बाटो

इनेप्लिज २०८१ साउन २१ गते २:४९ मा प्रकाशित

विष्णु शीतल

मेरो लागि बाटो कि बाटोको लागि म

म नभए बाटोमा को हिडिदिन्थ्यो र ?

त्यसैले उसको अस्तित्वको लागि म

हो नि त उसको लागि म

हैन हैन मेरो लागि बाटो हो

बाटो नभइदिएको भए

म आफ्नै घरमा क़ैद हुने थिएँ

मलाई कैद मुक्त गराउने बाटो हो

म भनेको सम्पूर्ण मानव जाति

बाटोको पहिलो निर्माता को हो ?

जसले आफ्ना पछिल्लो पुस्तालाई

बाटो बनाई दियो वा देखाई दियो

बाटोको अर्को नाम मार्ग

सायद ठूलो बाटो राजमार्ग- महाँमार्ग

सानो बाटो गोरेटो वा सहायक मार्ग

हरेक व्यक्तिको यात्रा सानो बाटोबाटै शुरु हुन्छ

क्रमशः उसले राजमार्ग(स्थल मार्ग) जल मार्ग वा हवाई मार्ग तय गर्छ ।

बाटो गतिको माध्यम हो ,

संसारलाई गतिशील बनाउन बाटोको योगदान छ

बाटो नभइदिएको भए यो संसार स्थिर हुन्थ्यो आकाश जस्तै

ज्ञान बाटोको पिता हो जसले बाटोको सिर्जना गर्छ

बाटोमा उज्यालो दिन्छ, फराकिलो बनाउँछ

तगाराहरु भए खोलि दिन्छ र मार्ग प्रसस्त गरिदिन्छ

बाटो नभए गन्तब्य अस्तित्व बिहिन हुन्छ

त्यसैले बाटो र गन्तब्य एक अर्काका पुरक हुन

गन्तब्यमा पुग्न बाटो अपरिहार्य छ ।

म त भन्छु

बाटो ज्ञान हो गति हो गन्तव्य हो ।

प्रतिक्रिया