म भर्जिनिया बस्छु । यतिखेर साँच्चै भन्नु पर्दा हामीलाई शोक परेको छ । आफ्नै ठाउँमा बस्ने पढेलेखेकी होनहार नर्स बहिनीको हत्या भएको छ । उनकी एक बर्षकी सानी छोरी टुहुरी भएकी छन् ।
तीजले सबैतिर सबैलाई छपक्कै छोपेको छ । तर भर्जिनियामा यसपाली हामीलाई तीज लागेको छैन् । केही दिदी बहिनीहरू सानो ग्रुपमा आआफै मिलेर मनाई रहनु भएको छ । मनाउनुस , त्यो गर्न जरूरी पनि छ । जे नहुनु पर्थ्यो , भई त गयो । सबै सधैं शोकमा डुबेर पनि हुन्न् । कोहीले त मन दरो पार्नै पर्छ , नत्र अमेरिकामा जिन्दगी कसरी चल्छ । जाने गई हालिन , बाँच्नेले त बाँच्नै पर्यो ।
तर एउटा कुरामा चाहीं गर्व गर्नै पर्छ । ममता काफ्लेको केस “मिसिगं पर्सन केस” हुन पाएन् र उनको हत्या गर्ने हत्यारा श्रीमानलाई जेलमा कोच्न पाईयो । यति गर्न भर्जिनियाको नेपाली समाज लगायत उनको विदेशी साथीहरूले उनी बेपत्ता भएको पहिलो दिनदेखि दिनरात नभनि अमेरिकन सरकारलाई खोजी दिनु भनेर ठाउँठाउँमा प्रर्दशनी नगरेको भए संम्भब हुन्न थियो । साथै अझै उनको मृत शरीर फेला नपरेको हुनाले लडाईं त जारी नै छ ।
यत्रो घटना भयो । उनी गईन तर उनले जाँदाजाँदै तीजको मुखमा हामी दिदी बहिनीहरूलाई निक्कै ठुलो पाठहरू सिकाएर गएकी छिन् ।
सबैभन्दा पहिलो पाठ कुनै किसिमको घरायसी हिंसा सहँदै नसहनु । संम्बन्धमा दरार आई नै सकेपछि आवश्यक पर्दा संम्बन्ध तोड्ने आँट गर्न सक्नुपर्छ । उनी चरम घरायसी हिंसाको शिकार भएकी रहिछन् । त्यो अपराधी र त्यसको परिवारको अन्याय सही रहिन । बारम्बार शारीरिक साथै मानसिक यातना दिंदा सहनु नै उनको मृत्युको कारण भईदियो ।
उनले भोगेको हिंसा र यातनाका कुरा अहिले सोसल मिडिया भरी छरपस्ट छ । ओहो, उनी त त्यो घरमा एक मिनेट पनि बस्नै हुन्न थियो । सहयोग पनि मागेकी रहिछन् । साथीहरूले केही सहयोग पनि दिएकै रहेछन् । धेरै कुरा नेपालमा रहेका उनका माईती पक्षलाई पनि थाहा त रहेछ तर यति गंम्भिर होला सोच्नै सकेनन् । उनले पनि संम्बन्ध तोड्ने आँट गर्न सकिनन् , सुध्रेला र सुधार्छु भन्नेतिर लागिछन् । अहिले यो गरेनन् , उ गरेनन् भनेर दोष अरूलाई दिनु बेकार हो ।
दोस्रो पाठ आफुलाई माया गर । उनले घर परिवारको ईज्जत बचाई राख्न आफुलाई माया गर्न बिर्सिन ।हामी सबै प्लेन चढेरै अमेरिका आएका हौं । प्लेन उड्नु अगाडी एयर होस्टेसले सुरक्षा संम्बन्धि ब्रिफिगं गर्दा , प्लेनमा आपतकालिन अवस्था भएमा अक्सिजन मास्क खस्छ । अक्सिजन मास्क पहिले आफु लगाउ अनि मात्र अरूलाई लगाउन मद्दत गर भन्छ हैन त ? त्यो भन्नुको कारण पहिले आफुलाई माया गर वा आफु सुरक्षित बन्नु हो ।
तेस्रो पाठ संतानको माया भनेर हत्ते नगर । हो आमाहरूलाई आफ्नो संतान अत्यन्त प्यारो लाग्छ । तर आफु पहिला सुरक्षित बन्नु पर्र्यो नी संतान सुरक्षित राख्न हैन र ? अमेरिकामा कानुन कडा र राम्रो छ । बच्चाबच्चीको हकमा त झनै कठोर कानुन छ । अमेरिकन सरकारले घरायसी हिंसामा परेका महिला तथा बालबालिकालाई बिजोग हुन दिंदैनन् । सहयोग माग्न चाहीं जानै पर्छ ।
