दुबईमा एक महिनाभित्र २१ वटा नेपाली कार्यक्रमहरु हुने

इनेप्लिज २०८१ साउन २७ गते २०:३५ मा प्रकाशित

–लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । नेपाली रोजगार दाताहरुका लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । नेपालबाट युएई भित्रिनेहरुको संस्या दिनाहुं बढ्दो देखिन्छ । यो देशमा प्रवेश गर्नको निम्ती विभिन्न प्रकारका भिषाहरु उपलब्ध रहेको हुन्छ । तर, नेपालीहरुको सन्दर्भमा काम गर्ने र भ्रमण (भिजिट) भिषा बढिमा प्रयोग भएको अनुमान गर्न सकिन्छ । सरकारी गैरसरकारी ठूलो पदबाट सानो पददेखि घरेलु कामसम्म हरेक ठाउंमा प्रशस्त रुपमा नेपाली कामदारहरु कार्यरत रहेको पाईन्छ । यूरोपमा जानका लागि धेरै खर्चिलोका साथै लामो प्रक्रिया भएकाले खाडी मुलुकहरुमा सानो प्रक्रियासंगै सहज भएका कारण खासगरी युएईमा नेपाली कामदारहरु ह्वाट्टै बढ्न थालेको हो ।

सरकारी कुनै आधिकारिक तथ्याङ्क नभएता पनि जनमानसको अनुमानमा लगभग ६ लाखको हाराहारिमा नेपालीहरु रहेको सुन्न पाईन्छ । पछिल्लो समयमा नेपाली व्यबसाय पनि मौलाएका छन् । हरेक प्रकारका नेपाली सरसमान र गरगहना सजिलैसंग बजारमा किन्न पाईन्छ । युएईमा सात वटा राज्यहरु छन् । अन्य राज्यहरुको तुलनामा सबैभन्दा धेरै नेपालीहरु दुबईमा नै कार्यरत रहेका छन् । आईतबारे सार्वजनिक बिदाका दिन बाहिरको माहौल हेर्ने हो भने नेपाली पोशाकमा सजिएर भेटघाट र बजार अवलोकंनमा व्यस्त हुन्छ । जस्तै लाग्छ हामी बिदेशमा नभएर काठमाण्डौंको थमेल बजारमा घुमिरहेका छौं ।

हामीले युएई भनेपछि सर्वप्रथम दुबई सहरको नाम लिने गर्दछौ । दुबई प्रवेश पश्चात् बरदुबईको चहल पहल कस्ले भुल्छ होला ? किन कि नेपाली बजार भएको गल्ली, नेपाली चोक, भेटघाटको मुख्य केन्द्र बनेको छ । नेपाली चाडपर्वहरु आगमनसंगै बरदुबईको सेरोफेरोमा कार्यक्रमहरुको घुईचो लागेको छ । यहि आउने १७ अगष्टदेखि अर्को महिनाको १५ सेप्टेम्बर २०२४ सम्ममा यानि कि एक महिनाभित्र २१ वटा विभिन्न नेपाली कार्यक्रमहरु सम्पन्न हुने भएको छ । यो सबै कार्यक्रमको बिवरणहरु विभिन्न संघ संस्थाहरुले फेसबुकमा प्रचारप्रसार गर्दै रहदाको तथ्याङ्क अनुसार तयार पारिएको हो ।

