“तिब :द सपोर्ट” अमेरिकामा प्रदर्सन हुने

इनेप्लिज २०८१ भदौ २९ गते १०:२९ मा प्रकाशित

वाइल्ड बुल्स प्रोडक्सन द्वारा निर्मित नेपाल भाषाको चलचित्र “तिब : द सपोर्ट ” को प्रदर्शन अमेरिकामा हुने भएको छ। यही सेप्तेम्बर १४ तारिख, शनिबार, २ :०० बजे मेरील्याण्ड राज्यको रकभिल सहरमा यो चलचित्रको सार्वजनिक प्रदर्शन हुँदैछ।

सरजु रञ्जित र समिता रञ्जित श्रेष्ठको निर्माण, ओमशंकर श्रेष्ठको कथा/पटकथा र रवि सायमीको निर्देशनमा बनेको यो चलचित्रमा, नेपाली समाजले भोग्नुपरेका समसामयिक समस्याहरूलाई समेटेका छन् । विशेषगत आफ्नो परिवारलाई पछाडी छोडेर विदेश जानु पर्ने युवाहरूको भावनात्मक र सामाजिक प्रभावलाई यो कथामा एकदमै भावुक तरिकाबाट प्रस्तुत गरिएको छ।

निर्माता सरजु रञ्जितले नेपाल भाषा चलचित्रको बजार सानो भएता पनि, यो चलचित्रमा, सबै कलाकार तथा टिमको एकदमै ठुलो मेहेनत लागेकोले चलचित्र सफल हुने विश्वास ब्यक्त गर्नुभयो। सो चलचित्र नेपालमा अझै पनि सफलताका साथ प्रदर्शन भइरहेको छ।

यस चलचित्रका गीतहरुमा ओमशंकर श्रेष्ठ, संघरत्न शाक्य र राजेन्द्र महर्जनको शब्द रहेको छ भने, शिव शाही र भूपेन्द्र बज्राचार्यले संगीत भर्नु भएको छ । नेपालको निर्माण समूह तर्फबाट सुशील राजोपाध्याय, सरस्वती मानन्धर, कृष्णभक्त महर्जन, सुनिता श्रेष्ठ, आशाकाजी ठकु, संघरत्न शाक्य, गौतमदास मानन्धर, सृष्टि महर्जन, मनोज महर्जन लगायतका कलाकारहरुको दमदार अभिनय हेर्न सक्नु हुनेछ। त्यसमाथी अमर चित्रकारको छायाँकनले चलचित्रलाई अझ जिवन्त बनाएको छ ।

नेपालका साथै यस चलचित्रको महत्वपूर्ण अंशहरु, अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि छायांकन गरिएको थियो। द हिमालयन भाइब्स (THV) ले जिम श्रेष्ठको निर्माण संयोजकत्वमा यूएस प्रोडक्सन र प्रदर्शनको सबै जिम्मा लिएको छ। यूएस प्रोडक्सन समुह अन्तर्गत रोशनलाल श्रेष्ठको निर्देशन, छायाँकन र सम्पादन रहेको यस चलचित्रमा रवि शाक्य, दिवाकर धौभडेल, मिला श्रेष्ठ, लाली महर्जन, जयम्बु रञ्जित, मार्केण्डेय प्रधान र सीता श्रेष्ठको अभिनय रहेको छ भने शृंगार मिली अमात्यले गर्नु भएको छ।

यस चलचित्रको निर्माणमा सहयोगका निम्ति Nepal Education and Cultural Center, नेवा अर्गनाइजेसन अफ अमेरिका, राजेश लाल श्रेष्ठ, सुनिता श्रेष्ठ, सुमन शाक्य, रेजिना मालाकार र रुजेन श्रेष्ठलाई THV विशेष धन्यबाद दिन चाहन्छ।

अनेकौ स्टेज नाटक, लघु चलचित्र तथा अनलाइन कार्यक्रमहरू निर्माण तथा प्रदर्शन गरिसकेका द हिमालयन भाइब्स समूहले, यो चलचित्र अमेरिकाको अन्य राज्य तथा सहरहरुमा पनि स्थानीय संस्थाहरु संग समन्वय गरि प्रदर्सन गर्ने भाब ब्यक्त गरेका छन।

प्रतिक्रिया