अंन्तिम पाठ समाजले के भन्ला भन्ने बिचार मनबाट हटाई हाल्नु पर्छ । समाज को हो र तँपाईको मुल्यांकन गर्ने ? हो अरूलाई ठग्नु हुन्न, कुनै किसिमको गलत कार्य गर्न हुन्न । तेस बाहेक त आफ्नो जे गर्नु पर्ने आफै नगरी हुन्न । समाजले तपाईंको घरको चुलो बाल्दिंदैन् ।
सबैभन्दा पहिलो पाठ कुनै किसिमको घरायसी हिंसा सहँदै नसहनु । संम्बन्धमा दरार आई नै सकेपछि आवश्यक पर्दा संम्बन्ध तोड्ने आँट गर्न सक्नुपर्छ । उनी चरम घरायसी हिंसाको शिकार भएकी रहिछन् । त्यो अपराधी र त्यसको परिवारको अन्याय सही रहिन । बारम्बार शारीरिक साथै मानसिक यातना दिंदा सहनु नै उनको मृत्युको कारण भईदियो ।
कस्ले भन्छ आजकल पनि “छोरीको जन्म हारेको कर्म ?” अझ नेपाली समाजमा चाहीं यस्तै हो सबै सहेर बस छोरी भन्छन् रे ? उहिलेका कुरा खुईले । होला अघिल्ला पुस्ता र हाम्रो पुस्तासम्म पनि तेस्तो भन्ने चलन थियो होला । अमेरिका बस्नु छ अनि तेही पुरानै मानसिकता नँया पुस्तालाई पनि सिकाई रहेका छौं भने त्यो भन्न तुरून्तै वन्द गर । विवाह नै नगरी कैयौं बर्ष लिभिंग टुगेदर बसेरमात्र विवाह गर्नुलाई पनि सामान्य मान्ने , अनि दिनरात घरेलु हिंसा हुँदा चाहीं सहेरै बस भन्ने त ?
नेपाली समाज (अझ विदेशतिर) आजकल निक्कै परिवर्तन भई सक्यो । कुनैबेला छोरीको विवाहमा रूने बुबाहरू , आजकल पार्टीमा छमछमी छोरीसंगै नाच्छन् । दोस्रो विवाह , बिधुवा विवाह , अंन्तर जातिय , अंन्तर देशिय विवाह सामान्य भई सक्यो । धुमधामले विवाह गर्ने चलन छ ।
अमेरिकामा बसाई छ । चाहे तीस चालिस बर्ष पहिले आएका हुन वा भर्खर आएका नै किन नहुन सबैको शुरूआत शुन्यबाटै भएको हो । नेपालमा म यो थिंए , त्यो थिंए भन्नु नै बेकार । यँहा सबै नेपाली बराबर । बरू त्यो पुरानो नेपाली रूढिवादी मानसिकता बेलैमा त्याग्दा नै ठिक ।
नेपालबाट टाढाको बसाई, बेलाबेलामा नेपाली साथीभाई भेटघाट र रमाईलो गर्नै पर्छ ।नत्र त नेपालको “होम सिक” भई हालिन्छ नी । तर भेटेको बेला किन सधैं लगाउने, खाने , सुनका गहना , मंहगा व्याग , ठुलो घर , गाडीको बयान, युरोप भ्याकेसनका कुरा र वाईनका गिलास ठोकेर चियर्स मात्र कति गर्ने ? सबै कमाउने छौं । जाबो तेस्ता कुरा मन लागे र रहर लाग्दा किन्न र गर्न नसकिने पनि हैन।
बरू भेटेको बेला आफुले नजानेको अमेरिकाको कानुनका कुरा , यँहाको कल्चर , जीवन बिमा , स्वास्थ्य संम्बन्धी नजानेका कुरा , केटाकेटीको पढाई ,लेखाई र हुर्काइ आदी एक आपसबाट सिकौं ।
अमेरिका र नेपालको संम्पत्ति संम्बन्धी कानुनमा निक्कै नै भिन्नता छ । नेपालमा बाउआमाको संम्पत्ति सिधै छोराहरूलाई भाग लाग्छ । यँहा हुन्न ।अमेरिकामा त will or trust आदी बनाएर तेसमा जसलाई दिने उसको नाम राख्नु पर्छ ।
“ जीवन बिमा “ किनेको छ भनेर कसैलाई सोध्यो भने किन चाहियो त्यो भन्छन् । घर, गाडीको लोन होला । सबैको हुन्छ नै । नपरोस् कसैलाई तर घरमुली कडा बिरामी वा मृत्यु भएमा त्यो सबै आर्थिक भार कस्ले धान्ने ? सोच्नु भएको छ ? अनि “गो फन्ड मी” मा पैसा सहयोग माग्ने त ? होला जीवन बिमा बेच्ने नेपाली एजेन्टले राम्रोसँग नबुझाई गलत बीमा बेचेर नेपालीलाई ठगे पनि । तर किन तिनीहरूसँगै किन्नु त । हातहातमा फोन छ । पढेलेखेको सबै छौं । गुगल सर्च गरेर बजारमा पाउने, आफ्नो परिवारलाई सुहाउने , सस्तो खालको जीवन बिमा खोजेर किन्नुस् । स्वास्थ बिमा, घर बिमा , गाडी बिमा जस्तै जीवन बिमा त झन् महत्वपूर्ण पो रहेछ ।
कतिले त बेकार पैसा खेर किन फाल्नु पनि भन्छन् । प्रत्येक हप्ता हुने नेपाली कार्यक्रम , तालनबेतालका नेपाली सिनेमाहरू २५ देखि १६५ डलरसम्म तिरेर हेर्न जान चाहीं पैसा खेर नजाने । तपाईंको लागि कुन महत्वपूर्ण त ? अझ तीजमा सबैले एकै रंगका सारी किनेर लगाउँदा पैसा खेर गयो की बच्यो त ? अरूबेला कहिले लगाउने ती सारी ?
त्यस्तै कुनै न कुनै सोसल मिडिया हामी सबै चलाउँछौं । तेसको सदुपयोग गरौं । कति लाएको, खाएको, नाचेको, रमाएको , घुमेको , मंन्दिर गएको , राम्रो भएर पार्टीमा गएको मात्र फोटो र भीडियो राख्ने । पुगेन र अब त ! बरू आफुले जाने, सुनेको , नँया नौलो सामग्री पनि शेयर गरौं । कसैलाई त काम लाग्ला । कसैले तपाईंलाई “ तपाईं त सोसल मिडियामा निक्कै एक्टिभ हुनुहुन्छ “ भन्लान , कसरी थाहा भयो ? उ पनि त एक्टिभ नै हुनु पर्र्यो हैन र तेसो भन्न ?
अझ आफ्नो मौलिक धर्म संम्बन्धी कुरा कसरी नँया पुस्तालाई बुझाउने त्यो बिषयमा छलफल गर्न अत्यन्त जरूरी छ । पहिले यसरी नै पूजा, ब्रत गर्थे , तिमी पनि तेही गर भन्यो भने अमेरिकामा जन्मे, हुर्केका नँया पुस्ताले हाम्रा कुरा सुन्नुको सट्टा झन् झन् आफ्नो घर्म , संस्कृतीबाट टाढा भाग्नेछन् । जति नै हाम्रो पुस्ताले जताततै नेपाली मंन्दिर बनाए पनि उनीहरू आउनेवाला छैनन् ।
अत्यमा , see something say something and do something! That’s it ! घरायसी हिंसाबाट आफु पनि बचौं र अरूलाई पनि बचाऔं ! तीजको शुभकामना !
( यो लेख मलाई मनमा लागेको र भर्जिनियामा नै बस्ने एक चेली तीजको मुखमा मारिएको पिडा सोचेर लेखेको हुँ । अस्ति अगष्ट २४ तारीख बिहान नेपाली समुदायले मनाससको सिग्नल हिल पार्कमा “ममता काफ्ले प्रति श्रद्धा र ऐक्यवद्धता जनाउदै शान्तीपूर्ण तथा प्रार्थना भेला “ गरेको थियो । तेंहा बहुसंख्यक नेपाली समुदायका लगाएत विदेशी गरेर लगभग ६-७ सय जति भेला भएका थिए । नेपालीहरू अमेरिकामा रमाईलो गर्न त निक्कै भेला हुन्छन् । तर दुखको घडीमा यसरी भेला भएको पहिलो पटक होला ।भविष्यमा यस्तो किसिमको दुखत भेलामा फेरी कहिल्यै सामेल हुनु नपरोस् । सबैका आआफ्ना पारीवारिक समस्या र बाध्यता हुन्छन् । तर एकआपसमा जसरी हुन्छ मिलाउनुस ।)
शशी के.सी
लेखिका
प्रतिक्रिया