तेंहा भेटिने युरोपेलीहरू चाहीं निक्कै अग्ला , कस्ता गाउँले पाराका , अंग्रेजी फिटिक्कै नबोल्ने हुन्छन् । दिल्लीको एयरपोर्ट चाहीं जिन्दगीमा कहिल्यै नजानु परोस् जस्तो लाग्छ । नेपालीहरूलाई असाध्यै दुख दिने र मौका पाउँदा हेप्न खोजी हाल्ने । कस्ता दुष्ट स्वभावका ईन्डियनहरू काम गर्ने रहेछन् । तेसै ह्यान्ड व्याग, सुटकेस आदी खोलेर कस्टममा पैसा तिराउन खोज्ने ।

हंङकंङ एयरपोर्ट चाही सार्स भन्ने सास प्रस्वासको महामारी फैलेको बेला पुगेको थिंए । निक्कै डर लागेको थियो अमेरिका जाने प्लेन नै पो चढ्न नदेला की भनेर । त्यस्तै लन्डनको एयरपोर्टमा चाहीं अमेरिकामा सन् २००१ को आतकंकारी हमला पछि कडाई गरेकोबेला पुगेको छु । ओहो, कम्प्युटर आदी सबै चेक गरेका थिए । र सानो हाते पेन ड्राईभ समेत फाल्न लगायो । क्यालिफोर्नियाको डिजनी ल्याण्डमा खिचेको फोटोहरू पनि तेसैमा थियो । मिठा संम्झनाहरू सबै फालिएर नष्ट भयो ।

अँ साँची दुवई एयरपोर्टमा चाहीं सुनका पसलहरू हेरेरै रमाईयो । अहिले सुनको भाउ बढेको देख्दा , किन केही गहना नकिनेको होला त्योबेला, पछुतो जस्तो लाग्छ । डिजाईन मन नपरेपनि कमसेकम सुन किनेको भए , अहिले सुन बेचेर मन परेको डिजाईनको गहना बनाउन त मिल्थ्यो नी ।

अझ रोचक प्रसंग चाहीं मेक्सिकोको क्यानकुन एयरपोर्टमा भएको छ । अमेरिकातिर छिर्ने लाईनमा उभ्भिरहेको थिंए । एकजना महिला कुदेर आईन र स्पेनिस भाषामा केही भनिन् । मैले “आई डोन्ट स्पिक स्पेनिस” भनें । उनले सरी भनेर अंग्रेजीमा “ म त मेक्सिकोको एक सेलिब्रेटी महिला सेफ ( नाम बिर्से) भेटियो भनेर तिमीसँग फोटो खिच्न पो आएको “ भनिन । म त एकछिन दंग ! ओहो म त ठुलै पो रहेछु जस्तो भान भो ।

हवाई यात्रा गर्दा म सधैं झ्यालको सिट रोज्छु । मलाई प्लेनबाट बाहिर बादल माथि उडेको उडेको , निलो खुल्ला आकाशमा देखिने जुन ताराहरू र तल पर समुन्द्र , घर बस्ती खोला आदीका दृष्यहरू हेर्न अत्तिनै मन पर्छ । अझ त्योबेला त प्लेन चलाउने पाईलट संसारकै सबैभन्दा ठुलो मान्छे हो जस्तो लाग्छ । कसरी तेत्रो यात्रु उडाएर एक ठाउँबाट अर्को ठाउँ पुर्र्याई दिने !

अन्त्यमा, कस्तो लाग्यो त मेरो हवाई यात्राका प्रसंगहरू , शायद मेरो जस्तै यँहाहरूको पनि निक्कै रोचक अनुभव होलान है !

शशी के. सी

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया