धरानमा “मौलशोभा आमा सम्मान”को स्थापना 

इनेप्लिज २०८१ साउन ३२ गते १:५९ मा प्रकाशित

धरानको होटल पुर्वी स्टारमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा “मौलशोभा आमा सम्मान” को स्थापना गरिएको घोषणा गरियो। 

यो सम्मान प्रत्येक वर्ष समाजसेवी, साहित्यकार, र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको आमालाई प्रदान गरिनेछ। यस वर्षको सम्मान समाजसेवी तथा साहित्यकार , गीतकार दीपा राई पुनकी आमा, विमला राईलाई प्रदान गरिने निर्णय गरिएको छ। सम्मान समारोह स्रष्टा दीपा राई पुनको जन्म दिन आगामी कात्तिक २९, २०८१ पारेर गरिने भएको छ। 

यस सम्मानको राशी रु. ५०,०००/- (पचास हजार रुपैयाँ) र ताम्रपत्रसमेत रहनेछ। अनलाइन अभिलेख प्रा.लि.का संस्थापक डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईको नाममा यो सम्मान स्थापना गरेका छन्। यो सम्मान विशेष रूपमा भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, र राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूका आमाहरूलाई दिइनेछ।

 पुरस्कारको घोषणा गर्दा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको निर्णायक समितिले विमला राईको नाम सिफारिस गरेको थियो। निर्णायक समितिमा डा. सुकराज राई, सिद्धराज राई, विमला तुम्खेवा, र कमल ज्ञवाली रहेका छन्। 

डा. पुरण राईले आफ्नो जन्मदिनको अवसरमा यो सम्मान घोषणा गरेका थिए। उनले भने, “स्रष्टा र साहित्यकारले सामान्यतया पुरस्कार र सम्मान प्राप्त गर्न सक्छन्, तर उहाँहरूको आमालाई सम्मानित गर्नु विशेष कुरा हो। यसले आमाको समर्पण र योगदानलाई पनि उत्साह दिन्छ।” 

 विमला राई समाजसेवी र साहित्यकार गीतकार दीपा राई पुनकी आमा हुनुहुन्छ। दीपा राई पुनले नेपाली साहित्यमा ठूलो योगदान पुर्याएकी छिन् । उनकी आमालाई यो सम्मान प्रदान गर्दा उनको योगदानलाई अझ विशेष मानिएको छ। सम्मान समारोहमा विमला राईलाई नगद ५०,०००/- र ताम्रपत्रसहित सम्मान गरिनेछ। 

उक्त कार्यक्रममा, साहित्यकार र सञ्चारकर्मी किवाङ्गहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राई लगायतका व्यक्तिहरूको उपस्थिति थियो। डा. राईले साहित्य, कला, र समाजसेवामा उत्कृष्ट कार्य गरेका छन् र उनले आफ्नो आमा मौलशोभा राईको नाममा यो सम्मान स्थापना गरेर साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका छन्। 

यस विशेष समारोहले नेपाली समाजमा आमाको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै, प्रत्येक वर्ष महत्वपूर्ण व्यक्तित्वहरूको आमालाई सम्मानित गर्ने निर्णयले साहित्यिक समुदायमा एक नयाँ परम्परा शुरु गरेको छ।

प्रतिक्रिया