अर्जुन थापा
रहरले बाध्यताले
परिस्थितिले
देश छाड्नहरुको लहर छ ताती छ
जानेहरु जान्छन जसलाई जहा जाती छ
भन्थे हजुर बा
यहाँ बिहान हुन्न
साँझ हुन्न
न त भालेको डाक हुन्छ नत गोधुली सॉझ हुन्छ
दिनलाई रात बनाउनु पर्छ
रातलाई दिन सम्झी कमाउनु पर्छ
एउटा गयो अर्को आयो
हिजोको होकी अस्तिको वासी
यस्सो ततायो खायो
चलेकै छ जिन्दगी
चलेकै छ जिन्दगी
घरीघरी त यस्तो लाग्छ
किन चाहिएको होला हाम्रा बालाई
पाखो बारी कुलो लाग्ने टारी खेत
दुईचार हल गोरु, गोठभरी वस्तुगरु, खोरभरी बाख्राहरु
आधारातमै कोदालो काधमा हालेर बा
खेत एक चक्कर लगाउनु हुन्थ्यो
कति सुत्छौ हौ घाम डाडामा पुगिसके
भनि झिसमिसेमै उठाउनु हुन्थ्यो
यहाँ त उठाउने पनि छैनन
कराउने पनि छैनन
त्यसैले त मस्त आनन्दमा छु
पाए भने दिनै भरी सुतीदिन्छु
तर आज सम्म जुरेको छैन
ज्योतिषी भेटेको छैन
त्यसैले त्यो सुत्ने दिन कहिले आउछ हेरेको छैन
उता महिना गन्थे यता हप्ता गनिरहेको छु
कहिले अउछस भन्छन आउछु भनिरहेको छु
उनिहरु दिन गनिरहेकाछन म रात कुरीरहेको छु
सुत्न नपाएका रातहरु
उठ्न नपाएका बिहानहरु
कुनै दिन जब
बिहान उठ्छु जहिले नया ठाउमा पाउछु
मैले मेरै ओछ्यान चिन्दीन
वरपर भएको टेवल घडी भित्तो झ्याल ढोका केहि चिन्दीन
किनकी हरेक रात म मेरै गाउमा डुलिरहेको हुदोरैछु
गोठमा कहिले कुवामा पैनीमा खेतका गरामा
डगरमा शितल दिने चौतारोमा डुलिरहेको हुदोरैछु
बाहिर हेरो चकमन्न छ
न त केटाकेटी दौडीरहेका छन
न त कुखुरा चरी रहेका छन
न त बाख्राका पाठापाठी रमाई रहेकाछन
न फुलेकी ठुलीले छोरालाई हकार्दै घर बोलाएरहेकी हुन्छीन
आफुलाई एक्लो पाउछु
मरुभूमिको बिचमा झै
सम्झाउछु आफुलाई ए म त
देशछाडेको मान्छे
अरु भन्दा भिन्न मान्छे
तर किन आफैलाई आफुले छाडीरहेको छु
उहि पदचापमा हिडिरहेको छु
गर्भ छोडे आमाको काख छोडे
गाउ छोडे अहिले त देश छोडिसकेको छु
म त छोड्न कै लागि आएको रैछु
कहिले यो संसार पनि छोड्ने छु
सुर्ता नगर तिमीलाई पनि कसैले छोडेको छ
र त आज उस्का लागि तिमी छोडीरहेका छौ
मन बहलाउछु सम्झाउछु
मन अमिलो पर्दै आफ्नो दिनचर्या नियाल्छु
र हत्तारीन्छु दैनिक छुट्नै लागेको रेलचढ्न
रहरले वाध्यताले हामी छोडी रहेकाछौ
दिनलाई छोडीरहेका छौ रातलाई छोडीरहेका छौ
हिजोलाई छोडीरहेका छौ भोलिलाई पनि छोड्ने छौ
र एक दिन आफैलाई छोड्ने छौ
यो धर्ति आकाश ब्रह्मन्ड सबै छाड्ने छौ
म देश छोडेको मान्छे
सबैले छोडे
सबैलाइ छाडे
तर पनि आफु फर्की फर्की विगत धाईरहेछौ
आफैले आफैलाई सम्झाईरहेछौ
देश छाड्नेहरुमा म
आफैले आफैलाई सम्झाईरहेछौ
प्रतिक्रिया