कार्यक्रमहरुको रुपरेखा क्रमशः यस प्रकार रहेको छ । आउने १७ अगष्ट शनिबारका दिन साथीभाई ईन्टरटान्टमेण्टको प्रस्तुतिमा “म्यूजिकल नाईट” सम्पन्न हुने भएको छ । त्यसैगरी १८ अगष्ट आईतबारका दिन वालिङ समाज स्याङ्जा युएईको प्रस्तुतिमा “तीज धमाका–२०२४”, नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईको प्रस्तुतिमा “एनआरएनए तीज धमाका–२०२४” र अर्घाखांची सम्पर्क समिति युएईको प्रस्तुतिमा “तीज मिलन दर खाने कार्यक्रम–२०२४” कार्यक्रम हुदैछ भने १९ अगष्ट सोमबारका दिन सम्पतकुमार न्यौपाने र सिल्भर स्पून रेष्टुरेण्टको संयुक्त आयोजनामा “भजन कृर्तन तथा रक्षा बन्धन” कार्यक्रम गरिने भएको छ ।
अगष्ट महिनाको सबैभन्दा धेरै कार्यक्रम २५ अगष्ट आईतबारका दिन परेको छ । जस्मा सैनामैना सेवा समाज युएईको प्रस्तुतिमा “तीज धमाका–२०२४”, नवलपुर सेवा समाज युएईको प्रस्तुतिमा “तीज बिशेष सांस्कृतिक कार्यक्रम–२०८१”, परदेशीको लोक चौतारी युएईको आयोजनामा “तीज बिशेष सांगीतिक कार्यक्रम–२०२४”, हिन्दू जागरण नेपाल शाखा युएईको आयोजनामा “कृष्ण जन्माष्टमी तथा हरितालिका तीज बिशेष” र तनहुं सेवा समाज युएईको प्रस्तुतिमा “तीज बिशेष कार्यक्रम–२०२४” रहेको छ ।

त्यसैगरी १ सेप्टेम्बर आईतबारका दिन स्याङ्जा सहयोग समाज युएईको आयोजनामा “तीज बिशेष सांस्कृतिक कार्यक्रम–२०२४”, कपिलवस्तु समाज सेवा परिषद् युएईको आयोजनामा “तीज बिशेष कार्यक्रम”, चितवन समाज युएईको आयोजनामा “तीज बिशेष कार्यक्रम–२०८१”, कास्की आदर्श समाज युएईको प्रस्तुतिमा “तीज बिशेष सांस्कृतिक एवं श्रष्टा सम्मान कार्यक्रम–२०८१” र नवलपरासी सेवा समाज युएईको आयोजनामा “तीज बिशेष सांस्कृतिक कार्यक्रम–२०२४” रहेका छन् ।

विगतमा जस्तै यसपालि पनि ८ सेप्टेम्बर आईतबारका दिन रुपन्देही सेवा समाज युएईको प्रस्तुतिमा “तीज बिशेष–२०२४”, राष्ट्रिय संगीतकर्मी संघ युएई शाखाको आयोजनामा “तीज धमाका–२०२४”, शितगंगा सम्पर्क समिति युएईको आयोजनामा “दर खाने तथा सांस्कृतिक कार्यक्रम”, सनातन गौं संरक्षण अभियान युएईको आयोजनामा “बिनु सत्संग विवेक न होई” कार्यक्रम र पर्वत सेवा समाज युएईको आयोजनामा “तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम” रहेको छ भने १५ सेप्टेम्बर आईतबारका दिन बिश्वकर्मा समाज नेपाल युएईको प्रस्तुतिमा “बृहत् सांस्कृतिक कार्यक्रम–२०२४” भव्य रुपमा सम्पन्न गरिने भएको छ ।

अन्त्यमाः हामी नेपालीहरु बिश्वको कुनै कुनामा रहेता पनि आ–आफ्नो पारम्पारिक रितीरिवाज, चाडपर्व र मौलिक भेष भूसालाई जर्गेना गरेको पाईन्छ । घर परिवारका साथ चाडपर्व मनाउन नपाएता पनि बिदेशको भूमि मै एकआपसमा मिलेर सुख र दुःख सातासात गरेको प्रत्यक्ष देखिन्छ । खासगरी महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जांदा दिदीबहिनीहरुलाई रातो साडी र छड्के तिलहरीमा छमछम्ती नचाई दर खाने कार्यक्रमले माईतीको झल्को मिताएको आभास गर्न सकिन्छ । यि सबै संकलन गरिएका कार्यक्रमहरुको बिवरण सामाजिक संजाल र जानकारी भएका समेटेर प्रस्तुत गरिएको छ । अन्य कार्यक्रमहरु आयोजनामा रहेता पनि सामाजिक संजालमा प्रचारप्रसारमा या जानकारी नभएकाले समेटिएको छैन् । यसप्रति अन्यथा नलिनु होला । सम्पूर्ण कार्यक्रमहरुलाई सफलताको अग्रिम शुभकामना ।

प्रतिक्रिया