“जनै” यज्ञको भेषभुषा दानवी शक्तिबाट रक्षित हुनका लागि रक्षाबन्धन 

अनिलभक्त खरेल २०८१ भदौ २ गते १४:१२ मा प्रकाशित

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरि जोगाएका तथा वामन आवतार विष्णुले राजा बलिलाई डोरो बाँधि वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तिसंग पनि रक्षा बन्धनको सम्बन्ध जोडिएको छ । जसरी अत्यन्त बलशाली दानवराज बली बाँधिए त्यसैगरि म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोउ भनी गुरु वृहस्पतिले रक्षा विधानको डोरो बाँधेर देवगणलाई जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । दानवी शक्तिबाट रक्षित हुनका लागि रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । यसैकारण रक्षा बन्धनमा गर्ने बेलामाः

“येन बद्धो बलिराजा दानेवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल” ।।

भनी रक्षासुत्र रक्षाबन्धन अथवा विधानले तयार पारिएको डोरो बाध्ने वैदिक परम्परा रहि आएको छ । रक्षा बन्धनमा हातमा बाँधिएको डोराको धागो गाई तिहाराका दिन गाईलाई माला उनेर लगाई दिने वा गाईको पुच्छरमा बेरिदिने पनि चलन छ । यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।

श्रावण शुक्ल पुर्णिमाको दिन मनाइने रक्षा बन्धन, जनै पुर्णिमा पर्व यो बर्ष अक्टोबर १९ तारिख सोमबार परेको छ । अघिल्ला वर्षहरुमा नेपाल र विदेशमा बस्नेहरुले अलग अलग दिनमा यो पर्व मनाए पनि यो वर्ष नेपाल र विदेशमा सोमबारकै दिन मनाईउँदै छन् । अरु चाडवाडले पनि यसैगरि निरन्तरता पाओस् ।

जनैपुर्णिमाका दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीका दिन कपाल मुण्डन गरि एकछाक मात्र खाएर चोखो नीति गरि बसिन्छ । यसरी ब्रत बसेका तागाधारीले पुर्णिमाका दिन बिहानै स्नान गरि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी, वशिष्ठ र अगस्त्य गरि आठ ऋषिको पुजा एवं तर्पण गर्ने भएकोले आजको दिनलाई ऋषितर्पणि पनि भनिन्छ । यो दिन ब्रम्हचर्य, गृहस्थ र वानप्रस्थ आश्रममा रहनेले जनै लगाउँछन् भने सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन ।

जनै (यज्ञोपवित) आर्य संस्कृतिको चिन्ह हो । यो विद्याको चिन्ह र यज्ञको भेषभुषा हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रम्हासुत्र अर्थात् ज्ञानको धागो समेत भनिन्छ । ब्रम्हसुत्र अर्थात् वेदाक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरुमध्ये एउटा जनैका शिखामा रहेका ती डोरलाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासन र ज्ञानका प्रतिकहरुको योग मानिन्छ । त्यसैले विशेषगरि ६ डोराको जनै धारण गरिन्छ ।

जनै पुर्णिमाका दिन नेपालमा गोसाईकुण्ड, मुक्तिनाथ, पाँचपोखरी, जनकपुरधाम, गंगासागर, धनुषसागर, त्रिवेणीधाम, पशुपतिनाथका अलावा शिवका मन्दिरमा ब्रतालु एवं भक्तजनहरुको मेला लाग्ने गरेको छ । उपत्यकामा कुम्भेश्वर मेला लाग्छ ।

ब्रम्हसुत्र अर्थात् वेदाक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ ।

त्यसो त आजकै दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई कलात्मक राखी बाँधेर आप्mनो रक्षाको बचन लिने चलन पनि चलिआएको । दिदी बहिनीहरुले कलात्मक राखिको बन्धन गरेर आप्mना दाजुभाईलाई मीठा मीठा खानेकुरा र उपहार दिन्छन् भने दाजुभाईले पनि दिदी बहिनहिरुलाई आफुले सकेको उपहार दिएर जस्तोसुकै अवस्थामा पनि दिदीबहिनीको रक्षा गर्ने बाचा गर्छन् । यसबाट दिदी बहिनी र दाजुभाईका बिचमा आपसी माया बढ्छ भन्ने सामाजिक मान्यता रहिआएको छ ।

त्यसैगरी जनै पुर्णिमाका दिन ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाएको क्वाँटी खाईन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने, असार साउनमा खेत रोप्दा लागेको चिसो निकाली तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेदिक मान्यता चलिखाएको छ ।

सबैमा जनैपुर्णिमा, रक्षाबन्धन, क्वाँटीपर्व, राखी पर्व, कुम्भजात्राको शुभकामना । अस्तु

अमेरिका भर्जिनिया

प्रतिक्रिया